No Image Headlineदेशमुख्य खबरविशेष

नेपालको तेस्रो राष्ट्रपति रामचन्द्र पौडेल : कति सफल, कति ‘विचलन’ ?

 

नेपालको तेस्रो राष्ट्रपतिका रूपमा नेता रामचन्द्र पौडेलले सोमवार दिउँसो पदभार ग्रहण गरेका छन्। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै आगामी पाँच वर्षका लागि राष्ट्रपतिको कार्यकाल औपचारिक रूपमा सुरु भएको हो।

पौडेल फागुन २५ गते भएको चुनावबाट राष्ट्रपति निर्वाचित भएका थिए। उनी नेपालको राष्ट्रपति बन्ने तेस्रा व्यक्ति हुन्। नेपालका लागि यो चौथो राष्ट्रपतीय कार्यकाल हो।

रामवरण यादवपछि नेपालकी दोस्री राष्ट्रपति बनेकी विद्या भण्डारी नयाँ संविधान जारी भएपछि पुनः राष्ट्रपति निर्वाचित भएकी थिइन्।

गत साता प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम रामचन्द्र पौडेल नयाँ राष्ट्रपति पदमा निर्वाचित भएको प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेस गरेका थिए।

नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल नयाँ राष्ट्रपति चुनिएका हुन्।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गतेदेखि सकिएको थियो।

कस्ता छन् चुनौती ?

नेपाली कांग्रेसको सभापतिमा उम्मेदवारी दिएपछि शेरबहादुर देउवा २०७८ साल मङ्सिर २५ गते साँझ रामचन्द्र पौडेलको निवास पुगे।

देउवा इतर आफ्नै खेमाले सभापतिमा सर्वसम्मत उम्मेदवार नबनाएपछि आफू महाधिवेशनबाट अलग भएको पौडेलले घोषणा गरेका थिए।

पौडेलले बताए अनुसार शनिवारको त्यो साँझ देउवाले उनलाई भनेका थिए, “राष्ट्रलाई तपाईँको खाँचो छ, स्वास्थ्य राम्रो राख्नु होला।”

पार्टी महाधिवेशनमा मत समेत नहालेका उनी आम चुनावबाट सांसद बने। त्यसपछि प्रधानमन्त्री बन्ने आकाङ्क्षा देखाए।

उनले भनेका थिए, “मलाई देउवाजीले त्यो बेला भन्नुभएको समय आएको छ जस्तो लाग्छ। उहाँले मलाई समर्थन गर्ने विश्वास छ।”

नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बने पनि पौडेल त के देउवा नै प्रधानमन्त्री बनेनन्। पहिलो चरणमा प्रधानमन्त्री ‘देउवा कि प्रचण्ड बन्ने’ विवादले गठबन्धन टुक्रियो।

प्रचण्ड प्रधानमन्त्री बन्दा आफू राष्ट्रपति बन्ने निश्चित देखेका पौडेल हातबाट सबै गुमेको भन्दै पीडा बोध प्रकट गर्थे। तर त्यो लामो रहेन।

उमेरले देउवाभन्दा जेठा पौडेललाई देउवाको राजनीतिक चातुर्यका कारण करिब करिब गुमिसकेको राष्ट्रपति बन्ने अवसर प्राप्त भएको छ।

प्रचण्डसँगको सहमतिमा त्यसो गरिएको र कतिपयले त त्यसमा छिमेकी अग्रसरता र मध्यस्थताको चर्चा पनि गर्छन्।

“प्रधानमन्त्री बन्दा म जति उत्साही हुन्थेँ, राष्ट्रपति हुँदा त्यही तहमा छैन”, पौडेल भन्छन्, “उमेर र सबै हिसाबले अन्तिम अवस्थामा राष्ट्रपतिमा पुग्नु सन्तोषकै विषय हो।” ‘अन्तिम अवस्था’ भन्ने शब्दले उनको त्यसलाई अन्तिम अवसर ठानेको बुझिन्छ।

कतिपयले लामो राजनीतिक यात्रामा तुलनात्मक रूपले ‘असल नेताको हातमा राष्ट्राध्यक्षको जिम्मेवारी पुगेको’ र ‘इमानमा अडेका’ पौडेलमाथि ‘न्याय’ भएको टिप्पणी गरेको पाइन्छ।

राष्ट्रपति निर्वाचित भएपछि पौडेल शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपालप्रति बढी आभारी बन्नुलाई कैयौँले स्वाभाविक मानेका छन्।

किनकि ती तीन नेतामध्ये एक जनाले पनि साथ नदिएको भए उनी राष्ट्रपति बन्न त्यति सहज हुने देखिँदैनथ्यो।

त्यो कृतज्ञता दर्शाउन हुनसक्छ, निर्वाचन परिणाम लगत्तै उनी नेताहरूको निवास निवास पुगे।

प्रधानमन्त्रीको सरकारी निवासमा त दुई खुड्किलो तल उभिएका पौडेललाई दुई खुड्किलोमाथि उभिएर प्रचण्डले माला लगाइदिएको देखियो।

