
धितोपत्रमा चलखेल र लेखासम्बन्धी जालसाजी गरेको भन्ने आरोपसहितको एक प्रतिवेदन सार्वजनिक भएपछि एसियाकै सबैभन्दा धनी व्यक्ति गौतम अदानीको कम्पनीले त्यस्ता आरोपको प्रतिवाद गरेको छ।
गौतम अदानीको ‘अदानी ग्रुप’ले एक अमेरिकी लगानी कम्पनीले तयार गरेको प्रतिवेदन “दुर्भावनापूर्ण” र “चुनिएका भ्रामक सूचना” युक्त भनेर प्रतिक्रिया दिएको छ।


यसै हप्ता बुधवार त्यस्तो अध्ययन प्रतिवेदन सार्वजनिक भएयता अदानी समूहले धितोपत्र बजारमा आफ्नो ११ अर्ब डलर मूल्य गुमाएको छ।
उक्त भारतीय कम्पनीले अब त्यस्तो प्रतिवेदन तयार पारेको न्यूयोर्कको ‘हिन्डनबर्ग रिसर्च’ विरुद्ध कानुनी उपचार खोज्नेबारे छलफल गरिरहेको जनाएको छ।
अदानी ग्रुप भारतमा सबैभन्दा ठूला कम्पनीहरू मध्येको हो। यसले बस्तु व्यापार, विमानस्थल, नवीकरणीय ऊर्जा लगायत व्यापक क्षेत्रमा लगानी गरेको छ।
यसको नेतृत्व गरेका गौतम अदानी विश्वकै चौथो धनी व्यक्ति रहेको फोर्ब्स म्यागेजिनले जनाएको छ। हिन्डनबर्ग चाहिँ “शर्ट सेलिङ” अथवा कम्पनीको शेअर मूल्य घट्ने अनुमान गर्दै बाजी थापे जसरी त्यसमा लगानी गर्ने कार्यमा पोख्त मानिन्छ।
आफ्नो प्रतिवेदनमा हिन्डनबर्गले अदानीलाई “व्यावसायिक इतिहासकै सबैभन्दा ठूलो ठगी” गरेको आरोप लगाएको छ। अदानी ग्रुपको शेअर सर्वसाधारणका लागि बिक्री खुला गरिनुभन्दा केही दिन अघि मात्रै त्यस्तो प्रतिवेदन सार्वजनिक भएको हो।
प्रतिवेदनले अदानी समूहको स्वामित्वमा मोरिसस र क्यारेबिअन जस्ता ‘ट्याक्स हेभन’ भनिने देशहरूमा रहेका कम्पनीबारे पनि प्रश्न उठाएको छ। प्रतिवेदनले अदानी समूहसँग “ठूलो मात्रामा ऋण” रहेको र यसले पूरै समूहलाई “कमजोर आर्थिक धरातलमा” राखेको दाबी गरेको छ।
अदानी समूहले हिन्डनबर्ग रिसर्च विरुद्ध अमेरिका र भारतमा “उपचारात्मक र दण्डात्मक कारबाही” खोज्नेबारे मूल्याङ्कन भइरहेको बिहीवार बताएको छ।
अदानीले आफ्नो काम सधैँ “कानुनको परिधिभित्रै रहेको” दाबी गरेको छ। “भारतीय धितोपत्र बजारमा प्रतिवेदनले सिर्जना गरेको अस्थिरता ठूलो चिन्ताको विषय हो र यसले भारतीय नागरिकहरूमा नसोचेको पीडा निम्त्याएको छ,” अदानीको कानुनी टोलीका प्रमुख जतिन जालुन्धवालाले भने।