No Image Headlineदेश

रवि लामिछानेमागि राहदानी दुरुपयोगमा मुद्दा नचल्ने, यस्तो छ महान्यायाधिवक्ताको तर्क

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई राहदानी दुरुपयोगमा मुद्दा नचल्ने भएको छ ।

महान्यायाधिवक्ता दिनमणि पोखरेलले सोमबार यस्तो निर्णय गरेको महान्याधिवक्ता कार्यालयले जनाएको छ। महान्यायाधिवक्ताको उक्त निर्णयसँगै अब सरकारी निकायहरूले लामिछानेमाथि राहदानी दुरुपयोगका विषयमा मुद्दा चलाउन पाउने छैनन्।

आइतवार लामिछानेले राहदानी दुरुपयोग गरेकोसम्बन्धी मुद्दाका फाइलहरू उक्त कार्यालयमा पुगेका खबर आएका थिए।

राहदानी दुरुपयोगमा लामिछानेलाई मुद्दा चलाउन आधार र प्रमाण नपुग्ने भन्दै महान्यायाधिवक्ताले त्यस्तो निर्णय गरेको कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले सञ्चामाध्यमहरुलाई जानकारी दिएका छन् ।

प्रमाण नपुग्ने भएकाले महान्यायाधिवक्ताले उक्त निर्णय गरेको र त्यसबारे जानकारी दिन आफूलाई निर्देशन दिएको उनको भनाइ छ।

महान्यायाधिवक्ताले केही आधारहरू लिएर लामिछानेलाई मुद्दा चलाउन नमिल्ने निर्णय गरेका हुन्।

प्रवक्ता रेग्मीले भने, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट निर्णय भएर आएको थियो–मुद्दा नचलाउने प्रमाण पुग्दैन भनेर। सोही कुरा उच्च सरकारी वकिल कार्यालय पाटनबाट पनि आएको थियो।

र, प्रहरीले पनि अनुसन्धान प्रतिवेदनमा प्रमाण नपुग्ने भएकाले मुद्दा चलाउनुपर्दैन भन्ने उल्लेख गरेको थियो। तिनै आधारलाई टेकेर महान्यायाधिवक्ताज्यूले निर्णय गर्नुभएको हो, उनले भने ।

लामिछानेमाथि एकै पटक नेपाली र अमेरिकी राहदानी लिएको र दुवै राहदानी प्रयोग गरेको आरोप लागेको थियो।

उनीमाथि नेपाली नागरिकता त्याग्ने र अमेरिकी नागरिकता लिने एवं अमेरिकी नागरिकता त्यागेर फेरि नेपाली नागरिकता लिने प्रक्रियाहरू पूरा नगरेको विषयमा पनि छानबिन भएको थियो।

सर्वोच्च अदालतले उनले नागरिकता पुनः प्राप्ति गर्ने प्रक्रिया पूरा नगरेको निर्णय सुनाएपछि लामिछानेको सांसद र गृहमन्त्री पद गएको थियो।

उनले प्रक्रिया पूरा गरेर पुनः नागरिकता प्राप्त गरिसकेका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button