No Image Headlineअर्थविशेष

पोखरा विमानस्थलबाट किन हुन सकेन अन्तर्राष्ट्रिय उडान

गत जनवरी १ बाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत अहिले राष्ट्रिय उडानहरू मात्रै भइरहेका छन्।

Patanjali Nepal
SweetMart Nepal

अन्तर्राष्ट्रिय उडानको लागि विभिन्न देशका वायुसेवा कम्पनीसँग आवश्यक छलफल भइरहेको भए पनि यसबारे कुनै निधो नभइसकेको अधिकारीहरूले बताएका छन्।

नेपाली निकायले आवश्यक प्रवर्द्धन तथा प्रचारको प्रक्रिया अघि बढाएको र अन्तर्राष्ट्रिय वायुसेवाहरूले उक्त विमानस्थलको प्राविधिक एवं अन्य पाटोहरूबारे विश्लेषण गरिरहेको बताउँछन् पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रमराज गौतम।

अहिलेको परिवेशमा वायुसेवाहरूले हाम्रो विमानस्थलबारे प्रशस्त जानकारी लिन एरोनोटिकल इन्फरमेसन पब्लिकेशनमा प्रकाशित हाम्रो दस्ताबेज विश्लेषणको प्रक्रिया अघि बढाएका छन्, उनले भनेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल भन्ने बित्तिकै फटाफट अन्तर्राष्ट्रिय वायुसेवाका जहाजहरू आउँछन् भन्ने बुझाइ राख्नुसमेत गलत भएको उनको भनाइ छ।

हाल स्थानीय, प्रदेश र केन्द्र गरी तीनै तहको सरकार र यससँग सम्बन्धित निकायहरूसँग मिलेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि पर्याप्त यात्रु र व्यापार भन्ने कुरा प्रत्याभूति गराइरहेको गौतमले दाबी गरे।

अन्य देशका वायुसेवा प्रदायकहरूले पोखरा उडानका लागि उपयुक्त जहाज र आर्थिक पाटोबारे विश्लेषण गरिरहेको उनले बताए।

जहाज सवारीको एक मात्र साधन हुन्थ्यो भने अन्तर्राष्ट्रिय उडान गरी हाल्न सम्भव हुन्थ्यो। तर त्यसो नभएको हुनाले यहाँ उडान भर्न चासो देखाएका विभिन्न वायुसेवा कम्पनीहरूको जिज्ञासा सम्बोधन गर्ने र आवश्यक जानकारी पठाउने काम गरिरहेका छौँ, उनले थप भने।

विमानस्थल प्रमुख गौतमका अनुसार पछिल्लो समय पोखरामा कतार र कोरियाबाट चार्टर उडान गर्ने विषयमा गहन छलफल भइरहेको छ। त्यस्तै कतार एअरवेज, जजिरा एअरवेज, फ्लाइ दुबई, थाइ स्माइललगायतका विदेशी वायुसेवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो जहाज उडानको सम्भाव्यताबारे विश्लेषण गरिरहेका पनि उनले दाबी गरे।

नेपालबाट विदेश उडान भर्ने नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले पनि पोखरा हुँदै विभिन्न गन्तव्यसम्मको उडान भर्नेगरी रुचि देखाएको उनले बताए।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले, बुद्ध एअरले पनि पोखराबाट भारतको दिल्ली, बनारस र देहरादुनसम्म आफ्नो जहाज उडाउने तयारी गरिरहेको जानकारी दिए।

उक्त घरेलु वायुसेवा कम्पनीले भारतीय नियामक निकायको अनुमति पर्खिरहेको छ, उनले भने।

विभिन्न चिनियाँ एअरलाइन्सहरूले पनि यस विषयमा चासो देखाए पनि हालसम्म आधिकारिक पत्राचार नभएको निरौलाले जानकारी दिए।

कोरोना भाइरस महामारीपछि अन्तर्राष्ट्रिय हवाई उडानको व्यवसाय खस्किनुलाई प्रमुख कारणका रूपमा व्याख्या गर्छन् नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता निरौला।

