यस्तो पनि

कार्वन डाइअक्साइडबाट बन्छ हिरा !

कार्बन, एक साधारण तत्त्व हो जसले मानिससामु निकै गम्भीर समस्याहरू निम्त्याइरहेको छ।

वायुमण्डलमा अत्यधिक कार्बन डाइअक्साइडले विश्व तापमान बढ्नमा योगदान पुर्‍याउँछ जसले हामीलाई अपरिवर्तनीय जलवायु विपद्को त्रासमा पारेको छ।

यद्यपि, कार्बन हरेकको जीवनमा आवश्यक तत्त्व हो। यसले हामीलाई बाँच्न चाहिने खाना उत्पादन गर्न सघाउँछ र हाम्रो अर्थव्यवस्थालाई आड दिने ऊर्जा प्रदान गर्छ।

त्यसैले हावामा कार्बनको मात्रा व्यापक छ र हाम्रो दैनिकीमा त्यसको उत्तिकै आवश्यकता छ भने त्यही कार्बन किन प्रयोग नगर्ने ?

यो विचार हरित गृह ग्यास उत्सर्जनलाई सोझै वायुमण्डलबाट तान्न र उत्पादनशील रूपमा प्रयोग गर्न खोजिरहेका केही परियोजनामा संलग्न मानिसहरूको हो।

स्विट्जरल्यान्डमा रहेको ‍क्लाइमवर्क्स र क्यानडाको कार्बन इन्जिनियरिङ त्यस्ता कम्पनीहरू हुन् जुन डाइरेक्ट एयर क्याप्चर प्रविधि प्रयोग गरेर वायुमण्डलबाट सीओटू निकाल्न र योग गर्दा लगाउने पाइन्टदेखि हीरासम्म सबै बनाउन प्रयोग गर्न खोजिरहेका छन्।

तर योजना पूरा गर्न ठूलो लागत आवश्यक छ। सम्बन्धित उद्योगका अनुसार डीएसी गम्भीर समस्याको सहज समाधान होइन।

सीओटू निकाल्ने प्रक्रियामा सम्भवतः केही मात्रा हावामा मिसिन्छ। त्यसबाहेक प्रविधि अझै धेरै महँगो छ र यसले हावाबाट कार्बन हटाउन पुर्‍याउने योगदान निकै न्यून छ।

तर धेरै विज्ञहरू डीएससीसहित कार्बन डाइअक्साइड रिमुभल प्रविधिहरू जलवायुसम्बन्धी प्रकोप रोक्नका लागि महत्त्वपूर्ण कदमहरूमध्ये एक भएको कुरामा सहमति जनाउँछन्।

संयुक्त राष्ट्र सङ्घको जलवायु परिवर्तनसँग सम्बन्धित विज्ञानको मूल्याङ्कन गर्ने निकाय, द इन्टरगभर्न्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज आइपीसीसीको सन् २०२२ मा सार्वजनिक प्रतिवेदनको निष्कर्ष अनुसार यदि हामीले शून्य कार्बनडाइअक्साइड वा हरित गृह उत्सर्जन हासिल गर्ने लक्ष्य राख्ने हो भने सीडीआर प्रणालीको प्रयोग गर्नु वाञ्छनीय हुन्छ। यस प्रणालीले शेष रहेका र नामेट पार्न कठिन उत्सर्जनहरूलाई सन्तुलनमा राख्न मद्दत गर्छ।

यो बजारले मान्यता दिएको एक आवश्यकता हो। हावाबाट तानिएको अधिकांश सीओटू प्राय जमिनमुनि या त समुद्रमुनि भण्डारण गरिन्छ तर बढ्दो उद्योगले यस आवश्यक तत्त्वको सदुपयोग गर्न खोजिरहेको छ।

सन् २०२१ मा रोएटर्सले जारी गरेको एक तथ्याङ्कले यस प्रविधिमा संलग्न विभिन्न स्टार्टअपहरूले त्यस वर्ष सीओटू उत्सर्जन प्रयोग गरी विभिन्न उत्पादनहरू निर्माण गर्न लगानीकर्ताहरूबाट ८० करोड मिलियन डलर उठाएको देखाउँछ। उक्त रकम सन् २०२० मा सङ्कलित रकमभन्दा तीन गुना बढी हो।

हीरा मूलत कार्बनको अति खँदिलो स्वरूप हो। न्यूयोर्कमा रहेको गहना कम्पनी इथरले वायुमण्डलबाट तानिएको सीओटूबाट हीरा बनाउँछ र उत्पादन प्रक्रियालाई दिगो ऊर्जाका साथ सशक्त बनाउने दाबी गर्छ।

इथरका अनुसार प्रयोगशालामा बनाइने यी हीराहरू हेर्दा र रासायनिक हिसाबमा उत्खनन गरिएका हीरासँग मिल्दो हुन्छन्। रासायनिक विश्लेषण गरेर मात्र यी दुईको भिन्नताबारे बताउन सकिन्छ। ती हीरालाई पनि जिमोलोजिकल इन्स्टिट्यूटले उत्खनन गरिएका हीरालाई जस्तै प्रमाणित गरेको छ।

सुरुमा क्लाइमवर्कसँगको साझेदारीमा, हावा तान्ने उपकरणको प्रयोग गरेर वायुमण्डलबाट हावा तानिन्छ र एक विशेष फिल्टरले कार्बन डाइअक्साइड र अन्य प्रदूषकहरूलाई नियन्त्रणमा लिन्छ।

त्यसरी सङ्कलित सीओटूलाई युरोपको एक भवनमा पठाइन्छ जहाँ त्यसलाई हाइड्रो कार्बन मिथेनमा रूपान्तरण गरिन्छ। त्यसले हीराको कच्चा पदार्थको काम गर्छ।

त्यसपश्चात् यसलाई सिकागोस्थित इथरको रियाक्टरमा पठाइन्छ जहाँ चरम ताप र दबाव दिएर हीरा निर्माण गरिन्छ।

सामान्यतया प्राकृतिक हीरा बन्नको लागि आवश्यक ताप र दबाव सम्मिलित दशौँ लाख वर्षको प्रक्रिया प्रयोगशालामा लगभग तीन देखि चार हप्तामै सकिन्छ।

यस्तो कार्य गर्ने इथर मात्र एक्लो कम्पनी भने होइन। विश्वभर कैयौँ अरू कम्पनीहरूले पनि प्रयोगशालामा हीरा निर्माण गरिहरेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button