आफ्नै शरीरमा सिस्नु लगाएर सुदूरपश्चिमवासीले बर्सेनि विशु पर्व मनाउने गर्छन्।
नयाँ वर्षका दिन मनाइने यो पर्वमा विशेषगरी साली र भिनाजु, देवर र भाउजू र नन्द र भाउजूबीच एकआपसमा सिस्नु हानाहान गरेर खेल्ने चलन छ।
हाँसोठट्टा गर्न मिल्ने नाताको रूपमा हेरिने एकले अर्कोलाई सिस्नुको मुठोले हातखुट्टा झमझमाउनेगरी हान्ने गर्छन्।
अरू व्यक्तिले पनि अनिवार्य रूपमा पोलेको थाहा हुनेगरी आफ्नै शरीरमा सिस्नु लगाउँछन्।
अरूलाई अप्ठ्यारो पार्नेगरी नभई ठट्टाका रूपमा मात्र सिस्नुले हानेर खेल्ने चलन रहेको सुदूरपश्चिमका संस्कृतिविद् कैलाश पाण्डेले बताए।
विशु पर्वमा घ्यू, तेलजस्ता चिल्लो पदार्थ प्रयोग गरेर विशेष परिकार सेलरोटी, खीर, पुरी, माँडा, बटुक बनाएर खाइन्छ।
संस्कृतिविद् पाण्डेका अनुसार चिल्लो परिकार खाइने भएकाले त्यसलाई पचाउन पेटमा सिस्ने लगाउने गरिएको हो।
सिस्नुले डाम्दा खानेकुरा पच्ने तथा नसा र छालासम्बन्धी रोग पनि निको हुने जनविश्वास छ।
तर चिकित्सक भने सिस्नुले पोल्दा खानेकुरा पचाउन सजिलो हुने र नसा वा छालासम्बन्धी रोग निको हुने कुरा प्रमाणित तर्क नभएको बताउँछन्।
सिस्नुले पोल्दा छाला र नसासम्बन्धी रोगहरू निको हुन्छ भन्ने कुरा केवल भ्रम मात्र हो, प्रदेश अस्पताल सुर्खेतका हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डा. पदम गिरीले भने, यसबारे अहिलेसम्म कुनै त्यस्तो प्रमाण फेला परेको छैन।
विशेषगरी सुदूरपश्चिमका दार्चुला, अछाम, डोटी, डडेलधुरा, बझाङ, बाजुरा र बैतडीका साथै कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्दै आएका पहाडी समुदायले नयाँ वर्षका दिन विशु पर्वला मनाउँछन्।
संस्कृतिविद् कैलाश पाण्डेका अनुसार विशाखा नक्षत्र भएकोले वैशाखको पहिलो दिनलाई विशु भन्ने गरिन्छ।