कोभिडका कारण विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्। अवस्था बिस्तारै सामान्य भइरहेको प्रभावित व्यवसाय ७० प्रतिशत पनि पूरानो लयमा फर्कन सकेको छैन, उनले भने।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि अन्तर्राष्ट्रिय बजारसँग सम्बन्धित भएकाले बाह्य वायुसेवाहरूले उपयुक्त जहाज, रुट, ट्रान्जिटलगायत विषयमा विमर्श गरिरहेको उनको तर्क छ।

यद्यपि, नागरिक उड्डयनबारे जानकार वीरेन्द्रबहादुर देउजाले उक्त विमानस्थलमा उडानको तयारी गरेका वायुसेवाहरूले पनि विमानस्थल नजिकै यती एअरलाइन्सको एउटा विमान दुर्घटनामा ७० जना भन्दा बढीको ज्यान गएपछि योजना थाती राखेको हुनसक्ने बताए। उक्त दुर्घटनाले मनोवैज्ञानिक प्रभाव पारेको उनको ठहर छ।

राष्ट्रिय विमान नै दुर्घटनामा परेपछि थोरै सेट ब्याक भएको हो। कतिपय वायुसेवाले उडानका लागि ‘हतार नगरौँ। पर्खौँ र हेरौँ’को अवधारणा अपनाएको हुनसक्छ, उनले भने।

कुनै पनि वायुसेवा कम्पनीलाई आफ्नो जहाज कहाँ, कहिले र कसरी उडाउने भन्नेबारे निर्क्योल गर्न समय लाग्ने विषयलाई नकार्न नसकिने उनको भनाइ छ।

यति नै समयभित्र अन्तर्राष्ट्रिय विमान उड्नु पर्छ भन्ने नियम हुँदैन। तर धेरै ढिला हुँदा भौतिक तथा आर्थिक रूपमा केही क्षति हुनसक्छ, उनले आफ्नो मत राखे।

चिनियाँ एक्जिम बैंकबाट २८ अर्बभन्दा बढी ऋण लिएर निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण र ब्याज भुक्तानीको प्रक्रिया अर्को वर्षबाट सुरु हुने नेपाली अधिकारीहरूले यसअघि बीबीसीसँग बताएका थिए।

उनीहरूका अनुसार विमानस्थलबाट हुने आम्दानीबाट नै ऋण तिर्ने योजना छ। त्यसैले विमानस्थलमा योजना अनुरूप उडानमा ढिलाइ हुनुले आर्थिक कठिनाइ निम्त्याउन सक्नेबारे जानकार देउजाले जोड दिए।

हुन त योजना बन्दै होला। पूर्व तयारी गर्दै होलान् तर विमानस्थलले अब केही समयमा कमाउन थालेन भने घडी घुमिरहन्छ। रकमको भारी त रहिरहन्छ, उनले भने।

नेपालको लोकप्रिय पर्यटकीय गन्तव्य पोखरा सोलुखुम्बुको लुक्लापछि सबैभन्दा धेरै आन्तरिक उडान हुने स्थानमा पर्छ।

सन् २०२१ मा १९ हजार भन्दा बढी उडानमा करिब ५ लाख ३० हजार यात्रु पोखरा पुगेका थिए। कोभिड १९ महामारीका कारण नेपालको पर्यटन क्षेत्रले गम्भीर धक्का खेपेको उक्त वर्ष जम्मा डेढ लाख विदेशी पर्यटक मात्रै नेपाल आएका थिए।

तर पछिल्लो समयमा पर्यटकको सङ्ख्या बढी रहेको बताइएको छ। सन् २०२२ मा करिब ६ लाख १५ हजार विदेशी हवाई मार्ग हुँदै नेपाल आएका थिए।

पर्यटन क्षेत्रमा पनि सुधारको सङ्केतहरू देखिएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबाटै सरकारले चिनियाँ पक्षलाई ब्याज तिर्न सक्ने कतिपय अधिकारीको दाबी छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button