अर्थमुख्य खबर

सीमावर्ती क्षेत्रमा भारु अवमूल्यनको कारण र अर्थतन्त्रमा पर्ने प्रभाव कस्तो ?

Thrill Factory
Rungta Group

नेपाली र भारतीय मुद्राबीच दशकौँदेखि स्थिर विनिमय दर रहँदै आएको छ अर्थात् नेपालमा १०० रुपैयाँ भारुको १६० रुपैयाँ नेरु तिर्नुपर्छ। अन्य मुद्राको सटही दर हरेक दिन परिवर्तन भए पनि भारुको हुँदैन।

तर करिब एक महिनादेखि सीमावर्ती क्षेत्रमा नेपालीहरूले “अनौपचारिक माध्यम”मा प्रति १०० रुपैयाँ भारु १५५ रुपैयाँसम्ममै पाउन थालेको त्यस क्षेत्रका स्थानीयवासीले बताएका छन्।

त्यस्तै भारतीय सीमावर्ती बजारका व्यापारीहरूले पनि अहिले नेरुको तुलनामा भारु सस्तिएको बताएका छन्।

वीरगन्ज पारीको भारतीय सीमावर्ती बजार रक्सौलका एक जना व्यवसायीले भने, “पहिले नेरुको तुलनामा भारु महँगो थियो १६० मा किन्नुपर्ने भारु किन्न १६२/६३ पनि तिर्नुपर्थ्यो तर अहिले करिब एक महिनादेखि १५५ मा कारोबार भइरहेको छ।”

“यसले हामीलाई त घाटा छ किनभने हामीले भारुमा सामान किन्नुपर्छ नेपाली रुपैयाँको तुलनामा भारु कमजोर हुँदा हामीलाई फाइदा हुँदैन।”

सीमा जागरण मञ्च विहार राज्यका संयोजक महेशकुमार अग्रवालका भनाइमा सीमावर्ती क्षेत्रमा नेपाली र भारतीय दुवै पक्षले बैंकका माध्यमबाट भन्दा पनि “अनौपचारिक माध्यमबाट” नै मुद्राको सटही गर्दै आएका छन्।

उनले भने, “सन् १९९० सम्म ब्याङ्कबाट हुने कारोबार धेरै थियो तर विगत तीस वर्षदेखि बाहिर नै धेरै कारोबार हुन्छ। पहिले भारु नेरुका तुलनामा महँगो थियो १६० को साटो त्योभन्दा बढी तिर्नुपर्थ्यो अहिले नेपालीका हकमा त्यस्तै भएको छ।”

उनले त्यसलाई थप स्पष्ट पार्दै भने, “यो सबै माग र आपूर्तिको खेल हो। तर भारुको आपूर्ति धेरै कसरी भयो भन्ने कुरा पत्ता लगाउने जिम्मा दुवै देशका एजेन्सीको काम हो।”

नेपालका सीमावर्ती क्षेत्रमा भारतीय रुपैयाँको सस्तोमा कारोबार हुन थाल्नुले नेपालमा ‘अनौपचारिक अर्थतन्त्र’को थप विस्तार भएको सङ्केत गर्ने अर्थशास्त्रीहरूले बताएका छन्।

उनीहरूका बुझाइमा सामान्य रूपमा हेर्दा यसले भारतीय रुपैयाँको तुलनामा नेपाली मुद्रा बलियो बनेको जस्तो देखिए पनि त्यसले नेपाली अर्थतन्त्रलाई “फाइदा भन्दा बेफाइदा नै बढी” हुनसक्छ।

सीमा क्षेत्रमा ‘वित्तीय संयन्त्रबाहिर हुने अनौपचारिक’ कारोबारमा अहिले प्रति १०० रुपैयाँ भारुमा कम्तीमा पाँच रुपैयाँसम्म कमी आएको त्यस क्षेत्रका व्यवसायी र स्थानीयवासी बताएका छन्।

नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्टले चाहिँ “अहिले देखिएको प्रवृत्ति अल्पकालीन भएको हुनसक्ने” र त्यसले नेपाली अर्थतन्त्रमा “खासै ठूलो फरक नपार्ने” हुनसक्ने बताए।

