सरकारले चैत १० भित्र पूर्णता पाउने, कांग्रेस कसको नेतृत्वमा जाँदैछ सत्तामा ?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएसँगै आफूलाई समर्थन गर्ने दलहरूसँग शक्ति बाँडफाँटबारे छलफल अघि बढाउने भएका छन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले यस्तो बताएका हुन्।
अहिले पनि मन्त्रिमण्डलमा दलहरूको हिस्सेदारीबारे अनौपचारिक छलफल जारी छन्।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सामेल हुने निर्णय गरेको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका प्रवक्ताले पनि विश्वासको मत दिएपछि मात्र सत्ता साझेदारीबारे विस्तृत छलफल अघि बढ्ने जनाकारी दिए।
संसद्को चौथो ठूलो दलका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रचण्डलाई दिएको समर्थन कायम रहेको तर सरकारमा सहभागी हुने वा नहुनेबारे अहिले छलफल नभएको जनाएको छ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हरिबोल गजुरेलले गृह र अर्थमध्ये एक मन्त्रालय प्रधानमन्त्री भएकै दलले लिनुपर्ने माओवादीको अडान रहेको बताएका छन्
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा माओवादी नेता हरिबोल गजुरेलले विश्वासको मत लिएपछि संविधानले तोकेको मापदण्डभित्र रहेर मन्त्रिमण्डलको गठन हुने बताए।
बीबीसीसँग कुराकानी गर्दै उनले भनेका छन्, संविधानको परिधिभित्र रही हामी साझेदार दलहरूसँग पनि कुराकानी गरेर सोही बमोजिम मन्त्रिपरिषद्को गठन गर्छौँ।
उनले विश्वासको मत लिएपछि मात्र सत्ता साझेदारीबारे विस्तृत र औपचारिक छलफल अघि बढ्ने बताए।
गजुरेलले भने, अहिले अनौपचारिक छलफलहरू मात्र भइरहेका छन्। विश्वासको मत प्राप्त गरेपछि औपचारिक र घनीभूत छलफल हुनेछन् र त्यसैअनुसार मन्त्रिमण्डल गठन हुन्छ। हामीले संविधानले दिएको सीमाभन्दा बढी जाने भन्ने हुँदैन। त्यसैभित्र हुन्छ।
उनका भनाइमा चैत १० गतेभित्रसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाइसक्नेछ।
गजुरेलका अनुसार सत्ताको नेतृत्व गर्ने दलले नै गृह र अर्थमध्ये एक मन्त्रालय लिनुपर्छ भन्ने माओवादीले ठानेको छ।
उनले भने, गृह र अर्थ मन्त्रालयमध्ये एउटा चाहिँ प्रधानमन्त्री जो हुन्छ उसैको पार्टीको हुँदा सहज हुने रहेछ। पहिले विशेष कारणले भएन तर अहिले चाहिँ त्यस्तो हुँदैन। त्यसले सरकार सञ्चालनमा असहजता उत्पन्न हुने रहेछ।
उनले साझेदार दलहरूसँगको छलफलमा माओवादीको त्यो अडान कायम रहने सङ्केत गरे।
उनले आलोपालो प्रधानमन्त्री हुने क्रममा अब नेपाली कांग्रेसले नै प्रधानमन्त्री पाउने हो वा होइन भन्नेबारे छलफल हुन बाँकी रहेको बताए।
गजुरेलले भने, अब कांग्रेसले राष्ट्रपति पाइसकेको अवस्थामा कसरी जाने भन्ने छलफल जारी छ। माधव नेपालजी पनि हुनुहुन्छ।
उनका दाबीमा अहिलेको गठबन्धन पाँच वर्षसम्म टिक्नेछ। त्यसका लागि आलोपालोलगायतका विषयमा थप छलफलहरू हुनेछन्। उनले एमालेसँग सत्ता साझेदारीबारे अहिले छलफल नभएको बताए।
यता, नेता पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा जाने भएको भन्ने विवरण पनि सार्वजनिक भएका छन्।
तर नेता प्रकाशशरण महतले अहिले नै कसको नेतृत्वमा सरकारमा जाने तय भइनसकेको बताए।
सत्ताको नेतृत्व गरिरहेको संसद्को तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले अहिले १६ वटा मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालिरहेका छन्।
आम निर्वाचनपछि पुरानो गठबन्धन छाडेर नेकपा एमालेको साथ लिइ प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति चुनावमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेसँगै एमालेले उनलाई दिएको समर्थन फिर्ता लिएको थियो।
त्यसअघि नै आफ्नो दलका अध्यक्ष रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको निर्णयका कारण सांसद र गृहमन्त्री पद गएसँगै उनको दलले राखेको अडान पूरा नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारबाट बाहिरिएको थियो। त्यस्तै राष्ट्रपति निर्वाचन पूर्व नयाँ समीकरण बनेसँगै राप्रपाले पनि सरकारबाट बाहिरिने निर्णय गरेको थियो।