शेयरमा सुस्त गति : पर्ख र हेरेको अवस्थामा लगानीकर्ता
केही दिनदेखि बजार त्यति धेरै घटेको अनि बढ्न पनि नसकेको अवस्था र हालको कारोबार ट्रेण्डअनुसार लगानीकर्ताहरू पर्ख र हेरेको अवस्थामै रहेको देखिन्छ ।
सात कारोबार दिनदेखि १९ सय वरिपरि विन्दुमा रहेको नेप्से आइतवार १८ सयको लाइनमा झरेको छ । त्यसपछि लगानीकर्ताहरूले सस्तो मूल्यमा विक्री गर्न नचाहेको र खरीदकर्ताले पनि अहिलेको मूल्यमा खरीद गर्न राजी नभएका कारण कारोबार रकम साढै दुई महीनायताकै न्यून भएको छ ।
गत माघ २७ गते रू. ७७ करोड बराबरको शेयर खरीदविक्री भएकोमा आज अर्थात् वैशाख ११ गते रू. ७५ करोडमा झरेको छ ।
बजारले बिस्तारै बटम बनाउन खोजेको जस्तो पनि देखिन्छ तर बढ्नका लागि कारोबार रकमले भने सपोर्ट गरिसकेको छैन । शेयर बजारका लागि आवश्यक कतिपय पक्षहरूमा सुधार हुँदै गर्दा पनि नेप्सेले अझै सकारात्मक प्रतिक्रया दिएको छैन ।
बजार माथि जान अब केही नीतिगत विषयहरूमा परिमार्जन हुनुपर्ने लगानीकर्ताको भनाइ रहेको छ । यतिबेला शेयर बजारले विशेषगरी मौद्रिक नीति समीक्षा र बजेट कुरिरहेको जानकारहरू बताउँछन् ।
साताको दोस्रो कारोबार सोमवार दिन नेप्से परिसूचक सामान्य अंक बढेको छ । यस दिन नेप्से परिसूचक २ दशमलव ७१ अंक अर्थात् शून्य दशमलव १४ प्रतिशत बढेर रू. १ हजार ८८८ दशमलव ३२ विन्दुमा कायम भएको हो । सोमवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव २३, फ्लोट इन्डेक्स शून्य दशमलव १८ र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव शून्य ६ अंक बढेका छन् ।