अन्तराष्ट्रिय
मंगोलियामा खराब मौसमका कारण मरे ६ लाख पशु

मंगोलियामा यस वर्ष खराब मौसमका कारण हालसम्म कूल ५ लाख ६७ हजार पशु मरेका छन्।



मरेका जनावरको संख्या गत वर्षको सोही अवधिको तुलनामा झण्डै १० प्रतिशतले बढी छ। मरेका जनावरमध्ये ८५ प्रतिशत बाख्रा र भेडा रहेको तथ्यांक विभागले जनाएको छ।



यहाँको कुल भूभागको करिब ७० प्रतिशतसम्म हिउँ परेको छ। चारैतिर अत्यन्त चिसो अनुभव गरिएको मौसम विज्ञान तथा वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले उल्लेख गरेको छ।



पूर्वका खेन्टी र सुखबाटार, मध्यपश्चिममा अर्खाङगाई तथा पश्चिमका खोभड र युभ्समा सबैभन्दा बढी जनावर मरेका छन्। एनएसओका अनुसार मंगोलियामा सन् २०२२ को अन्त्यमा ७१.१ मिलियन पशुहरू थिए।
भूपरिवेष्ठित देशको खानीमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्न पशुपालनको प्रबर्द्धनलाई सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ।