एसीसी प्रिमिअर कप: विजेता बन्दै भारत-पाकिस्तानसँग खेल्ने नेपालको लक्ष्य
एसीसी प्रिमिअर कपको विजेता बनेमा नेपाल एसिया कपमा छनोट हुनेछ। नेपाली क्रिकेटको लागि यो अति रोचक विषय हो।
अझ रोमाञ्चक कुरा के हो भने एसिया कप विजेता भारत र पाकिस्तानको समूहमा छ।
अर्थात् विजेता बन्नासाथ नेपालले इतिहासमा पहिलो पटक आगामी सेप्टेम्बर महिनामा टेस्ट राष्ट्र भारत र पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ। प्रिमिअर कप नेपालको लागि अरू हिसाबले पनि महत्त्वपूर्ण छ।
१० राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल शीर्ष ३ भित्र रहन सके मात्र पनि एसीसी इमर्जिङ टिम्स एसिया कपमा लागि छनोट हुनेछ।
च्याम्पियन बन्ने उद्देश्यका साथ नेपाली क्रिकेट टोलीले मङ्गलवारबाट कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा सुरु हुने एसियाली क्रिकेट परिषद्को प्रतियोगिता एसीसीको प्रिमिअर कप खेल्दैछ।
यसको सुरुआत मलेसिया विरुद्धको खेलबाट हुनेछ। नेपालले प्रिमिअर कपको परीक्षा मलेसिया विरुद्धको खेलबाट गर्दै छ।
कीर्तिपुर क्रिकेट मैदानमा हुने प्रतिस्पर्धामा मलेसियालाई सहज प्रतिद्वन्द्वीको रूपमा हेरिएको छ । एसोसियट राष्ट्र बीचको स्पर्धामा नेपाल र मलेसियाबीच धेरै पटक भेट भइसकेको छ।
तर पछिल्लो समय नेपालको अवस्था बलियो देखिन्छ। पछिल्लो ५ भेटमा मलेसियाले नेपाललाई जित्न सकेको छैन।
नेपालले विश्वकप लीग २ को प्रतियोगिता खेल्नु तर त्यसमा मलेसिया छनोट हुन नसकेपछि भने यी दुई राष्ट्रको दूरी बढ्दै गएको देखिएको हो।