No Image Headlineदेशमुख्य खबर

रामचन्द्र पौडेल बने नेपालको राष्ट्रपति, यस्तो छ पौडेलको राजनीतिक पृष्ठभूमि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

Patanjali Nepal
SweetMart Nepal

आठ दलीय गठबन्धनका साझा उम्मेदवार पौडेल बिहीवार राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धीमा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ थिए । पौडेल नेपालको चौथो राष्ट्रपति हुन् ।

उनले ३३ हजार ८०२ मत पाएका थिए । उनको पक्षमा २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदले मत हालेका हुन् । एमालेका उम्मेदवार नेम्वाङले १५ हजार ८१८ मत पाए । उनको पक्षमा भने ९८ संघीय सांसद र १६२ प्रदेश सांसदले मतदान गरेका थिए । प्रदेशतर्फको पाँच मत बदर भएको थियो ।

को हुन् रामचन्द्र ?

प्रतिनिधि सभा निर्वाचन २०७९ मा नेपाली कांग्रेसका उम्मेदवार पौडेल तनहुँ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट २५,३१८ मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार एकबहादुर राना मगरलाई हराउँदै संसद पुगेका पौडेलले  एमालेका उपाध्यक्ष समेत रहेका  नेम्वाङलाई पराजित गर्दै राष्ट्रपति बनेका छन् ।

पौडेल  प्रतिनिधिसभाको सभामुख, उपप्रधानमन्त्री लगायत विभिन्न मन्त्रालयमा मन्त्री भइसकेका छन्।  तनहूँ क्षेत्र नं.२ बाट संविधानसभामा विजयी भएका उनी २०४८ को संसदीय निर्वाचनमा तनहूँ क्षेत्र नं. १ बाट र २०५२ तथा २०५६ का निर्वाचनमा तनहूँ क्षेत्र नं.२ बाट विजय हासिल गरेका थिए।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पौडेल नेपाली कांग्रेसका वरिष्ठ नेता हुन्। शान्ति तथा पुनर्निर्माण मन्त्री र उपप्रधानमन्त्री लगायत विभिन्न मन्त्रालय सम्हालिसकेका पौडेलले पार्टी मुखपत्र नेपाल पुकारको सम्पादकलगायत विभिन्न जिम्मेदारी वहन गरिसकेका छन्।

बी.पी. कोइरालाबाट प्रभावित भई राजनीतितर्फ आकर्षित भएका  पौडेलको राजनीतिक यात्रा विद्यार्थी कालदेखि नै शुरू भएको हो । पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण उनी पटक-पटक गरी १३ वर्ष जेल परेका छन्। प्रतिगमन विरोधी आन्दोलनमा अग्रपंक्तिमा रहेका पौडेल पछिल्लो पटक एक वर्षसम्म नजरबन्दमा परेका थिए।

प्रजातन्त्रप्रतिको निष्ठा र जनतासँगको अटूट लगावले आफूलाई विजयी बनाएको बताउने पौडेल संविधानसभामा गणतन्त्र संस्थागत गर्ने तथा लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको वकालत गर्ने विषयलाई प्रमुखताका साथ उठाउने अठोट व्यक्त गर्छन्।

अध्ययनमा विशेष रुचि राख्ने पौडेलका प्रजातान्त्रिक समाजवाद, नयाँ सन्दर्भमा समाजवाद, आस्थाका यात्रालगायत आधा दर्जन कृतिहरू प्रकाशित छन्। उनी चार छोरी र एक छोराका पिता हुन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button