भारतीय रुपैयाँको मूल्य घट्दा नेपाली मुद्रा बलियो भएको जस्तो देखिए पनि त्यसले नेपाली अर्थतन्त्रलाई खासै फाइदा नगर्ने विज्ञहरूको भनाइ छ।

पूर्व गभर्नर क्षेत्री भन्छन्, “नेपाली मुद्रा बलियो हुनु राम्रो हो तर त्यो हाम्रो व्यापारिक क्षमता, सेवा, व्यापार जे भएर भइदिएको भए त हुन्थ्यो।”

“आर्थिक विकृतिका कारण आएको हुनले यसले सहयोग पुर्‍याउने अवस्था कम रहन्छ।” पूर्व अर्थ सचिव खनाल पनि यसले नेपाली अर्थतन्त्रलाई टेवा पुर्‍याउनुको साटो अनौपचारिक अर्थतन्त्रलाई बढाउने बताउँछन्।

तर राष्ट्र बैंकका प्रवक्ता भट्ट चाहिँ यो “अल्पकालीन प्रवृत्ति भएकाले त्यसले नेपाली अर्थतन्त्रमा गहिरो प्रभाव नपार्ने” दाबी गर्छन्। उनले भने, “यो प्रवृत्ति लामो समय रह्यो भने चाहिँ केही प्रभाव पार्ला तर मलाई लाग्छ यो चाँडै नै अन्त्य हुन्छ।”

के हुन सक्छन् अवमूल्यनका कारण ?

१. हुन्डीबाट रेमिट्यान्स भारत हुँदै नेपाल भित्रिएको सम्भावना  

सीमा क्षेत्रका केही नेपाली व्यवसायीले नेपाल भित्रिने रेमिट्यान्सको कारोबार हुन्डीबाट हुँदा त्यसको प्रभाव भारुको अवमूल्यनका रूपमा देखा परेको बताए।

उनीहरूका भनाइमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले पहिले हुन्डीमार्फत सिधै नेपालमा रकम पठाउने गर्थे।

तर पछिल्ला दिनहरूमा भारतीयहरूले नेपाली हुन्डी कारोबारीका तुलनामा डलरको सटही दर केही बढी दिएर नेपाली कामदारको रकमसमेत भारतमा भित्र्याउन थालेका छन्।

“अरबतिर नेपाली मात्र होइन भारतीय कामदारहरू पनि धेरै छन् त्यो पनि यूपी बिहारका धेरै हुन्छन्,” एक जना व्यापारीले भने, “त्यसरी बल्कमा रकम उठाउँदा भारतीयहरूले नेपाली कामदारलाई डलरको केही सस्तो दर दिन सक्छन्।”

“त्यस्तो अवस्थामा नेपालीको रकम पनि पहिले भारतमा आउँछ, त्यो भारुका माध्यमबाट खुला सीमा भएकाले नेपाल भित्रिन्छ। नेपालमा भारुको आपूर्ति बढी भएपछि त्यो सस्तो हुने नै भयो।”

त्यसरी नेपाल आएको भारु बैंकको संयन्त्रबाट साट्न सजिलो नहुने भएकाले पनि मानिसहरूले केही सस्तोमा भारु बेच्ने गरेको उनको आशङ्का छ।

यद्यपि त्यसलाई पुष्टि गर्ने कुनै घटना वा आधार आफूले दिन नसक्ने तर केही व्यक्तिहरूले त्यसबारे आफूलाई सुनाएको उनको भनाइ छ।

पूर्व अर्थ सचिव रामेश्वर खनालले पनि त्यस्तो प्रवृत्ति बढेको जस्तो देखिएको बताए।

उनले भने, “तपाईँ अहिले तराई जानु भयो भने पहिले १६७ देखि १७० मा कारोबार भइरहेको भारु अहिले १५५ मा भइरहेको छ। त्यसको कारण के हो भने रेमिट्यान्स चाहिँ यहाँ नआएर डलर भारतमा गएर त्यहाँबाट नेपाली मानिसलाई बुझाउनु पर्दा भएको हो।”

“त्यसरी आएको रकम आखिरमा नेपालीलाई बुझाउनु त पर्‍यो नि! त्यसका लागि नेपाली मुद्रा त साट्नै पर्छ।”

