No Image Headlineदेश

नक्कली शरणार्थी प्रकरण : के होला ओलीको विस्तृत धारणा ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिवलाई निलम्बन गरेको नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अनियमितताबारे प्रतिनिधिसभामा विस्तृत धारणा राख्ने तयारी गरेका छन्।

Patanjali Nepal
SweetMart Nepal

एमाले नेताहरूका अनुसार ओलीले आगामी जेठ ४ गतेको संसद् बैठकमा नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर गरिएको ठगी प्रकरणबारे आफ्नो धारणा राख्ने तयारी गरिरहेका छन्।

अहिलेसम्म उक्त प्रकरणमा भूतपूर्व गृहमन्त्री बालकृष्ण खाणसहित बहालवाला उच्च अधिकारीहरू, विभिन्न राजनीतक नेताका नातागोता र सल्लाहकारहरू तथा पैसा उठाउने गिरोहका सदस्यहरू पक्राउ परेको प्रहरीले जनाएको छ।

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनसहित आफूहरूबाट दशौँ लाख रुपैयाँ लिइएको तर पछि बिचल्लीमा पारिएको भन्दै प्रहरी समक्ष उजुरी दिने मानिसको सङ्ख्या १०० भन्दा बढी छ।

एमालेको केन्द्रीय कमिटी बैठकमा नक्कली शरणार्थी प्रकरणबारे कैयौँ नयाँ धारणाहरू राखेका ओलीले ूनिर्दोषलाई बचाउन र दोषीलाई उम्काउनू खोजिए कडा विरोध गरिने बताएका थिए।

उक्त प्रकरणलाई लिएर प्रहरीले पक्राउपुर्जी जारी गरेपछि एमालेका सचिव टोपबहादुर रायमाझी फरार रहेका छन्। उनलाई पार्टीगत जिम्मेवारीबाट निलम्बन गरेको एमालेले प्रहरीसमक्ष उपस्थित भएर अनुसन्धानमा सघाउन निर्देशन दिएको छ।

पार्टी बैठकमा अध्यक्ष ओलीले राखेको धारणा भन्दै एमालेद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छः नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई पनि पूर्वाग्रहपूर्ण ढङ्गले फसाउने काम नहोस्। भ्रष्टाचारको विषयलाई राजनीतिक प्रतिशोधको अस्त्र बनाउने काम नहोस्।

नेकपा एमालेका नेताहरूका अनुसार ओलीले झन्डै ४०० जना नक्कली भुटानी शरणार्थी बनेर अमेरिका छिरिसकेको सूचना आफूले पाएको दाबी गरेका थिए।

त्यसबाहेक गएको जेठमा पीडितका उजुरीउपर कारबाही गरी पैसा फिर्ता गराएर मुद्दा मिलाउने प्रयास गरिएको भन्दै उनले बैठकमा भनेका थिए, त्यो बेला प्रधानमन्त्री को थियो ? गृहमन्त्री को थियो ? यो दुनियाँलाई थाहा छ ।

ओलीले भनेको उक्त समयमा उनलाई विस्थापित गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको थियो।

उक्त प्रकरणमा देउवा निकट मानिने पूर्वगृहमन्त्री खाण पक्राउ परेका छन्। सांसद रहेका देउवाकी पत्नी आरजु राणा देउवा र खाणकी पत्नी मञ्जु खाणको नाम पनि संलग्न भएको दाबी गरिएको विवरण विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरेका छन्। उनीहरू दुवैले आफूहरू निर्दोष रहेको बताइसकेका छन्।

भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधान पहिल्याउन गृह मन्त्रालयका भूतपूर्व सहसंयोजक बालकृष्ण पन्थी नेतृत्वको कार्यदल ओली नेतृत्वको सरकार सत्तामा भएका बेला गठन गरिएको थियो।

तात्कालिक गृहमन्त्री रामबहादुर थापाको मन्त्रीस्तरीय निर्णयबाट गठन भएको उक्त कार्यदलको प्रतिवेदनमा नियुक्त विज्ञ नै सन्दिग्ध पृष्ठभूमिको रहेको विवरणहरू आइरहेका छन्।

उक्त प्रतिवेदनले सन् २०१९ सम्म एक लाख १३ हजार जनाभन्दा बढी शरणार्थी तेस्रो देशमा पुनर्वासपछि दर्तावाल ६,५५७ भुटानी शरणार्थी नेपालमा रहेको र केही शिविरबाहिर र दर्ता हुन छुट भएको जनाएको छ।

हाल अनुसन्धानलाई उद्धृत गर्दै सार्वजनिक भइरहेका विवरणमा उच्च सरकारी अधिकारीसँगको मिलेमतोका आधारमा उक्त प्रतिवेदनमा किर्ते गरी नक्कली शरणार्थीको नाम थपिएको जनाइएको छ।

गृहजिल्ला झापा भएका ओली भुटानी शरणार्थी मामिलाबारे परिचित नेतामध्येमा पर्छन्। कुनै बेला गृहमन्त्री समेत रहेका ओलीले २०६२/२०६३ को जनआन्दोलनपछि बनेको सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रहँदा भुटानी शरणार्थीको मामिलाबारे थिम्पुसँग अवरुद्ध रहेको वार्ता पुनः सञ्चालन गराउने प्रयास समेत गरेका थिए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button