स्वीट मार्ट उद्योगमा छापा प्रकरण : प्रहरीले भेट्टाएन प्रमाण, प्रहरीको नाक जोगाउन राजस्वको छापा
वीरगञ्जको एउटा चुइगम उत्पादन गर्ने उद्योगमा प्रहरीले मारेको छापा विवादित बनेको छ ।
राजस्व चुहावटको सूचनाका आधारमा छापा मारिएको प्रहरीले बताए पनि चुहावटसम्बन्धी अनुसन्धान गर्ने निकायले प्रहरीले प्रक्रिया नपु¥याई छापा मारेको बताएको छ ।
प्रहरीको सूचनाले दाबी गरेअनुसारको कैफियत नभेटिएपछि वीरगञ्ज आदर्शनगरस्थित स्वीट मार्ट फुड इण्डष्ट्रीजमा राजस्व अनुसन्धान प्रवेश गरेको छ । तर, अनुसन्धान प्रहरीको नाक जोगाउन दबाबमूलक आग्रहमा आएको घटनाक्रम र तथ्यहरुले देखाउँछन् ।
हरौं घटनाक्रम र तथ्यहरु :
गत फागुन २५ गते, उद्योग र व्यापारिक प्रतिष्ठानहरूमा होली पर्वको ‘ह्याङ’ सकिएको थिएन । वीरगञ्ज महानगनरपलिका–१०, आदर्शनगरस्थित स्वीट मार्ट फुड इन्डष्ट्रिजमा कामदार कर्मचारीको उपस्थिति पातलै थियो ।
चुइगम बनाउने यो उद्योगमा केही कर्मचारीहरू नियमित सरसफाइमा लागेका थिए, होलीमा बन्द भएको उद्योग सञ्चालनको तरखर हुँदै थियो । यत्तिकैमा उद्योगको मूल ढोकामा एक हुल प्रहरी लिएर हुइँकिँदै आएको प्रहरीको गाडी रोकियो ।
प्रहरीको नेतृत्व गरेका थिए, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विदुर सिवाकोटीले । उनले उद्योगका सुरक्षागार्डलाई ढोका खोल्न आदेश दिएसँगै प्रहरी उद्योग परिसरमा प्रवेश गर्यो । ‘भन्सार राजस्व छलेको सूचना’मा छापा मार्न आएको ‘मौखिक’ जानकारी प्रहरीले दियो । छापा टोलीले उद्योगमा सिल गर्यो ।
प्रहरीले ३ दिन अनुसन्धान गरेपछि उद्योगले राजस्व छलेको कुनै प्रमाण फेला पार्न सकेन । प्रहरीको पहरामा राखिएको उद्योगमा २८ गते स्वयम् प्रहरी नै आएर सिल खोलिदियो । प्रहरी प्रशासन, उद्योग सञ्चालक र स्थानीय जनप्रतिनिधिको रोहवरमा सिल खोलिएको थियो ।
भोलिपल्ट उद्योग चलाउने तयारी भइरहेकै थियो, राजस्व अनुसन्धान कार्यालय पथलैयाका अनुसन्धान अधिकृत प्रकाश नेपाल छापामार टोली लिएर उद्योगमा आइपुगे । सामान्यतः राजस्व अनुसन्धानको टोलीसँग सशस्त्र प्रहरी आउने गर्दछ । यो टोलीमा प्रहरी छापाको नेतृत्व गरेका प्रहरी निरीक्षक सिवाकोटी पनि मिसिएका थिए ।
उद्योगको खानतलासी गर्न दिनेबारे प्रमुख अनुसन्धान अधिकृत तेजनारायण यादवको पत्र सञ्चालकलाई थमाएर छापा टोलीले उद्योगको खरीद तथा विक्री खाता, बिल, उत्पादन र कच्चा पदार्थको नमूना लिएर गएको छ ।
उद्योगले भित्र्याएको कच्चा पदार्थ र गम भित्र्याउँदा ‘दरबन्दी फरक पारेर कम भन्सार राजस्व तिरेको सूचना’का आधारमा प्रहरीले छापा मारेको थियो । वीरगञ्ज भन्सारबाट रेड लेनमा जाँचपास भएको सो कच्चा पदार्थ र कागजातमा कैफियत फेला पार्न नसकेपछि प्रहरीले सिल खोलिदियो ।
