खेल संसार

क्वालिफायरका लागि नेपाली क्रिकेट टोलीले गर्नुपर्ने पूर्वतयारी

Thrill Factory
Rungta Group

विश्वकप लिग २ को चारवर्षे चक्रको अन्त्यसँगै नेपालको अर्को गन्तव्यको पनि सुरुवात भइसकेको छ, त्यो हो – विश्वकप ग्लोबल क्वालिफायर।

विश्वकपमा पुग्ने अन्तिम ढोका अर्थात् यो सेमी विश्वकप प्रतिस्पर्धा हो । जहाँ नेपालले श्रीलङ्का, दक्षिण अफ्रिका, वेष्टइन्डिज वा आयरल्यान्डजस्ता टोलीको सामना गर्नुपर्नेछ। त्यसमा जिम्बाब्वे र नेदरल्यान्डस् त छँदैछन्।

जिम्बाब्वेमा हुने यो यात्राका लागि नेपालसँग जम्मा तीन महिनाको समय छ। यसै बीचमा टेष्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्न लायकको अब्बल खाले तयारी गर्नुपर्ने चुनौती नेपालसामू छ।

त्यसका लागि नेपाल क्रिकेट सङ्घले केही आवश्यकता पूरा गर्नुपर्ने क्रिकेट विज्ञहरू बताइरहेका छन्।

बलिङ प्रशिक्षक

बलिङ प्रशिक्षक नेपाली टीमको पहिलो आवश्यकता देखिन्छ।

नेपालका भारतीय प्रशिक्षक मोन्टी देशाईको विज्ञता ब्याटिङ प्रशिक्षणमा छ। त्यसको नमुना लिग २ मा नेपाली ब्याटिङमा भएको व्यापक सुधारमा देखियो।

तर जिम्बाब्वेको मौसम र पिचको अवस्था भने तीव्र गतिका बलरहरूलाई फाइदा पुग्ने खालको रहेको बताइन्छ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी आमिर अख्तर भन्छन्, जिम्बाब्वेको पिच बाउन्सी विकेटको छ। त्यहाँ बलहरू धेरै मुभ हुने सम्भावना छ। फेरि जुन महिनामा त्यहाँको मौसम चिसो हुन्छ। त्यस्तो अवस्थामा तेज गतिका बलर बढी हाबी हुनेछन्। त्यसैले टोलीमा बलिङ प्रशिक्षक जरुरी छ।

नेपाली तेज बलरहरू सोमपाल कामी, करण केसी, गुलशन झाहरूको भूमिका त्यहाँ महत्वपूर्ण हुन सक्ने ठानिएको छ।

एकदिवसीय प्रतिस्पर्धामा नेपालले निकै तेज गतिको बलको सामना गर्नु परेको छैन। टेष्ट राष्ट्रका तेज बलरहरूलाई झेल्नु नेपाली ब्याटरका लागि मुख्य चुनौती हुने पक्का छ।

सशक्त प्रतिद्धन्दी आवश्यक

तीन महिनाको बीचमा नेपालले ठूला टेष्ट राष्ट्रहरूसँग अन्तरदेशीय श्रृङ्खला खेल्नु जिम्बाब्वे पुग्नु अगाडि गर्नुपर्ने अर्को तयारी हो।

अब ठूलो खेलका लागि ठूलै सोच र ठूलै तयारी गर्न नेपाल क्रिकेट सङ्घ पछि पर्नुपर्ने अवस्था नरहेको कतिपयको भनाइ छ।

नेपाल विश्वकप क्वालिफायरमा पुगेपछिको पोष्ट म्याच प्रेस कन्फ्रेन्समा प्रशिक्षक मोन्टी देशाईले त्यसतर्फ सङ्केत पनि गरेका थिए।

उनले भनेका थिए, अब छिमेकी देशले पनि नेपाली क्रिकेटलाई सहयोग गर्नुपर्छ। सहकार्य जरुरी छ। अन्तरदेशीय सिरिज नेपाललाई आवश्यक छ।

क्वालिफायरमा खेल्ने अन्य राष्ट्रहरू पनि श्रृङ्खला खेल्न व्यस्त भइसकेका छन्। भर्खरै मात्र नेदरल्यन्डस्‌ले दक्षिण अफ्रिकासँग खेलेको थियो।

