No Image Headlineअन्तराष्ट्रिययस्तो पनि

भूकम्पको पूर्वसूचना दिने मोबाइल फोन, कसरी गर्छ काम ?

Thrill Factory
Rungta Group

मोबाइल फोनबाट पहिलोपटक मानिसहरूबीच संवाद भएको ५० वर्षपछि हामीले खल्तीमा बोकेर हिँड्ने यो प्रविधिले संसारकै सबैभन्दा ठूलो भूकम्प पहिचान प्रणाली निर्माण गर्न सघाउ पुर्‍याइरहेको छ।

सन् २०२२ को अक्टोबर २५ मा ५।१ म्याग्निट्यूडको भूकम्पले क्यालिफोर्नियाको बे एरियालाई हल्लायो। सौभाग्यवश त्यो एकदम खतरनाक खालको कम्पन थिएन तर उक्त क्षेत्रमा त्यसलाई महसुस गरेर व्यक्तिहरूले सम्प्रेषित गरेका विवरणहरू ठूलो मात्रामा युनाइटेड स्टेट्स जिओलजिकल सर्भेमा रिपोर्ट गरिए।

त्यसमा कुनै पनि क्षतिको विवरण आएको थिएन। तर उक्त भूकम्प अलग्गै कारणले महत्त्वपूर्ण बन्न पुग्यो। भूकम्पको धक्का सुरु हुनु अगावै उक्त क्षेत्रका धेरै मानिसहरूले आफ्ना फोनमा अलर्ट अर्थात् पूर्व चेतावनी प्राप्त गरिसकेका थिए।

कैयौँ मोबाइल फोनहरूले तुरुन्तै भूकम्प थाह पाउन पनि सघाउ पुर्‍याएका थिए। अहिले गुगलले यूएसजीएस र क्यालिफोर्नियाका कैयौँ विश्वविद्यालयका अरू प्राज्ञहरूसँग भूकम्पको कम्पन आफूसम्म आइपुग्नु केही सेकेन्ड अघि नै पूर्व चेतावनी दिने प्रणाली विकास गर्न काम गरिरहेको छ।

चेतावनीको उक्त अवधि निक्कै संक्षिप्त खालको भए पनि त्यसले कुनै टेबल वा डेस्कमुनि आश्रय लिन पर्याप्त समय दिन्छ।

त्यसले रेलको गति कम गर्न, विमानलाई उडान वा अवतरण सुरु गर्नबाट रोक्न वा कारलाई पुल वा सुरुङ भित्र प्रवेश गर्नबाट रोक्न चाहिने समय उपलब्ध गराउन सक्छ।

वास्तवमा शक्तिशाली भूकम्प गएको अवस्थामा यसले जीवन रक्षाका लागि सघाउन सक्छ। यसले दुइवटा स्रोतबाट तथ्याङ्क सङ्कलन गर्छ।

यूएसजीएस, क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी, युनिभर्सिटी अफ बर्क्ले र राज्य सरकारका भूकम्पविद्हरूले क्यालिफोर्नियाभरि यो प्रविधि जडान गरेका थिए।

अमेरिकाको अन्य दुई राज्यहरू ओरेगन र वासिङ्टनका साइज्मोमिटरहरू पनि सेकअलर्ट भनिने यो प्रणालीमा जोडिएका हुन्छन्।

तर गुगलले चाहिँ विश्वकै सबैभन्दा ठूलो भूकम्प पहिचान गर्ने सञ्जालको विकास गरिरहेको छ, जसले सर्वसाधारणले बोकिरहेका मोबाइल फोनको सहायता लिन्छ।

गुगलको एन्डरोइड अप्रेटिङ प्रणाली भएका अधिकांश स्मार्टफोनहरूमा एस्सिलेरोमिटरहरू हुन्छन् जसले कुनै पनि फोन हल्लिएको थाह पाउँछन्।

आम रूपमा मोबाइलको डिस्प्लेलाई पोट्रेटबाट ल्यान्डस्केपमा र मानिसहरूको पाइला गन्ने जस्ता सूचना सङ्कलनका लागि तीनको प्रयोग गरिन्छ।

यी सेन्सरहरू आश्चर्यजनक रूपमा यति संवेदनशील हुन्छन् कि तीनलाई मिनी साइज्मोमिटरका रूपमा प्रयोग गर्न सकिन्छ।