खनाल थप स्पष्ट पार्दै भन्छन्, “उदाहरणका लागि कतारबाट नेपालमा डलर आएर त्यो नेपालीमा साटेर बुझाउनु पर्ने हो। तर अहिले भइरहेको के छ भने कतारबाट भारतमा डलर गएर भारतबाट भारु आएर साटेर दिएपछि यस्तो भएको हो।” उनले यस्तो प्रवृत्तिलाई वर्तमान अर्थमन्त्रीले पनि “बुझे जस्तो” लागेको बताए।

अर्थमन्त्री विष्णु पौडेलको भनाइलाई स्मरण गर्दै उनले भने, “त्यसैले उहाँले अस्ति भाषण गर्दा ‘रेमिट्यान्स वैध च्यानलबाट आएन भन्नुभएको छ’ त्यसलाई प्रस्ट रूपमा भारत गएर हुन्डीबाट नेपाल आयो भन्न नमिलेर हो।” खनालले भने जस्तै अर्थमन्त्री पौडेलले रेमिट्यान्स वैध माध्यमबाट नआएको बताउँदै आएका छन्।

यसै साता एउटा कार्यक्रममा बोल्दै पौडेलले भनेका थिए, “रेमिट्यान्स जति आम्दानी हुने गरेको छ त्यसको ठूलो हिस्सा वैध माध्यमबाट भित्राउन सकेका छैनौँ। वैध माध्यमबाट देशभित्र भित्राउनका लागि लिनु पर्ने नीति, गर्नुपर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका कार्यक्रमहरू अघि सार्न सरकार तयार छ।”

उनले कोभिडपछि नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या वृद्धि भए पनि त्यसको अनुपातमा रेमिट्यान्स नबढ्नुले पनि त्यसलाई सङ्केत गर्ने बताए। नेपालमा जुन गतिमा रेमिट्यान्सको वृद्धिदर थियो त्यो गति अहिले सुस्त भएको छ।

यद्यपि गत वर्षको तुलनामा रेमिट्यान्स केही बढिरहेको नेपाल राष्ट्र बैंकको विवरणमा देखिन्छ।

गत साउनदेखि मंसिरसम्मको विवरण हेर्दा गत वर्षको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको राष्ट्र बैंकको विवरणले देखाउँछ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख प्रकाशकुमार श्रेष्ठ चाहिँ सीमा क्षेत्रको अनौपचारिक बजारमा भारुको भाउ कम हुनुमा हुन्डी पनि एउटा कारण हुनसक्ने तर त्यो प्रमुख कारण नभएको जस्तो देखिएको बताउँछन्।

२. अवैध कारोबार वृद्धि

जानकारहरूका भनाइमा भारतीय मुद्राको भाउ घट्नुमा अवैध कारोबार एउटा बलियो कारण हुनसक्छ। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले पनि त्यस्तै सङ्केत गरे।

उनले भने, “हाम्रो व्यापार घाटा भारतसँग जहिले पनि उच्च छ तर अहिले अलिकति घटेको छ। त्यसले गर्दा भारुको माग कम भएको छ। तर त्यसैले मात्र यस्तो नभएको पनि हुनसक्छ।”

उनले नेपालबाट भारतमा सुन तथा अन्य विभिन्न वस्तुको तस्करी भएका कारण पनि भारुको मूल्य कम भएको हुनसक्छ।

उनले भने, “अब त कपडामा टाँसेर, तरल र धुलो बनेर पनि सुन आउन थालेको सुनिन्छ। त्यो भारत गएर भारतीय रकममा भुक्तानी भएको हुनसक्छ। तस्करी बढेको हुनसक्ने देखिन्छ।”

“तर यस्तो भएको हुनसक्ने अनुमान लगाउन सकिन्छ। त्यसलाई पुष्टि नै गर्न त गाह्रो छ।” खनाल पनि नेपाली बजारमा जसरी “फालाफाल” सुन रहेको छ त्यसले उक्त कुरालाई सङ्केत गर्ने बताउँछन्।

रक्सौलका व्यापारी भन्छन्, “नेपालबाट सुन तस्करी हुने गरेको सुनिन्छ त्यसले नेपालमा भारु बढेर पनि यस्तो भएको होला।” अग्रवाल पनि नेपाल र भारतबीच अवैध कारोबार बढेकाले त्यसले भारतको आपूर्ति धेरै भएको हुनसक्ने ठान्छन्।

