No Image Headlineदेशमुख्य खबरविशेष

आज जसको चर्चा छ : राहदानी दुरुपयोग गर्नेलाई कस्तो कारवाही हुन्छ ?

Thrill Factory
Rungta Group

नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेका कारण गृहमन्त्री र सांसदजस्ता महत्त्वपूर्ण पद गुमाएका रवि लामिछानेले आइतवार पुनः नेपाली नागरिकता लिए। लगत्तै, फेरि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति चयनसमेत भए।

यद्यपि, उनले नागरिकतासँगै राहदानीजस्ता अन्य आवश्यक कागजपत्रको दुरुपयोग गरेका भन्ने विवरणहरू सार्वजनिक भएका छन्।

कान्तिपुर दैनिकले अध्यागमन विभागको तथ्याङ्क उदृत गर्दै लामिछानेसँग तीन वर्षसम्म दुई वटा राहदानी रहेकोबारे समाचार प्रकाशित गरेको छ। जसमा लेखिएको छ,”अमेरिकी नागरिक बन्ने प्रक्रिया पूरा गरेर उनले सन् २०१४ को मार्च ५ मा अमेरिकी राहदानी प्राप्त गरेका थिए।“

राहदानी ऐन २०७६ मा नेपाली राहदानीवाहक नेपाली नागरिक कायम नरहेमा उसको राहदानी रद्द हुने कानुनी व्यवस्था छ। तर, कान्तिपुर दैनिकमा प्रकाशित भएको समाचार अनुसार “रवि अमेरिकी राहदानीमा २०७२ वैशाख २८ मा दोस्रो पटक नेपाल आउँदा सोही वर्ष जेठ १३ गते नेपाली राहदानी पनि बनाएका थिए, जसका लागि उनले २०५० मा नै जिल्ला प्रशासन कार्यालयबाट लिएको १८२२२ नम्बरको पुरानै नागरिकता प्रयोग गरेका थिए ।”

के सजाय हुन्छ?

लामिछानेले यसरी कानुन विपरीत दोहोरो राहदानी बोकेको भन्ने विषयमा प्रहरीले अनुसन्धान हाल स्थगित गरेको बताइएको छ।

तर केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले भने, “कानुन बमोजिम सबै प्रक्रियाहरू अघि बढिरहेका छन्। यस विषयमा हामीले आवश्यक अनुसन्धान निरन्तर जारी राख्ने छौँ।”

कानुनमा के छ?

झूटा विवरण दिई राहदानी वा यात्रा अनुमतिपत्र लिएमा त्यसलाई राहदानी ऐनले कसुर ठहराएको छ।

ऐनमा त्यस्तो गर्ने व्यक्तिलाई कानुन बमोजिम दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि तीन वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने जनाइएको छ।

‘फौजदारी कानुनको विषय’

नेपालको हकमा कूटनीतिक, विशेष, सर्भिस र साधारणगरी चार किसिमका राहदानीहरू जारी गरिन्छ।

ती विभिन्न प्रकारका राहदानीहरू फरकफरक प्रयोजनका लागि दुरुपयोग हुँदै आएको जानकारहरू बताउँछन्।

“राहदानी दुरुपयोग जसले गरे पनि यो फौजदारी कानुनको विषय हो। सोही अनुरूप तोकिएका सजाय सबैले भोग्नै पर्छ,” कानुनविद् डा. विपिन अधिकारी भन्छन्।

दोहोरो राहदानीको समस्या

हाल विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीहरूले ती देशको नागरिकता अपनाएर पनि नेपाली राहदानी निरन्तर प्रयोग गर्ने गरेको विज्ञ डा. अधिकारीको भनाइ छ।

“ती देशको कानुनले नेपालको राहदानी नत्यागे पनि हुन्छ भन्ला तर नेपालमा त त्यो सरासर कानुन विपरीत कार्य हो। त्यसरी दुवै देशको राहदानी प्रयोग गर्ने नेपालीहरूको सङ्ख्या निकै बढेको ठानिन्छ,” उनले भने।

कुनै नेपालीले नयाँ देशको नागरिकता लिएको खण्डमा नेपाली नागरिकता र राहदानी नत्यागे त्यो ‘जालसाजी ठहरिने’ अधिकारी बताउँछन्।

“रवि लामिछानेको हकमा अनुसन्धान र प्रमाणहरूले उनले कुन हदसम्मको जालसाजी गरेका छन् भन्ने पुष्टि गर्छ र सोही अनुरूप सजाय हुने वा नहुने हुन्छ।”

शरणार्थी भएको खण्डमा उसलाई शरण दिने देशले यात्राका लागि राहदानी उपलब्ध गराउनु पर्ने अन्तर्राष्ट्रिय कानुन तथा परम्परा रहेको उनले बताए।

