नक्कली भुटानी शरणार्थी प्रकरण लहरो तान्दा पहरो खस्ने अवस्थामा पुगेको छ । यो प्रकरणमा एकपछि अर्को हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परिरहेका छन् । पछल्लो पट अनुसन्धानको सिलसिलामा भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
यसअघि नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित अन्य १२ जना पक्राउ परेका थिए ।
बालकृष्ण खाँड प्रहरी हिरासतमा छन् । अन्य पनि हिरासतमा छन् ।
रायमाझीलाई लाई थप तीन दिन हिरासतमा राख्न अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको छ। उनी आइतबार पक्राउ परेका थिए ।
उक्त प्रकरणमा नाम मुछिएका र अहिलेसम्म पक्राउ परेकामध्ये रायमाझी सबैभन्दा वरिष्ठ पदाधिकारी हुन्। आफूविरुद्ध पक्राउपुर्जी जारी भएपछि रायमाझी ११ दिन सम्म फरार थिए।
उनलाई काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटमा एउटा घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर टेकुले रायमाझीलाई पक्राउ परेको जानकारी सोमवार नै संसद् सचिवालयलाई गराएको थियो र त्यसको केहीबेरमा जारी संसद् बैठकलाई सभामुखले त्यसको जानकारी गराएका थिए।
तर विद्यमान व्यवस्थाका आधारमा अनुसन्धान चलिरहेकाले त्यसले रायमाझीलाई स्वतः निलम्बनमा नपर्ने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए।
प्रतिनिधिसभा नियमावली २०७९ को २४८ (३) मा प्रचलित कानुन बमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभरि वा अदालतको आदेशबमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुने उल्लेख छ।
टोपबहादुर रायमाझी अर्घाखाँचीबाट निर्वाचित पदासीन सांसद हुन्। विसं २०३० सालबाट राजनीति सुरु गरेका रायमाझी २०६४ देखि निरन्तर संसद्मा छन्।
पहिला तीन पटक माओवादीबाट सांसद बनेका रायमाझी गत मङ्सिरमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका थिए।
नक्कली शरणार्थी प्रकरणमा विवादमा परेपछि नेकपा एमालेले उनलाई पार्टी सचिव पदबाट निलम्बन गरिसकेको छ।
सुरुमा एमालेले उनको बचाउ गर्न खोजेको भए पनि पार्टी सचिवालयको बैठकले पछि उनलाई प्रहरीसमक्ष उपस्थित भएर अनुसन्धान गर्न निर्देशन पनि दिएको थियो।
माओवादी पार्टीमा हुँदा उनी नेता बाबुराम भट्टराईसँग निकट मानिन्थे। तर दोस्रो संविधानसभाबाट नेपालको नयाँ संविधान जारी भएपछि भट्टराईले पार्टी परित्याग गर्दा रायमाझी माओवादीमै बसे।
रायमाझी द्वन्द्वकालमा तत्कालीन शाही सरकारसँग वार्ता गर्न माओवादीले गठन गरेको वार्ता टोलीमा सदस्य पनि थिए।
उनले विभिन्न समयमा भौतिक योजना तथा निर्माण, स्थानीय विकास, शान्ति तथा पुनर्निर्माण र ऊर्जा मन्त्रालयको समेत नेतृत्व गरेका थिए।
अठार वर्ष भूमिगत राजनीति गरेको बताउने रायमाझी माओवादीको युवा सङ्गठन वाईसीएलका संस्थापक अध्यक्ष थिए।
अहिलेसम्म यो मुद्दामा १३ जनाविरुद्ध अनुसन्धान भइरहेको परिसरले जनाएको छ। अहिले अनुसन्धान भइरहेको मुद्दा ठगी र सङ्गठित अपराधसम्बन्धी रहेको परिसरका प्रवक्ता रिजालले बताए।
अहिलेसम्म यो प्रकरणमा छ जनाले आफू पीडित भएको र आफूहरूलाई नक्कली भुटानी शरणार्थीका रूपमा अमेरिका पठाइदिने भन्दै २३ करोड रुपैयाँभन्दा बढी रकम उठाइएको विवरण प्रहरीलाई दिएको रिजालले बताए।
सङ्गठित अपराधसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धानका लागि ६० दिनको म्याद पाउँछ। प्रहरी प्रधान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक खत्रीका अनुसार मुद्दा सुरु भएको ४९/५० दिन भइसकेकाले अब छिट्टै मुद्दा दर्ता हुने छ।
सङ्गठित अपराधको मुद्दामा ६० दिनअगाडि नै सरकारी वकिलको कार्यालयमार्फत् अदालतमा मुद्दा पुर्याउनुपर्ने भएकाले अब पाँच(सात दिनमा हामीले सबै टुङ्ग्याएर अदालतमा लगिसक्छौँ, खत्रीले भने।
आरोपितहरू फरकफरक दिन र समयमा पक्राउ परेका भए पनि यो मुद्दामा अब १० दिनभित्र नै अनुसन्धान सकेर मुद्दा दर्ता हुनुपर्ने प्रवक्ता रिजाल बताउँछन्।
पक्राउ पर्नेमा बहालवाला सचिव टेकनारायण पाण्डेसहित पूर्वगृहमन्त्री रामबहादुर थापाका तात्कालिक सुरक्षा सल्लाहकार इन्द्रजित राई, भूतपूर्व उपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टङ्क गुरुङ, सागर थुलुङ राई पनि छन्।