लिग २ कै तयारीको क्रममा युएईले अफगानिस्तानसँग खेलेर आएको थियो। त्यस्तै स्कटल्यान्डले इङ्ल्यान्डसँग खेल्ने तय भइसकेको छ।

पूर्व राष्ट्रिय खेलाडी दीपेन्द्र चौधरी भन्छन्, बाङ्ग्लादेश, पाकिस्तान, अफगानिस्तानजस्ता छिमेकी राष्ट्रसँग खेल्न पाए नेपालको तयारीमा राम्रो बल पुग्नेछ।

एसीसी प्रिमियर कपको आयोजना

यसैबीच नेपालमा एसीसी प्रिमियर कप क्रिकेटको आयोजना हुँदैछ। काठमाडौंमा आगामी वैशाख ११ गतेदेखि २५ गतेसम्म हुने प्रतियोगितामा १० टोली छन्।

त्यसमा नेपालको समुहमा यूएई, कुवेत, साउदी अरेबिया र कतार छन्। अर्को समूहमा ओमान, बाहरेन, मलेशिया, सिङ्गापुर र हङ्कङ छन्।

विजेता टोलीले एशिया कपमा बाङ्ग्लादेश र अफगानिस्तान रहेको समूहमा प्रतिस्पर्धा गर्नेछ। अर्को समूहमा भारत, पाकिस्तान र श्रीलङ्का छन्।

प्रिमियर कपको विजेता एशिया कपमा छनोट हुने भएकोले उक्त प्रतियोगिता त्यतिकै महत्वपूर्ण देखिन्छ। प्रिमियर कपले नेपाली टोलीलाई व्यस्त बनाए पनि त्यो विश्वकप क्वालिफायरका लागि कमै मात्र उपयोगी हुने ठानिएको छ।

सशक्त प्रतिद्धन्दी नभएका कारण सो प्रतिस्पर्धा क्वालिफायरका लागि खासै मद्दत पुर्‍याउने खालको नहुनसक्छ।

इङ्ल्यान्ड जानु उपयुक्त

त्यसैले जिम्बाब्वे पुग्नु अगाडि इङ्ल्यान्डमा गएर तयारी गर्न सके त्यो निकै उपयुक्त हुने पूर्व राष्ट्रिय खेलाडी अख्तर बताउँछन्।

वैशाखको अन्तिम साता प्रिमियर कप सकिएपछि नेपालसँग तयारीका लागि एक महिना रहनेछ। त्यतिबेला इङ्ल्यान्डको काउन्टी टिमसँग कम्तीमा पाँचवटा खेल खेल्दा राम्रो हुने बताउँदै पूर्व खेलाडी अख्तर भन्छन्, जेठमा नेपालमा गर्मी नै हुन्छ।

तर इङ्ल्यान्ड र जिम्बाब्वेको मौसम मिल्दोजुल्दो हुनेछ र पिचको अवस्था पनि। यसले नेपाली टोलीलाई अभ्यस्त हुन सहयोग पुर्‍याउनेछ र जिम्बाब्वेमा खेल्न सजिलो हुनेछ।

सङ्घको तयारी

नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले एसीसी प्रिमियर कपको तयारीमा व्यस्त भइसकेको छ।

नेपालले १० वर्षपछि एसियाली क्रिकेट काउन्सिल (एसीसी) को प्रतिस्पर्धा आयोजना गर्ने मौका पाएकाले आयोजक क्यानका लागि यसको महत्व बेग्लै छ।

विश्वकप क्वालिफायरका लागि पनि योजना बन्ने क्रममा रहेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठक बताउँछन्।

उनले भने, अहिले प्रशिक्षक देशाई १० दिनका लागि छुट्टीमा जानु भएको छ। उहाँ आएपछि यस विषयमा छलफल हुनेछ। हामीले थुप्रै योजनाबारे सोचिरहेका छौँ।

लिग २ का लागि एक महिना व्यस्त भएपछि देशाई थकाइ मार्न भारत गएका हुन्। तर उनले नेपाल क्वालिफायरमा पुग्नासाथ भनिसकेका छन्, ूअब हामी केही नयाँ रणनीतिका साथ आउनेछौँ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button