राष्ट्रपतिले केके सुविधा पाउँछन् ? यस्तो छ व्यवस्था

बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिको हकमा पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ले राष्ट्राध्यक्षले कस्तो सेवा र सुविधा प्राप्त गर्छन् भन्नेबारे व्यवस्था गरेको छ।
ऐनले राष्ट्रपति र उपराष्ट्रपतिलाई मासिक पारिश्रमिकदेखि आवास, सवारी तथा इन्धन अनि सञ्चार सुविधाको व्यवस्था गरेको छ।



पौडेलले राष्ट्रपतिका रूपमा मासिक १,५०,४५० रुपैयाँ पारिश्रमिकका प्राप्त गर्नेछन्। त्यस्तै पोसाकका लागि वार्षिक २५,००० रुपैयाँ पाउने व्यवस्था उक्त ऐनले गरेको छ।



कानुनअनुसार राष्ट्रपति र उपराष्ट्रपतिलाई प्रत्येक महिना मासिक पारिश्रमिक बराबरको अतिरिक्त रकम पाउँछन्। यस्तो रकम अतिथि सत्कार तथा भइपरी खर्चबापत दिइने उल्लेख छ। त्यस्तो खर्चको बिल भरपाई पेस गर्नुपर्दैन।



ऐनले राष्ट्रपति र उपराष्ट्रपतिलाई दैनिक भत्ता अनि बीमाको पनि व्यवस्था पनि गरेको छ।
देशभित्रै भ्रमण गर्दा दुवैले ३,३०० रुपैयाँका दरले दैनिक भत्ता पाउँछन् भने विदेश भ्रमणका क्रममा दिनको २५० अमेरिकी डलर प्राप्त गर्छन्।
युरोपेली राष्ट्रहरू, अस्ट्रेलिया, न्यूजील्यान्ड, अमेरिका, क्यानडा, कुवेत, कोरिया, जापान, हङ्कङ, रुस, कतार, जाम्बिया, यूएई, सिङ्गापुर, लेवनान र बहराइनको भ्रमण गर्दा उक्त दरमा ३३ प्रतिशत थप रकम उपलब्ध गराइने कानुनी व्यवस्था छ।
चाडपर्व खर्चबापत उनीहरूले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार मनाइने चाडपर्वका लागि आफूले खाइपाइ आएको एक महिनाको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष प्राप्त गर्ने प्रावधान छ।
त्यस्तै राष्ट्रपतिको सचिवालयमा १९ जना कर्मचारीको व्यवस्था गरिएको हुन्छ। राष्ट्रपतिलाई एकजना प्रथम श्रेणीसरहका सहस्वकीय सचिव उपलब्ध गराइएको हुन्छ।
राष्ट्रपति र उपराष्ट्रपतिका लागि एक-एक निजी चिकित्सकको समेत व्यवस्था गरिएको हुन्छ।
उनीहरूको स्वदेशमा उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने अवस्थामा विदेशमा उपचार गराउँदा लागेको खर्च सरकारले बेहोर्ने व्यवस्था गरिएको छ।
अस्पतालमा भर्ना भएका बेला कुरुवा बसेबापत तीन जनासम्मको ‘मनासिब खर्च’ पनि सरकारले उपलब्ध गराउने व्यवस्था छ।