कतिपयले त्यसलाई उनको सरलता ठान्दा कतिपयले त्यसबाट कृतज्ञभन्दा पनि कृपापात्र बनेको सन्देश प्रवाह भएको मानेका छन्। पार्टी कार्यकर्तालाई सन्दर्भ सामान्य लागेपनि त्यसले पौडेलको मनोदशा दर्शाएको ठानिएको छ।

सन्तुलन, उदारता र अभिभावकीय अभिलासा देखाएको मानिन सक्थ्यो तर प्रमुख मुख्य विपक्षी दलका नेतालाई भेटेको खबर भने आएन।

सात वर्षअघि सुशील कोइरालाको निधनपछि पौडेलको काँधमा कांग्रेसको कार्यवाहक सभापतिको रूपमा परम्परागत कोइराला खेमाको अगुवाको विरासत पनि आइलाग्यो।

तर लगत्तै भएको महाधिवेशनमा उनी सभापतिमा देउवासँग परास्त भए। पार्टी जोगाउन देउवालाई विस्थापित गर्नै पर्ने भन्दै वरिष्ठताका आधारमा देउवा इतर खेमाका सबैले आफूलाई एक मतले उम्मेदवार बनाउनु पर्ने अपेक्षा उनको थियो।

गत वर्ष देउवाविरुद्ध तीन राजनीतिक परिवारका नेताहरू डा शेखर कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंह उम्मेदवार बने। तर दोस्रो चरणको मतदान हुँदा निधि र सिंहले त देउवालाई समर्थन गरे।

पौडेलले त मैदान मात्र छाडेनन् भोट पनि हालेनन्। महाधिवेशनसँगै देउवालाई विस्थापित गर्नुपर्ने लक्ष्य लिएको देउवा इतर खेमाको नेता बन्न पुगे शेखर कोइराला।

तर संसदीय दलको नेताको चुनावमा उक्त खेमाबाट गगन थापा उठ्दा पौडेल देउवाको समर्थक बसे। कारणबारे सोध्दा उनले ‘देउवालाई खुसी पारेरै पार्टीलाई हुने क्षति कम गर्न सकिने ठानेर बाध्यतावश त्यसो गर्नु परेको’ आशय सुनाए।

महाधिवेशनबाट अलग हुने घोषणा गर्दा पौडेलले विज्ञप्तिमा लेखेका थिए, “पार्टी सत्ताको भर्‍याङमा सीमित नहोस् भनेर बीपी, गणेशमान र किशुनजीले आदर्श र मूल्यका लागि जीवनभर लड्नु भयो त्यो आज निरर्थक हुन लागेको पीडा बोध भइरहेछ। संसदीय विचलनबाट हाल लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको अवस्था छ।”

सङ्केत देउवातर्फ थियो। त्यो सात वर्ष अघिको कुरा थियो।

दुई महिनाअघि हेरौँ, देउवाले नदिने भएपछि प्रधानमन्त्री पाउन प्रचण्डले एमाले सहितका दलसँग नयाँ समीकरण बनाए। तत्कालीन सत्ता गठबन्धन टुटेको दोष पार्टी नेतृत्वलाई दिनेमा पौडेल पनि उभिए।

सबैभन्दा ठूलो दलको नेताको रूपमा नेतृत्व दाबी स्वाभाविक रहेको अडान लिन कोही अघि सरेको देखिएन।

देउवाले पुसको पहिलो साता प्रचण्डलाई ‘वचन दिएको’ भनियो। तर दुई नेताको गुप्त सत्ता लेनदेन पौडेलसहित अन्य नेतालाई पनि अस्वाभाविक लागेन।

प्रचण्डलाई सरकारको नेतृत्व दिँदा प्रधानमन्त्री त देउवाले मात्र गुमाउँथे। त्यसो नगर्दा पौडेल लगायतका नेताले सम्भावित अवसर गुमाए।

पुरानो गठबन्धन बिउँताउन भन्दै विपक्षमा पुगेको कांग्रेसले सरकारलाई विश्वासको मत दियो।

कतिपयले पुरानो दलको असंसदीय चरित्र भनी आलोचना गर्दा प्रतिरक्षामा पौडेल पनि उभिए।

विश्वासको मत दिन नहुने पक्षमा रहेका नेताहरूले समेत नयाँ राजनीतिक अवसर सदुपयोग गर्ने अग्रसरता देखाए। अन्ततः विश्वासको मत दिने ‘देउवा सूत्र’ बाट सुरु भएको नयाँ सहकार्यले पौडेललाई शीतल निवाससम्म पुर्‍यायो।

परिणामसँगै त्यो प्राप्तिको विधि र प्रक्रिया पनि जायज हुनुपर्ने कुरा महत्त्वहीन बन्दै गएको सन्दर्भमा कतिपयले यो गणितीय खेलको स्वाभाविक परिणाम ठान्ने गर्छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई २०७३ सालमा विस्थापित गर्दै प्रचण्डसँग सत्ता सहकार्य गरेका देउवाले पार्टीभित्र चर्को आलोचना हुँदा पनि २०७४ सालमा स्थानीय तहको चुनावमा माओवादीसँग तालमेल गरे। लगत्तै आम चुनावमा माओवादीले एमालेसँग गठबन्धन बनायो। कांग्रेस सानो आकारमा खुम्चियो।

