No Image Headlineदेशमुख्य खबरविशेष

रामचन्द्र पौडेल : कारावासदेखि शीतलनिवाससम्मको राजनीतिक यात्रा

Thrill Factory
Rungta Group
करिब आठ दशकअघि तनहुँको ग्रामीण बाहुनपोखरामा सामान्य परिवारमा जन्मिएका रामचन्द्र पौडेलले नेपालको तेस्रो राष्ट्रपति बन्ने सौभाग्य पाए।

लामो राजनीतिक विरासत बिताएका पौडेल यसअघि पनि देशको कार्यकारी पदका लागि कैयौँ पटक प्रतिस्पर्धा गरेर पनि सफल हुन सकेनन्। पाँच दशक लामो राजनीतिक जीवनमा पौडेल सभामुख र पटक पटक मन्त्री भइसकेका नेता हुन्।

पिता दुर्गाप्रसादमा पनि राजनीतिक चेतना भएका कारण पौडेलको झुकाव सानैबाट राजनीतितिर बढेको उनका बालसखा ८६ वर्षीय फणीन्द्रराज मिश्र बताउँछन्।

“बुबा आफू पनि पण्डित हुन्। उनलाई पनि शास्त्री पढाए। तर उनी पढ्दै जाँदा रामचन्द्र राजनीतिमा लागे। जेल पनि बसे,” मिश्र भन्छन्।

“खान लगाउन समस्या नभए पनि” पौडेलले राजनीति सुरु गरेपछि आर्थिक अवस्थासँग समेत सङ्घर्ष गर्नुपरेको उनी निकट रहेर राजनीति गर्नेहरू बताउँछन्।

रामचन्द्र पौडेल
गत असोजबाट ७८ वर्ष पूरा भएका पौडेलको राजनीतिक तथा निजी जीवन उतारचढावपूर्ण रहेको उनी निकटहरू बताउँछन्।  पन्ध्र वर्षको उमेरमै विद्यार्थी राजनीतिमा सक्रिय भएका पौडेलले २०१८ सालयता पटक पटक गरी करिब १४ वर्ष जेल जीवन बिताएका छन्।

तत्कालीन समयमा शिक्षित परिवारमा हुर्किएका पौडेल पढ्नका लागि सुरुमा पोखरा र पछि काठमाण्डूमा आएका थिए।

पोखरामा अध्ययन गर्दा सुरुमा पौडेलको झुकाव कम्युनिस्ट राजनीतिमा भएको उनी निकटहरू बताउँछन्। तर उनी कम्युनिस्ट राजनीतिमा आबद्ध चाहिँ भएनन्।

“पोखरामा त्यस बेला कम्युनिस्टहरूको प्रभाव थियो। त्यसको प्रभाव उहाँमा भए पनि कम्युनिस्ट नै भएको चाहिँ होइन,” पूर्वसांसद अमरराज कैनी भन्छन्।

संस्कृतमा शास्त्री र नेपालीमा स्नातकोत्तरसम्म अध्ययन गरेका पौडेलले कैयौँ पुस्तक समेत लेखेका छन्।

पौडेल यसअघि कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार बने पनि १७ पटकसम्म मतदान हुँदा पनि पराजित भएका थिए। राजनीतिक जीवनको उत्तरार्द्धमा गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बन्न पौडेललाई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले साथ दिए। तर पौडेल र देउवाबीच सहकार्य र अविश्वासको शृङ्खला धेरै लामो छ।

लामो समय कांग्रेस संस्थापक मध्येका नेता कृष्णप्रसाद भट्टराईसँग निकट रहेका पौडेलले सरकारमा जाने विषयमा मतान्तर भएपछि भट्टराईको साथ छाडे।

उनी गिरिजाप्रसाद कोइराला समूहसँग पनि निकट नभएका कारण स्वाभाविक रूपमा पार्टीमा फरक गुटको नेतृत्व गरिरहेका शेर बहादुर देउवासँग नजिक हुन पुगे।

विसं २०५९ सालमा देउवाको नेतृत्वमा नेपाली कांग्रेस विभाजन भयो। पार्टी विभाजन गर्ने अन्तिम तयारीसम्म पौडेल देउवाको साथमै थिए। तर देउवाले पार्टी घोषणा गर्नुभन्दा केही घण्टाअघि मात्रै पौडेलले देउवालाई साथ नदिने निर्णय लिएको तत्कालीन कांग्रेस प्रजातान्त्रिकका नेता कैनी बताउँछन्।

“उहाँले हामीलाई पनि प्रजातान्त्रिकमा जानुपर्छ भनेर मनाउनुभएको थियो। तर अन्तिम समयमा के भयो उहाँ पार्टी घोषणामा नआउने जानकारी दिनुभयो,” कैनी सम्झन्छन्।

