No Image Headlineदृष्टि/संवाद

मधेसका सम्भावनासँग यसरी जोडिन सक्दछ स्टार्टअप

अनुप अग्रवाल

अहिले कुल जनसंख्याको आधाभन्दा बढी आर्थिक रुपमा सक्रिय जनशक्ति भएको समय छ । त्यसमा पनि १६ देखि ४० वर्षसम्मको जनसंख्या छ । यो विकासका लागि अवसर हो । यो जनसांख्यिक अवसर बढी भएको समय हो ।

अहिले विश्वमा उदाहरणीय विकास गरेर देखाएका मुलुकहरूले यो अवसरको उपयोग गरेका छन् । यस्तो अवसर बारम्बार आउँदैन ।

अबको साढे २ दशकपछि हाम्रो जनसंख्या वृद्धवृद्धा बाहुल्य जनसंख्यातिर उन्मुख हुँदै जान्छ । सन् १९९० को दशबाट शुरु भएको यो अवसर सन् २००१ मा उत्कर्षमा थियो । तर, त्यसबेला देश चरम द्वन्द्वमा भएकाले उपयोगमा ध्यान जान सकेन ।

अहिले राजनीतिक संक्रमण समाधान भए पनि आर्थिक विकसमा यो अवसरलाई जोडने सन्दर्भमा खासै चासो देख्न पाइएको छैन ।

मधेसको कुरा गर्दा प्रदेशको भूगोलका हिसाबले अन्य प्रदेशको तुलनामा जनसंख्या बढी छ । यो मधेसका लागि आर्थिक विकासको स्वर्णिम अवसर हो । मधेस सामाजिक र सांस्कृतिक विविधता भएको प्रदेश हो ।

देशको कुल गार्हस्थ उत्पादनमा मधेसको योगदान १४ प्रतिशत छ । कुल भूभागको ६० प्रतिशत कृषि योग्य क्षेत्रफल छ । कुल धान उत्पादनमा मधेस प्रदेशको २२ प्रतिशत, २९ प्रतिशत गहुँ र मकैमा ३० प्रतिशत योगदान छ ।

नगदेवालीमा ६५ प्रतिशत योगदान रहेको छ । २६ प्रतिशत भूभाग क्षेत्रफल वनजंगलले ढाकेको छ । खाद्यान्न, उखु र जुटको खेती मुख्य रुपमा हुने गरेको छ । मधेसको अर्थतन्त्रमा कृषिको योगदान ३४ प्रतिशत छ ।

यो राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा कृषिको औसत योगदानभन्दा १० प्रतिशत बिन्दुले बढी हो । प्रदेशको कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान ४६ प्रतिशत छ ।

सरकारी आँकडाअनुसार मधेस प्रदेशमा ५२२ ओटा उद्योग दर्ता भएका छन् भने १२ हजार ९४६ कम्पनी दर्ता भएको देखिन्छ ।

उल्लिखित तथ्यांकहरुले मधेस प्रदेशका आर्थिक विकासको सम्भावना प्रचुर मात्रामा रहेको देखाउँछ । कृषि मधेसको मुख्य सम्भवना हो ।

सरकारले कृषिमा सहुलियत कर्जा दिएको छ । वैदेशिक रोजागारीमा जाने युवालाई यो सहुलियत कर्ता र कृषिको सम्भावनासँग जोड्न सकियो भने मधेसको विकासमा कायापलट हुन सक्दछ ।

वीरगञ्जमा वर्षौदेखि बन्द अवस्थामा रहेको कृषि कृषि औजार कारखाना पुनः सञ्चालन हुने कुरा आएका छन् । यो सकारात्मक सन्देश हुन सक्दछ । मधेस प्रदेशसँग भारतको कुल जनसंख्याको २५ प्रतिशत जनसंख्या समेटिएको बिहार र उत्तर प्रदेश राज्यको बजार अवसर लिने सम्भवना पनि उत्ति नै छ ।

काठमाडांै उपत्यका स्वदेशको मुख्य खपत केन्द्र हो । यो मधेसबाट निकट दुरीमा छ । मधेस प्रदेशको कृषि उपजलाई यी बजारमा जोड्न सकिन्छ ।

जनकपुर र अयोध्यालाई प्याकेजको रुपमा ब्राण्डिङ गरेर पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका बेला यो योजनामा प्रतिवद्धता पनि आएको थियो, त्यसलाई कार्यान्वयनमा लैजान विलम्ब गर्नु हुँदैन ।

बाराको गढीमाई, वीरगञ्जको घरिअर्वा, गहवा, पारसनाथ, भाठालगायतका क्षेत्रको धार्मिक मान्यतासँगै पर्सा राष्ट्रि निकुञ्जको पर्यापर्यटनको सम्भाव्यतालाई ब्राण्डिङ गर्नु पर्दछ ।

मधेसका यी सम्भवनाहरूलाई इनोभेसन र स्टार्टअपको अवधारणासँग जोड्नु पर्दछ । हरेक क्षेत्रमा सूचना र प्रविधिले फड्को मारेको अहिलेको यथार्थबीच कुनै पनि उद्यममा नवीन अवधारणा चाहिन्छ ।

भारत र चीनले स्टार्टअपलाई नीतिगत रुपमै प्रोत्साहन गरेका छन् । मधेसको कृषि र पर्यटनमा यो अवधारणाबाट काम गर्न सकिन्छ । अब प्रतिस्पर्धामा टिकिरहन पनि कुनै पनि काम फरक तरिकाले गर्नैपर्ने हुन्छ ।

मधेस प्रदेश सम्भावना भएर पनि आर्थिक र सामाजिक विकासमा पछाडि हुनु भनेको पनि एक प्रकारले फरक तरिकाले काम गर्ने र आर्थिक समृद्धिमा अघि बढ्ने अवसर पनि हो । यसको उपयोग गरिनु पर्दछ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button