त्यसको भोलिपल्टै प्रहरीको सूचनाका आधारमा राजस्व अनुसन्धानको टोली पठाइएको अनुसन्धानका अधिकारीले बताए । प्रहरीको आग्रहमा उद्योगको कागजात नियन्त्रणमा लिइएको छापामारीमा खटिएका एक अधिकृतले बताए ।
शुरूमा अनुसन्धानलाई जानकारी नै नदिई प्रहरी छापा मार्न पुगेको थियो । पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाह राजस्व चुहावटसम्बन्धी अनुसन्धान गर्ने निकाय राजस्व अनुसन्धान भएकाले राजस्वले अनुसन्धान गरिरहेको बताउँछन् ।
‘कागजात देखाएपछि भन्सारमा बुझ्नु परेन । त्यसपछि राजस्वलाई बुझाउने कुरा भयो । प्रहरी र राजस्व अनुसन्धानको समन्वयमा अनुसन्धान भइरहेको छ,’ एसपी शाहले भने । अब कैफियत भए/नभएको टुंगो लगाउने काम राजस्व अनुसन्धानको भएको पनि उनले बताए ।
राजस्व अनुसन्धानका अधिकारी भने राजस्व अनुसन्धान र प्रहरी संयुक्त रुपमा छापामा जानुपर्नेमा प्रहरी पहिला पुगेर प्रक्रिया बिगारेको बताउँछन् । ‘प्रहरी पुगेर पहिला ताला लगाएछ । समस्या भएपछि हामीलाई भन्यो,’ ती अधिकारीले भने ।
उद्योगले फरक दरबन्दी घोषणा गरेर भन्सारमा कम राजस्व तिरेको आशंका प्रहरीको थियो । उद्योगले ४ दशमलव ७५ प्रतिशत भन्सार महशुल र १३ प्रतिशत मूल्यअभिवृद्धि कर तिरेर सो कच्चा पदार्थ भित्र्याएको भन्सारको प्रज्ञापनपत्रमा देखिन्छ ।
भन्सारबाट रेड लेनमा जाँचपास भएको सो कच्चा पदार्थ अन्य उद्योगहरूले पनि सोही दरमा जाँचपास गराउँदै आएको र त्यसमा कुनै प्रकारको राजस्व छली नभएको दाबी उद्योग सञ्चालक निरन्जन अग्रवालको छ ।
रेड लेनमा भित्रिनेमा भन्सारले कागजातदेखि वस्तुको भौतिक परीक्षण गरेरमात्र जाँचपास हुने भएकाले चुहावट हुन नसक्ने उनले बताए ।
भन्सारमा ग्रिन, एलो र रेड लेनमा जाँचपास हुन्छ । ग्रिन र एलोमा आयातकर्ताको स्वघोषणाको आधारमा आवश्यकताअनुसार कागजात मात्र चेकजाँच हुन्छ । रेडमा कागजपत्रसँगै मालसामान भौतिक रूपमै परीक्षण गरेर जाँचपास गरिन्छ । यस्तो जाँचपासमा कैफियत भेटिएमा भन्सार कर्मचारी पनि कारवाहीको भागिदार बन्नुपर्दछ ।
४ वर्षअघि समेत प्रहरीले प्रतिलिपी अधिकार उल्लंघनको अभियोगमा आफूलाई मुद्दा लगाएकोमा अदालतबाट सफाई पाएको अग्रवालले बताए । ‘मैलै कुनै प्रकारको राजस्व छलेको छैन । वीरगञ्जमै मैले जसरी नै आयात गर्ने ३ ओटा अरू उद्योग छन् । तर, प्रहरीले बारम्बार मलाई हतोत्साहित गर्ने काम गरेको छ,’ उनले गुनासो गरे ।
चुइगम उत्पादन गर्ने ८ मध्ये वीरगञ्जमा ३ ओटा सञ्चालनमा छन् । सबै उद्योगले एकै प्रक्रिया र भन्सार दरमा कच्चा पदार्थ आयात गरिरहेको अग्रवालले बताए । राजस्व अनुसन्धानले कच्चा पदार्थको दरबन्दी विश्लेषण हुने बताएको छ ।
अनुसन्धान अधिकृत तोक्ने प्रक्रिया अघि बढाएकाले अनुसन्धान अधिकृत तोकिएपछि थप अनुसन्धान हुने नेपालले जानकारी दिए । उद्योगबाट लिइएको कच्चा पदार्थको नमूनालाई परीक्षणका लागि भन्सार विभागमा पठाइने पनि उनले बताए ।