खबर फटाफटयस्तो पनि

पेटभित्र रक्सीको बोतल भेटिएपछि …

Thrill Factory
Rungta Group

रौतहटको गुजरा नगरपालिकाका २६ वर्षीय मन्सुर (परिवर्तित नाम)लाई आइतबार बिहान बेस्सरी पेट दुख्यो ।

बुवाले गाउँकै क्लिनिकबाट औषधि किनेर खुवाए । त्यो औषधी खाएर उनलाई २० को १९ पनि भएन । दुखाइ नघटेर मन्सुर छटपटाउने क्रम नरोकिएपछि सोमबार उनलाई उपचारका लागि चन्द्रपुर अस्पताल ल्याइयो ।

विरामीले धेरै पीडा भएको बताएपछि चिकित्सकले आन्द्रा फुटेको आंशका गरे र एक्सरे गराउन भने । एक्सरे गराउँदा उनको पेटभित्र बोतल नै देखेपछि चिकित्सक नै आश्चर्यमा परे ।

लुगा लगाएर गरिएको एक्स–रेमा उनीहरुलाई विश्वास लागेन । ज्याकेटमा कतै बोतल लुकाएको पो रहेछ कि भनेर कपडा खोल्न लगाएर एक्स–रे गराइयो । त्यसपछि पनि मनिटरमा उही दृश्य दोहोरियो ।

पेटभित्र ठूलै बोतल देखेपछि प्राथमिक उपचार गरेर विरामीलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान आग्रह गरेका थिए ।

चन्द्रपुर अस्पतालका डा. अभिषेक अधिकारीले पहिलो पटक यस्तो घटना देखेको जानकारी दिए । ‘सुरुमा आन्द्रा फुटेको भन्ने ठानेर उपचार सुरु गरेका थियौं, तर एक्स– रे गराउँदा पेटमा सिंगो बोतल नै देखियो’, उनले भने, ‘सिंगो बोतल नै पेटभित्र देखेपछि स्वास्थ्यमा गम्भीर असर पर्ने देखेरै हामीले थप उपचारका लागि अन्यत्र लैजान आग्रह गरेका हौं ।’

चन्द्रपुर अस्पतालका सञ्चालक डाक्टर सुवास चौधरीले विरामीको स्वास्थ्य स्थिति गम्भिर देखिएपछि रिफर गरिएको बताए । ‘सिंगो बोतल नै पेटमा देखियो, दाहिने तर्फ आन्द्रा प्वाल परेको थियो’, उनले भने, ‘कसले कसरी बोतल हाल्यो भन्ने जानकारी हामीलाई छैन ।’

चन्द्रपुर अस्पतालले रिफर गरेपछि विरामीका आफन्तले विरामीलाई बाराको नौतन गण्डकस्थित एलएस न्युरो अस्पतालमा ल्याएका थिए । अस्पतालका सञ्चालक डाक्टर श्यामबाबु पटेलले शल्यक्रिया गर्नुपर्छ भन्दा विरामीका आफन्तले नमानेको बताए ।

‘एक्स रे गरेर हेर्दा बिरामीको पेटमा बोतल देखिएको थियो, पेटको सर्जनले शल्यक्रिया गर्नुपर्छ, ज्यानको खतरा हुन्छ भने पनि आफन्तले शल्यक्रियाका गर्न मानेनन्’, उनले भने, ‘उनीहरुको आर्थिक अवस्था पनि कमजोर रहेछ, वीर अस्पताल लैजान सल्लाह दिएको थिएँ ।’

त्यसपछि आफन्तले उनलाई भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरेका थिए । त्यहाँ सर्जन डा. नारायण बेलबासे, एनेस्थेसिया डाक्टर राजेश यादव लगायत चिकित्सक समेतको टोलीले २ घण्टा लगाएर शल्यक्रिया गरेका थिए ।

सन २०२० फेब्रुअरी १२ मा यसैगरि एक जना व्यक्तिको पेटबाट धाराको टुटी निकालेको बेलबासेले सुनाए ।

डा. बेलबासेका अनुसार भेन्टिलेटरबाट विरामी आइसीयुमा आईसकेका छन् । र बोल्न थालेका छन् । तर पनि विरामी खतरामुक्त नरहेको डाक्टर बेलबासेले बताए ।

‘पेटमा ह्विस्कीको बोतल थियो, आन्द्रा फुटेर पेटमा समस्या देखिएको रहेछ । ४८ घण्टा समय वितिसकेको थियो’, उनले भने, ‘शल्यक्रिया गरेर बोतल निकालेका छौं, आन्द्रा फुटेर पेटमा दिसा फैलिसकेको थियो । विरामीको स्वास्थ्य अवस्था सुधार उन्मुख छ । अहिले भेन्टिलेटरबाट बाहिर निकालेर आईसीयूमा राखिएको छ । बोल्न थालेका छन् ।’

मलद्वारबाट बोतल पसाएको हुन सक्ने आशंका गर्दै उनले मलद्वारमा कति इन्जुरी छ भन्ने जाँच गर्न बाँकी रहेको बताए । प्रहरीले पनि घटनाबारे ढिलोगरी मात्रै जानकारी पाएको बताएको छ ।

घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

‘उसको पेटमा बोतल भएको जानकारी हामीले आजै मात्रै पायौं, त्यतिखेरसम्म विरामी एलएस न्युरो अस्पताल पुगिसकेका थिए’, उनले भने, ‘एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौं र घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button