त्यस्तै नेपालमा कूटनीतिक अर्थात् रातो पासपोर्टको दुरुपयोग सम्बन्धमा पनि उल्लेख्य घटनाहरू सार्वजनिक भएका छन्। सरकारी कामको सिलसिला वा विशेष कामको लागि उच्च स्तरीय पदाधिकारीहरूलाई दिइने भनिएको राहदानी सम्बन्धित व्यक्तिबाहेक अन्यले समेत प्रयोग गर्ने गरेको विवरणहरूबारे विज्ञ अधिकारीले चर्चा गरे।

उनले भने,”रातो पासपोर्टलाई शक्ति प्रदर्शनका लागि प्रयोग गरिएका थुप्रै उदाहरण छन्। त्यो वा विशेष प्रकारको पासपोर्ट बोकेर अन्तर्राष्ट्रिय स्तरमा दिइने विशेषाधिकार प्रयोग गर्नेहरू पनि छन्।”

विशेष किसिमका राहदानीहरू प्राय मन्त्रालय, संवैधानिक निकाय, सचिवालय बैठकको निर्णयको सिफारिसपछि जारी गरिन्छ।

साधारण राहदानीको सहज दुरुपयोग

कतिपय अवस्थामा नाम र मुहारको बनोट उस्तै देखिएको अवस्थामा एक व्यक्तिको राहदानी अर्कोले प्रयोग गर्ने गरेको विज्ञ अधिकारीले बताए। विशेषगरी वैदेशिक रोजगारीमा जानका लागि यस्तो कार्य हुने गरेको अधिकारीको भनाइ छ।

तर, कानुनी कडाइ र प्रविधिको विकाससँगै त्यस्ता अपराधहरू कम हुँदै गएको उनी बताउँछन्।

“हस्तलिखित राहदानीको सन्दर्भमा त्यस्तो समस्या थियो। तर अहिले बायोमेट्रिक्स प्रणालीले गर्दा सहजै एउटाको राहदानी अर्कोले प्रयोग गर्न सक्दैनन्,” उनले भने।

यद्यपि, वैदेशिक रोजगारीमा जाने वर्गको राहदानी म्यानपावर कम्पनीहरूले महिनौँ आफ्नो बसमा राख्ने वा अरब मुलुकमा पुगेका नेपालीको राहदानी रोजगारदाताले राख्नेजस्ता समस्या यथावत् रहेको जानकारहरू बताउँछन्।

दुरुपयोग रोक्न प्रविधि

वैदेशिक रोजगार विभागले हस्तलिखित राहदानीको दुरुपयोग रोक्न फरेन इम्प्लोयमेन्ट म्यानेजमेन्ट इन्फरमेसन सिस्टम नामक सफ्टवेयर प्रणाली सञ्चालनमा गरेको छ। जसको मूल उद्देश्य अभिलेख व्यवस्थित गर्ने भएपनि उक्त प्रणालीले राहदानी दुरुपयोगको समस्या समेत न्यूनीकरण गरेको बताउँछन् विभागका महानिर्देशक उमाकान्त आचार्य।

“छ महिनाको अवधिमा ४ लाख मानिस विदेश गए। राहदानी विभागको समन्वयका कारण सम्बन्धित सबैले पेस गरेको विवरण ट्याली गरेर हेरियो अनि मात्र प्रक्रिया अघि बढ्यो। त्यसैले राहदानी दुरुपयोगको समस्या शून्यमा झरेको छ,” उनले दाबी गरे।

अन्य सजाय कस्ता?

कानुनमा राहदानी रोक्ने, रद्द गर्ने र राहदानीवाहकलाई जेल तथा जरिवानाको सजाय तोकिएको छ। दुरुपयोगको प्रकृति अनुरूप फरकफरक सजाय निर्धारण गरिएको छ।

झुट्टा विवरण दिई राहदानी वा यात्रा अनुमतिपत्र लिएमा, राहदानी नलिई विदेश भ्रमण गरेमा, नेपाल सरकारको आदेश वा निर्देशन पालना नगरेमा, फरक उद्देश्यका लागि राहदानी प्रयोग गरेमा, आफ्नो राहदानी अरूलाई प्रयोग गर्न दिएमा, फोटो वा अन्य विवरण सच्चाएमा, अरूको राहदानी अनुमति बिना राखेमा दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँ जरिवाना र एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुने ऐनमा उल्लेख गरिएको छ।

कानुनले कसुर ठहर गरेका उल्लेखित कार्यका मतियारलाई समेत आधा सजाय हुने जनाइएको छ।

नेपालको राहदानी विश्वका राहदानीहरूमध्ये “सातौँ कमजोर” का रूपमा सूचीकृत छ। विश्वभरि हुने आप्रवासनसँग सम्बन्धित विषयमा परामर्श उपलब्ध गराउँदै आएको हेन्ली एन्ड पार्ट्नर्स नामक कम्पनीले सार्वजनिक गरेको एउटा सूचीमा नेपालको राहदानी लिबिया र उत्तर कोरियाभन्दा पनि तल रहेको देखिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button