यो साता देशभरिको हावा प्रदूषित भएको छ । प्रदूषित हावाका कारण मानिसहरुमा आँखा पोल्ने, रुघा लाग्ने, टाउको दुख्नेजस्ता समस्या देखिएका छन् । सरकारले अत्यावश्यक नपरी बाहिर ननिस्किन र सतर्कता अपनाउन आग्रह गरेको छ ।
केही दिनयता काठमाडौ, तराई तथा देशको मध्य र पूर्वी भागमा पनि यस्तै तुवाँलोको तह देखिएको छ।
वन डढेलो र अन्नबालीका खोस्टा जलाउने प्रवृत्ति जस्ता विभिन्न कारणले अहिले प्रदूषण बढेको बताइएको छ।
काठमाडौं उपत्यका संसारकै बढी प्रदूषित सहरको सुचीमा सबैभन्दा माथि देखिएको थियो।
एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने निकै मसिना र मसिना कणहरूलाई हेरेर मिश्रित हिसाबले प्रदूषणको तह निर्धारण गर्दा त्यस्तो खराब स्तर देखापरेको थियो।
गत वर्ष एप्रिल १ देखि १५ मा देशका विभिन्न ३३ स्थानमा डढेलो लागेको थियो भने यो वर्ष त्यही समयमा ४०० भन्दा बढी स्थानमा डढेलो लागेको तथ्याङ्कले देखाउँछ।
सन् २०२१ को सुख्खा याममा पनि विभिन्न ३,०९३ स्थानमा डढेलो लागेका कारण देशका विभिन्न भागमा तुवाँलोको तह देखिएको थियो र प्रदूषण उच्च बनेको थियो।