खेल संसार

यूएईलाई डीएलबाट पराजित गर्दै नेपालले गर्‍ यो विश्वकप छनौटमा स्थान सुनिश्चित, के हो डीएल प्रणाली ?

Thrill Factory
Rungta Group

एउटा रोमाञ्चक खेलमा यूएईलाई छोटकरीमा डीएल भनिने प्रणालीबाट ९ रनले पराजित गर्दै नेपालले जिम्बाब्वेमा हुने विश्वकप छनौटका लागि आफ्नो स्थान सुनिश्चित गरेको छ।

सामान्यतया खेल खराब प्रकाश वा वर्षा वा अन्य कुनै कारणले अवरुद्ध भएमा डीएल प्रणालीको प्रयोग गरेर नतिजा निकाल्ने वा लक्ष्य पुनर्निर्धारण गर्ने अभ्यास छ।

त्यस्तो बेला खेलिएको ओभर, बनाएको रन अनि झरेका विकेटहरूको हिसाब उक्त प्रणालीबाट निकालेर नतिजा घोषणा गरिन्छ ।

यो क्रिकेट खेल कुनै कारणले बीचमा नै अवरुद्ध हुने वा प्रभावित भएको अवस्थामा लक्ष्य पुनर्निर्णाधरण गर्ने एउटा विधि हो।

सन् १९९७ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले वर्षाबाट प्रभावित खेलहरूमा प्रतिस्पर्धी टोलीलाई दिइएको लक्ष्य पुन निर्धारण गर्न यो विधि सफलतापूर्वक परीक्षण गरेको थियो।

सन् १९९८ मा इङ्गल्यान्डको क्रिकेट काउन्सिल, जिम्बाब्वेको क्रिकेट युनिअन र न्यूजिल्यान्डले यसको प्रयोग गर्ने निर्णय लिएको क्रिकेटसम्बन्धी वेबसाइट क्रिकइन्फो डट कमले जनाएको छ।

आईसीसीले सबै खालका म्याचहरूमा डीएल विधिको प्रयोग गरिने जनाएको छ।

आईसीसीका अनुसार यदि कुनै म्याच सुरु भएपछि रोकिएको अवस्थामा म्याच सुरु हुँदा निर्धारण गरिएको ओभरबाट कुनै पनि टोलीले खेल्न बाँकी रहेको ओभर घटाइनेछ।

त्यसपछि आईसीसी डकवर्थ लेविस स्टर्न क्यालकुलेटरको पछिल्लो संस्करणको प्रयोग गरी लक्ष्य फेरि निर्धारण गरिनेछ।

आईसीसीका अनुसार खेल्न बाँकी ओभर र औसत रन रेटलाई मात्रै ध्यान दिएर कुनै पनि खेलको लक्ष्यलाई पुनर्निर्धारण गरिँदैन।

उसको वेबसाइटमा राखिएको जानकारी पुस्तिकामा दुवै पक्षका सापेक्षित रन स्कोर गर्ने सामर्थ्यलाई ध्यान दिइने उल्लेख छ।

आईसीसीका अनुसार खेल अवरुद्ध वा त्यसपछि शुरू भएको समयमा कति ओभर बाँकी थियो र कति विकेट खसेका थिए भन्ने कुरालाई पनि ध्यान दिइन्छ।

सबै स्रोतको सम्भावित मूल्याङ्कन शुरूमा नै गरिएको हुन्छ र एउटा टेबल बनाइएको छ।

गणना प्राविधिक र जटिल हुने गर्छ। यसबारे आईसीसीले आफ्नो वेबसाइटमा जानकारीहरू पनि राखेको छ।

उसले बताए अनुसार खेल्ने अवस्था परिवर्तन भइरहेको छ भने यो विधिले पनि त्यसलाई ध्यान दिने कुरा सुनिश्चित गर्नुपर्छ।