नेपाली कांग्रेस पुन: एकीकरण भएपछि भने पौडेल कोइराला समूहसँग निकट भए र देउवासँग उनको राजनीति प्रतिस्पर्धात्मक बन्यो।

रामचन्द्र पौडेल

पौडेल २०४८ सालमा पहिलो पटक मन्त्री बनेका थिए, तस्बिर स्रोत,RAMCHANDRA PAUDEL/FB

पौडेलले पार्टीको १३औँ महाधिवेशनमा पार्टी सभापतिका लागि शेर बहादुर देउवासँगै प्रतिस्पर्धा गरे।

पौडेल देउवाबीचको रोचक प्रतिस्पर्धामा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणमा भएको मतदानमा देउवा निर्वाचित भए।

लगत्तै कांग्रेस संसदीय दलको निर्वाचनमा पनि पौडेलले देउवासँग प्रतिस्पर्धा गरे तर पराजित भए। देउवा र पौडेल नेतृत्वको गुट कांग्रेसको १४औँ महाधिवेशनसम्मै कायम रहिरह्यो।

तर गत वर्ष भएको पार्टीको १४औँ महाधिवेशनमा पौडेल तटस्थ रहँदा देउवा निर्वाचित भए। पौडेलले आफ्नै पुरानो गुटका उम्मेदवार शेखर कोइराला र प्रकाशमान सिंह दुवैलाई समर्थन नगर्दा गुटभित्र उनको आलोचना समेत भएको थियो।

पौडेल
प्रतिनिधिसभाको सभामुख र पटक पटक मन्त्री समेत भइसकेका रामचन्द्र पौडेल शान्ति समितिको संयोजक समेत भएका थिएविसं २०४८ सालमा पहिलो पटक सांसद बनेका पौडेल त्यसपछिका लगातार चार वटा निर्वाचनमा तनहुँबाट निर्वाचित भए। तर २०७४ को संसदीय निर्वाचनमा पौडेल पराजित हुनुमा तिक्ततापूर्ण सम्बन्ध भएका पार्टीका नेता गोविन्दराज जोशीलाई व्यवस्थापन गर्न नसक्नु पनि कारण रहेको नेताहरू बताउँछन्।

पौडेल २०४८ सालमा तनहुँ १ बाट निर्वाचित भएका थिए। पहिलो संसदीय निर्वाचनमा सफल भएपछि पौडेल स्थानीय विकासमन्त्री भए। उनी मन्त्री भएका समयमा संसद्‌मा उपस्थित भएका बेला राष्ट्रिय सभामा उनीमाथि गोल्छे सार्कीले हातपात गरेको बताइन्छ।

तर उनले त्यसपछि जिल्लाकै नेता जोशीसँग निर्वाचन क्षेत्र साटे। त्यस बेलासम्म राम्रो सम्बन्ध भएका दुवै नेताहरूबीचको सम्बन्ध त्यसपछि बिग्रियो।

“उहाँहरूको सम्बन्ध बिग्रनुको कारण आन्तरिक प्रतिस्पर्धा नै हो,” कैनी भन्छन्।

कांग्रेसको राजनीतिमा अधिकांश समय पौडेल कृष्णप्रसाद भट्टराई र देउवा समूह नजिक रहे भने जोशी कोइराला समूह नजिक रहे।पौडेलका आलोचकहरूले उनी लोभी भएको टिप्पणी गर्ने गरेका छन्।

तर पौडेलसँग करिब पाँच दशक सङ्गत गरेका कैनी उनी बाहिर टिप्पणी गर्ने गरिएको जस्तो लोभी नभएको बताउँछन्।

बरु आफ्ना सहकर्मीहरूलाई राजनीतिमा सहयोग नगर्ने पौडेलको कमजोरी कैनी औँल्याउँछन्। “साथीका लागि सहयोग नगर्ने र राजनीतिमा स्थापित गराउन योगदान नगर्ने चाहिँ उहाँको कमजोरी जस्तो लाग्छ,” कैनी भन्छन्। पौडेललाई राजनीतिमा नैतिकवान् मान्नेहरू पनि छन्।

लामो समय संसदीय राजनीतिमा पौडेलसँग काम गरेका नेता हृदयेश त्रिपाठी पौडेल प्रजातान्त्रिक मूल्य मान्यतामा सम्झौता नगर्ने नेता भएको सम्झिन्छन्।

“उहाँ प्रजातन्त्रका लागि प्रतिबद्ध व्यक्ति हो। तर राजनीतिक बुझाइमा अलिकति सङ्कीर्णता छ,” पौडेल प्रतिनिधिसभाको सभामुख रहेका समयमा सार्वजनिक लेखा समितिको सभापति रहेका त्रिपाठीले भने।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button