चितवन पुगेर पौडेलले कार्यकर्तालाई उत्साहित तुल्याउँदै अबदेखि कांग्रेस कार्यकर्ताले रुखबाहेक अन्त भोट हाल्न नपर्ने घोषणा गरे।

तर जब नेकपा विभाजित बन्यो। ओलीको सत्ता बहिर्गमनपछि चुनावी गठबन्धन बनाउने निर्णयको जोडदार वकालत गर्नेमा पौडेल पनि देखिए।

सरकारले ‘जनयुद्ध दिवस’ मनाउने निर्णय गर्दा राष्ट्रपति चुनाव नजिक थियो, उनी मौन बस्न चाहे।

कतिपय जानकारहरू केन्द्रदेखि प्रदेशसम्म पाँच वर्षको स्थायी सरकार दिने सुनिश्चितता दिए चुनावी गठबन्धनको औचित्य साबित गर्ने आधार प्राप्त हुन्थ्यो भन्ने ठान्छन्।

तर नेतालाई व्यवस्थापन गर्न गठबन्धनभित्रबाटै तीन जनासम्म प्रधानमन्त्री बन्ने चर्चाबारे प्रश्न गर्दा उनले नीतिमा निरन्तरता भए प्रधानमन्त्री वा मन्त्री फेरिँदैमा असर नपुग्ने तर्क गरे।

करिब दुई दशकअघि गृहमन्त्री छँदा माओवादीको परमधाम निर्मल निवास ९ज्ञानेन्द्र शाहको निवास० भन्ने ठोकुवा गरेका पौडेललाई चितवनमा कार्यकर्तासामु गरेको वाचाबारे अनि पार्टीको पहिचानको पक्षमा वकालत गर्ने नेतामा पर्ने उनलाई चुनावअघि विपरीत धारको दलसँगको गठबन्धन लगायत विषयमा बीबीसीले विभिन्न समयमा प्रश्न गरेको थियो।

महाधिवेशनका बेलाको पौडेलको विज्ञप्ति भन्छ, “प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अङ्गालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा प्रतिस्पर्धाको मैदान छोड्नपर्ने अवस्थामा म पुगेँ।”

तर उनले दाबी गरेका विशेषतासँग विरोधाभासपूर्ण लाग्ने उनका चरणबद्ध अभिव्यक्ति, कदम र अडानबारे जिज्ञासा राख्दा पत्रकारहरूका निम्ति सहज रूपमा उपलब्ध हुने गरेका नेता पौडेलले संविधान र लोकतन्त्रमाथि खतराको जोखिम औँल्याउँदै ओलीतर्फ औँल्याउँदै त्रास देखाउँथे।

यत्रो वर्ष पछिसम्म पनि कुनै दल विशेषको नेताले मास्न सक्ने गणतन्त्र र पद्धति निर्माण गर्ने नेताहरू कसरी सफल मान्नेरु त्यो त्रासमा कहिलेसम्म बाँचिरहनु पर्नेरु प्रश्नहरू जीवित छन्।

तर सन्दर्भ फरक भए पनि राष्ट्रपतिमा निर्वाचित भएपछिको अन्तर्वार्तामा उनी इमानदार देखिएका छन्, “लामो राजनीतिक यात्रामा म सफल नेताचाहिँ होइन। विभिन्न परिस्थितिले मलाई पछाडि धकेल्ने काम इतिहासमा पटकपटक भयो।”

पार्टी सभापति र प्रधानमन्त्री हुने नदिइएको भन्ने सन्दर्भमा उनले त्यस्तो बताएका हुन्।

कतिपय आलोचकका भनाइमा विचार, नीति, निष्ठा र मूल्यमान्यताको कसीमा जाँचिने योग्य थोरै वरिष्ठ नेताहरूमा पर्ने पौडेल सुशील कोइरालाको अवसान लगत्तैको महाधिवेशनमा पराजित भएपछि आफ्नै मान्यताबाट धरमराउन थालेका हुन्। पछिल्लो महाधिवेशनपछि त त्यसलाई कुल्चिँदै अघि बढे र ध्यान परिणाममा मात्र केन्द्रित गरेको देखियो।

त्यसैले उनी देशकै अभिभावकको रूपमा आफूलाई उभ्याउन नसकी राजनीतिक मनमतका आधारमा चल्न विवश हुने त होइनन् भनी शङ्का व्यक्त गर्नेहरू पनि छन्। त्यसलाई गलत साबित गर्ने उनको परीक्षा आजैदेखि सुरु भएको छ।

तर ‘समकालीन राजनीतिक दौँतरीहरूमध्ये तुलनात्मक रूपमा स्वच्छ छविका र लामो राजनीतिक निरन्तरतामा अडिएका साधारण आचरणका एक पुराना नेता राष्ट्रपति बन्न काबिल थिए र बने’ भन्दै कैयौँले सन्तोष मानेको र खुसी बनेको पनि देखिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button