आईसीसीको वेबसाइटमा राखिएको जानकारीअनुसार प्रत्येक वर्ष सूत्रका आधारहरूलाई पुनरवलोकन गर्ने गरिएको छ र स्कोरसम्बन्धी महत्त्वपूर्ण प्रवृत्तिहरूलाई ध्यान दिएर परिमार्जनहरू पनि गर्ने गरिएका छन्। औसतमा त्यस्तो परिवर्तन प्रत्येक दुईदेखि तीन वर्षमा हुने गरेको उसको भनाइ छ।
बिहीवारको खेलमा अम्प्यारहरूले खराब प्रकाशका कारण खेल अघि बढ्न नसक्ने घोषणा गर्दा नेपाललाई ३६ बलमा ४२ रन चाहिएको थियो। त्यतिबेला नेपाल यूएईभन्दा डीएलका आधारमा ९ रनले अघि थियो।

जितसँगै नेपालले २ अङ्क प्राप्त गर्‍यो र आईसीसी विश्वकप लीग २ मा ३९ अङ्कसहित तेस्रो स्थानमा रहेको नामिबियालाई पछि पार्दै विश्वकप छनोटका लागि यात्रा तय गर्न सफल भयो।

उक्त लीग खेलिरहेका सात टोलीमध्ये अङ्क तालिकामा पहिलो र दोस्रो स्थानमा रहेका स्कटल्यान्ड र ‌ओमान यसअघि नै विश्वकप छनौट प्रतिस्पर्धाका लागि चयन भइसकेका छन्।

नेपालले यूएईसँग बिहीबार खेलेको लीग २ अन्तर्गतको खेलमा ३११ रनको विशाल लक्ष्य पाएको थियो।

जिम्बाब्वेसम्मको विश्वकप छनौटको यात्रा तय गर्न नेपाललाई उक्त खेल जितेर सो लीगको अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिनु आवश्यक थियो।

उक्त विशाल लक्ष्य पछ्याइरहेको नेपाली टोलीका मध्यक्रमका ब्याटरहरूले टिकेर खेलिरहँदा कतिपय अवस्थामा यूएईको टोलीका बलरहरूले खेललाई केही ढिलो पार्ने प्रयास गरेको समेत ठानिएको थियो।

साँझ हुन लागिसकेको थियो र खेलका उद्घोषकहरूले उक्त म्याच ४० मिनेट ढिलासम्म चलिसकेको टिप्पणी प्रत्यक्ष प्रसारणमा गरिरहेका थिए।

यस्तोमा मैदानमा खराब प्रकाश देखाउँदै अम्पायरहरूले ४४ ओभरमा नै खेल समाप्त गरिदिए।

त्यो बेला नेपालले ६ विकेट गुमाएर २६९ रन बनाएको थियो।

डकवर्थ लेविस प्रणालीमा यूएईले ५० ओभर खेलेर ६ विकेट गुमाउँदै बनाएको ३१० रनलाई नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर जोडेको रनको अवस्थासँग तुलना गरिएको थियो।

उक्त प्रणालीअन्तर्गत नेपालले ४४ ओभरमा पाएको पुनर्निर्धारित लक्ष्य २६० रन थियो। त्यही भएर नेपालले उक्त प्रतिस्पर्धात्मक खेल ९ रनले जितेको भनिएको हो।

खेल सम्पन्न भएपछि प्रतिक्रिया दिँदै नेपालका कप्तान रोहित पौडेलले आफूहरूले डीएल प्रणालीबाट फेरि निर्धारण हुन सक्ने लक्ष्यतर्फ पनि ध्यान दिन क्रिजमा रहेका ब्याटरहरूलाई सन्देश पठाएको जानकारी दिएका थिए।

यूएईका कप्तान मोहम्मद वसीमले ४२ औँ ओभरमा बलिङ गर्दा नेपालले २० रन लिएपछि नेपाल डीएल लक्ष्य भेट्टाउने अवस्थामा पुगेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button