यद्यपि त्यसबारे “दुवै देशका निकायहरूले जाँच गर्नुपर्ने” उनको भनाइ छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख श्रेष्ठ पनि नेपालमा जुन मात्रामा सुनको आयात बढिरहेको छ त्यसले तस्करीको सम्भावना रहेको बताउँछन्।

“अनौपचारिक अर्थतन्त्र बढ्दा यस्तो हुने सम्भावना रहन्छ तर त्यसलाई हेर्न गहिरो अनुसन्धानको जरुरी छ,” उनले भने।

 विराटनगरका व्यापारीले भने अहिले चीनतर्फको सीमा नाकामा निकै कडाइ गरिएकाले “सुन वा अन्य कुराको तस्करी बढेको” कुरामा विश्वास गर्न कठिन देखिन्छ।

३. भारतीय पर्यटकको वृद्धि

नेपालसँग सीमा जोडिएका भारतका उत्तर प्रदेश तथा विहारलगायतका राज्यमा मदिरा बिक्री बन्द हुँदा नेपालका सीमावर्ती क्षेत्रमा भारतीयहरूको चहलपहल बढ्ने गरेको छ।

त्यसका कारण नेपाली सीमा क्षेत्रमा भारतीय मुद्राको आपूर्ति बढेको र त्यसले नेपालीका तुलनामा त्यो सस्तो भएको हुनसक्ने पनि कतिपयको भनाइ छ।

“नेपालमा जाने पर्यटक पनि बढेका छन् त्यसले पनि यस्तो भएको हुनसक्छ,” रक्सौलका व्यवसायी कुमारले भने।

त्यस्तै नेपालको क्यासिनोमा पनि भारतीयहरूको आगमन धेरै हुँदा त्यसले भारुको आपूर्ति बढाउने सम्भावना रहन्छ।

त्यो पनि अर्को कारण हुनसक्ने कतिपयको भनाइ छ। कोभिडपछि नेपालको पर्यटन क्षेत्रका केही सुधार देखिएको व्यवसायीहरूले बताएका छन्।

त्यसले गर्दा भारतीय पर्यटकको सङ्ख्या पनि बढेको उनीहरू बताउँछन्।

४. नेपाली बैंकमा पैसा जम्मा गर्ने क्रम

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख श्रेष्ठका भनाइमा पछिल्लो समय नेपालमा भारतको तुलनामा बचतको ब्याजदर बढी छ।

त्यस्तो अवस्थामा नेपालमा पारिवारिक सम्बन्ध रहेका भारतीयहरूले नेपालतर्फका आफन्तको नाममा नेपाली बैंकमा खाता खोलेर बचत गर्ने प्रवृत्ति पनि बढेको हुनसक्छ।

“मलाई लाग्छ अहिले ब्याजदर बढेका बेलामा भारतबाट नेपालतर्फका आफन्तका नाममा खाता खोलेको पनि हुनसक्छ। त्यसो गर्दा पक्कै पनि भारुको आपूर्ति बढ्ने सम्भावना हुन्छ,” उनले भने। “मेरो विचारमा अहिले भारुको आपूर्ति बढ्नुमा एउटा कारण त्यो पनि हुनसक्छ।”

उनले नेपालमा स्थानीय तह, सङ्घ र प्रदेशको निर्वाचनका क्रममा पनि भारततर्फ रहेका नेपाली उम्मेदवारहरूका आफन्तहरूले रकम पठाइदिएको हुनसक्ने पनि आशङ्का गरे। “त्यो रकम पनि पक्कै भारुमै आयो होला। त्यसले तराई क्षेत्रमा भारुको आपूर्ति बढाएको हुनसक्छ,” उनले भने।

खुला सीमाका कारण नेपाली र भारतीय नागरिकहरू निर्बाध रूपमा दुवैतर्फ आउन वा जान सक्छन्। उनीहरूले रोजगारी र व्यापार व्यवसाय पनि गर्न पाउने व्यवस्था रहेको छ।

नियम अनुसार भारतीय नागरिकले नेपालमा आउँदा नगद २५ हजार भारुसम्म बोकेर आउन पाउँछन्। बीबीसीको सहयोगमा 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button