गुगलले प्रयोगकर्ताहरूलाई आफ्ना टेलिफोनमार्फत स्वतःस्फूर्त रूपमा एन्ड्रोइड अर्थक्वेक एलर्ट सिस्टममा तथ्याङ्क पठाउन मिल्ने सेवा पनि दिएको छ।

कुनै पनि मोबाइलले यदि भूकम्पको यी विशेषता भएको तरङ्ग अनुभव गरे त्यस्तो सन्देश पठाउनेछ।

हजारौँ वा दशौँ लाख अन्य फोनहरूसँगको तथ्याङ्कका आधारमा त्यसले कहाँ भूकम्प गइरहेको छ वा छैन भन्ने सूचना प्राप्त गर्नेछ।

त्यसपछि उसले उक्त भूकम्पीय तरङ्गहरू महसुस गर्न सकिने सम्भावित क्षेत्रका फोनहरूमा पूर्व चेतावनीहरू पठाउन मिल्छ।

रेडियो सिग्नल भूकम्पको तरङ्ग भन्दा द्रुत गतिमा प्रवाह हुने भएकाले केन्द्रबिन्दु भन्दा पर रहेका ठाउँमा कम्पन हुनुअगावै पूर्व चेतावनी पुगिसक्छ।

एन्ड्रोइडका एक जना सफ्टवेअर इन्जिनिअर मार्क स्टोगाइटिस भन्छन्, हामी लगभग प्रकाशको गतिमा भूकम्पको वेगसँग प्रतिस्पर्धा गरिरहेका हुन्छौँ । फोनको सिग्नल लगभग त्यति नै वेगले प्रवाह हुन्छ। यो हाम्रो भाग्य हो कि प्रकाशको गति ज्यादै तीव्र हुन्छ।

अधिकांश तथ्याङ्क सर्वसाधारणहरूबाटै सङ्कलन हुने हुँदा यो प्रविधिले महँगा साइज्मोमिटर नभएका क्षेत्रमा पनि भूकम्पको सम्भावनाको अनुगमन गर्ने बाटो खोलिदिन्छ।

यसको अर्थ विश्वको दुर्गम र अति कम आय भएका क्षेत्रमा पनि भूकम्पसम्बन्धी चेतावनी जारी गर्न सकिन्छ। सन् २०२२ को अक्टोबरमा गुगलका इन्जिनियरहरूले भूकम्पको केन्द्र विन्दुबाट तरङ्गहरू अघि बढिरहँदा सान फ्रान्सिस्को बे क्षेत्रका फोनमा पूर्व चेतावनीहरू जारी गर्न सफलता पाएका थिए।

अहिले नियमित रूपमा नै मोबाइल फोनले त्यस्तो खालको कम्पन टिप्ने गर्छ। हालै एप्रिल ४ २०२३ मा ४।५ म्याग्निट्यूडको एउटा भूकम्पको पूर्व चेतावनी क्यालिफोर्नियाको ट्रेस पिनोस क्षेत्रमा जारी गरिएको थियो।

क्यालिफोर्नियाका लागि भूकम्प जानु सामान्य हो। त्यहाँ दैनिक १०० वटा जति साना भूकम्प गइरहेको हुन्छ जसमध्ये अधिकांशलाई मानिसहरूले महसुस नै गर्दैनन्।

उक्त राज्यमा वर्षमा १५ देखि २० वटा ४ म्याग्निट्यूडभन्दा शक्तिशाली भूकम्प जाने गर्छन्। विश्वभर लगभग १६ अर्ब मोबाइल फोन प्रयोगकर्ता छन् जसमध्ये ३ अर्बभन्दा धेरैले एन्ड्रोइड फोन चलाउँछन्।

भूकम्प चेतावनी प्रणाली ९० वटा भन्दा बढी देशमा उपलब्ध छ जसमा उच्च जोखिम भएका देश पनि पर्छन्। तर यो प्रणालीको आफ्नै सीमितता पनि छ। विशेष गरी कम मोबाइल फोन भएका दुर्गम क्षेत्र र सुनामी आउनसक्ने तटीय क्षेत्रका भूकम्पको पूर्व चेतावनी दिन कठिन छ।

केही सेकेन्ड पहिले नै पूर्व चेतावनी दिएर सहयोग गर्न सक्ने भए पनि अझै भूकम्पको भविष्यवाणी गर्नसक्ने कुनै पनि प्रविधिको विकास भइसकेको छैन। एजेन्सीको सहयोगमा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button