दक्षिण कोरियामा राम्रो देखिन मास्क लगाउँछन् युवायुवती

दक्षिण कोरियाले कोभिडसम्बन्धी प्रतिबन्धहरू खुकुलो पार्ने क्रममा मास्क लगाउनैपर्ने नियम हटाइएको छ।
खुला स्थानमा नाक र मुख छोप्नुपर्ने नियम सन् २०२२ को मे महिनामा नै हटेको थियो। केही बन्द स्थानमा मास्क लगाउनुपर्ने नियम ज्यानुअरी ३० देखि लागु हुनेगरी हटाइएको हो।


सार्वजनिक सवारीसाधन र स्वास्थ्यसेवा उपलब्ध गराउने स्थानमा भने मास्क लगाउनुपर्ने नियम अझै कायम रहनेछ।
तर धेरै दक्षिण कोरियाली युवाहरूले घरभित्र र बाहिर पनि मास्क लगाउने पक्षमा देखिएका छन्। किन त ?
यसबारे उनीहरूले दिएको कारणले तपाईँ छक्क पर्न सक्नुहुन्छ। कोरोनाभाइरस महामारीको बेला मास्क विश्वका अन्य ठाउँहरूमा जस्तै दक्षिण कोरियामा पनि अत्यावश्यक सामग्री बन्यो।
धेरैले प्रयोग गरेको एन९५ सरहको केएफ ९४ मास्क त्यहाँ निकै लोकप्रिय छ। यो मास्क लगाउँदा सास फेर्न कठिन हुनेबारे चर्चा भयो। तर शिशुकक्षाका बालबालिकादेखि वृद्धवृद्धाले पनि मास्क लगाइरहे।
महामारीको समयमा यो मास्क लोकप्रिय बन्नुको स्वाभाविक कारण हो: मानिसहरू आफूसँगै अरूलाई पनि सङ्क्रमणबाट जोगाउन चाहन्थे।
झन्डै तीन करोड दक्षिण कोरियालीलाई कोभिड भयो र ३३,००० जनाभन्दा बढीले ज्यान गुमाए। बन्द स्थानमा मास्क लगाउने नियम हटाउने घोषणा तीन वर्षपछि गरिएको हो। त्यहाँ पहिलो पटक कोरोनाभाइरस सङ्क्रमित फेला परेको पुष्टि भएलगत्तै त्यो नियम लागु गरिएको थियो।
तर तन्नेरीहरूका लागि मास्क अर्को कारण पनि छ। किशोरावस्था वा युवावस्थाका मानिसहरू आफ्नो रूपप्रति निकै सजग देखिन्छन्।
दक्षिण कोरियाली सामाजिक सञ्जालमा “मागिक्कुन” भन्ने नयाँ शब्द चर्चित छ। यसको अर्थ ‘मास्क लगाउँदा धेरै राम्रो देखिने व्यक्ति’ हो।
यो “मास्क” र कोरियाली भाषामा “सागिक्कुन” अर्थात् छलकर्ता बुझाउने दुई शब्द मिलेर बनेको हो। मास्क लगाउँदा रूप वास्तविक स्वरूपभन्दा अझ आकर्षक देखिने भएकाले त्यसलाई छलको सङ्ज्ञा दिइएको हो।
उस्तै अर्थ लाग्ने अर्को शब्दावली “मास्क फिशिङ” हो। सामाजिक सञ्जालमा विश्वव्यापी रूपमा यो प्रयोग भएको पाइन्छ।
टिकटकमा #maskfishing प्रयोग सहित हजारौँ भिडिओ बनेका छन्। तीमध्ये अधिकांश भिडिओमा किशोरकिशोरी र युवायुवतीले “के म मास्क फिशिङ गर्दैछु?” भन्ने चुनौती लिएका छन्।
दक्षिण कोरियाली मोडल तथा इन्फ्लूएन्सर हाना किमले मास्क लगाउने एक व्यक्तिले भेट्न बोलाउँदाको अनुभव सुनाइन्।
“मैले निकै गाह्रोसँग उनको प्रस्ताव अस्वीकार गर्नुपर्यो। तर यस्तो गर्न सकिन्छ जस्तो मलाई लाग्दैन,” भूतपूर्व मिस यूनिभर्स कोरिया २०२२ समेत रहेकी उनले ती व्यक्तिले मास्क खोलेपछि आफू निराश भएको अनुभव साटिन्।
“म प्रायः मानिसहरूले मेरो मास्क लगाएको र नलगाएको अनुहार फरक छ भन्ठान्छन् भनेर चिन्तित थिएँ,” उनले स्वीकार गरिन्।
“मैले मास्क लगाउनुको प्रमुख कारण स्पष्ट रूपमा कोभिड हो,” हाना किमले भनिन्। “मेरा धेरै साथीहरू भन्छन् मास्क लगाउँदा शृङ्गार गर्नुपर्दैन वा छालाको समस्याहरू लुकाउन सकिन्छ। त्यसैले सजिलो छ,” उनले भनिन्।