No Image Headlineअन्तराष्ट्रिययस्तो पनि

उडिरहेको विमानको ककपिटमा कपी र कुकिज भेटिएपछि…

Thrill Factory
Rungta Group

भारतमा एउटा निजी वायुसेवाले उडानको क्रममा कफी र मिठाई खाएको आरोपमा आफ्ना दुईजना पाइलटलाई उडान गर्नबाट अस्थायी रूपमा रोक लगाएको छ।

स्पाइस जेट विमानको नियन्त्रण कक्ष ककपिटभित्र एउटा बिर्को नलगाएको कपसहितको तस्बिर यसै साताको सुरुमा भाइरल भएको थियो।

समाचार विवरणहरूमा तस्बिर खिचिएको समयमा उक्त उडान ३७ हजार फिट उचाइमा रहेको जनाइएको छ।

उक्त तस्बिरले आक्रोश निम्त्याएसँगै भारतको उडानसम्बन्धी नियामक निकायले सो एअरलाइन्सलाई चेतावनी दिएको थियो।

घटना के हो

स्पाइस जेटले बुधवार उक्त विषयलाई आफूले हेरिरहेको भन्दै उक्त तस्बिर खिचेको आरोप लागेका दुईजना पाइलटलाई काम गर्न रोक लगाइएको जनाएको छ।

द टाइम्स अफ इन्डिया समाचार पत्रलाई उक्त वायुसेवाका प्रवक्ताले भनेका छन्, अनुसन्धान पूरा भएपछि उनीहरूविरुद्ध उपयुक्त अनुशासनको कारबाही गरिने छ।

भारतको उड्डयनसम्बन्धी नियमहरूले विमान चालक र चालक दलका सदस्यहरूलाई ककपिटभित्र कडा नियमहरूको पालना गरेर खाना र पेय पदार्थ खान मिल्ने व्यवस्था गरेको छ।

उदाहरणका लागि सबै कपहरू ढाकिएको हुनुपर्छ र नपोखियोस् भनेर सुनिश्चित गर्न ट्रेमा राख्नुपर्छ।

पछिल्लो घटना नयाँ दिल्लीबाट उत्तरपूर्वी शहर गुवाहटीमा मार्च ८ मा उडिरहेको विमानमा भएको बताइएको छ। सो दिन हिन्दूहरूको होली पर्व मनाइएको थियो।

तस्बिरमा विमानको लोगोसहितको नढाकिएको कफीको कप जोखिमपूर्ण ढङ्गले विमान स्टार्ट गर्ने लिभरमा राखिएको देखिन्छ। पाइलटहरू तस्बिरमा नदेखिएको भए पनि उक्त फोटोमा होलीको समयमा खाने गरिएको गुजिया मिठाइ देख्न सकिन्छ।

उक्त पोस्ट भाइरल भएको थियो र मानिसहरूले पाइलटहरूलाई लापरबाहीपूर्ण व्यवहार देखाएको भन्दै आलोचना गरेका थिए।

ट्विटरमा सबैभन्दा पहिला उक्त तस्बिर सार्वजनिक गरेका उड्डयन विज्ञ मोहन रङ्गनाथनले भने, “सामान्य रूपमा बिमान हल्लिने अवस्थामा पनि कफी विद्युतीय ९उपकरण० मा पोखिन्छ, त्यसले प्रणाली बिगार्नसक्छ। यो अपराधिक गतिविधि हो।”

मङ्गलवार भारतको उड्डयनसम्बन्धी नियामक निकाय द डाइरेक्टोरेट जेनेरल अफ सिभिल एभिएशनले उक्त तस्बिरलाई जानकारीमा लिएको बताउँदै स्पाइसजेटलाई तत्कालै चालकदलका सदस्यको पहिचान गर्न आदेश दिएको थियो।

त्यसयता दुईजना विमान चालकलाई उडान गर्नबाट रोक लगाइएको छ। स्पाइसजेटका प्रवक्ताले द हिन्दू समाचारपत्रलाई उनीहरू वास्तविक घटनाक्रम पत्ता लगाउने प्रयास गरिरहेको जनाएका छन्।

“उक्त पोस्टबाट सो तस्बिर कहिले खिचिएको हो, त्यो नयाँ वा पुरानो हो, कुन क्षेत्रमा उडान गर्ने क्रममा खिचिएको हो वा चालक दल वा प्रश्न उठेको विमान कुन हो भन्ने प्रष्ट हुँदैन। हामी त्यो निश्चित गर्ने प्रयासमा छौँ,” उक्त वायुसेवाले भनेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button