मधेसमा सीके राउतको उदयले मधेसवादी दल किन सशंकित ?
पहिलो पटक संसदीय निर्वाचनमा सहभागी हुँदै सङ्घमा राष्ट्रिय दलको रूपमा ६ सिट सुरक्षित गरेको जनमत पार्टीको उदयलाई लिएर मधेसमै आधार भएका दलमध्ये कुनैले उसँग सहकार्य गर्न सकिने त कतिपयले उक्त दलका कामलाई थप केही समय हेरेर धारणा बनाउनुपर्ने बताएका छन्।
सङ्घमा सीके राउत नेतृत्वको जनमत पार्टीको हैसियत पुरानै दल लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल भन्दा ठूलो बनेको छ। महन्थ ठाकुर नेतृत्वको दल लोसपाले प्रत्यक्षतर्फ ४ सिट मात्र जित्न सफल भयो भने समानुपातिकमा तीन प्रतिशत मत कटाउन नसक्दा उसले थप सिट पाउन र राष्ट्रिय दल बन्न सकेन।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले समेत समानुपातिकतर्फ जनमत पार्टी बराबर पाँच सिट हासिल गर्यो। तर प्रत्यक्षमा सात सिट जितेको जनता समाजवादी पार्टीले समानुपातिकमा पाँच सहित १२ सिट पाएर छैटौँ ठूलो दल बनेको छ।
मधेस प्रदेशमा समेत जनमत पार्टीले समानुपातिकतर्फ जसपा, नेपाल बराबरकै ७ सिट जितेको छ, लोसपाले भने २ सिट जितेको छ। प्रत्यक्षतर्फ जसपाले ९, लोसपाले ७ सिट जितिरहँदा उसले ६ स्थानमा प्रत्यक्षतर्फ जितेको छ।
जसपाका एकजना नेता मनिषकुमार सुमनले चुनावबाहेकका अवस्थामा राज्यसँग मोलमलाई वा माग राखिरहँदा जनमत पार्टीसँग मित्र दलका रूपमा सहकार्य गर्न सकिने ठान्छन्।
सुरुमा वहाँले बोकेका एजेन्डाका कारण हामी सीके राउतजीलाई पृथक रूपमा हेर्थ्यौँ। तर स्थानीय तहको निर्वाचनदेखि वहाँहरूले आफ्नो अस्तित्वलाई स्थापित गर्नुभयो। अब हामीले वहाँलाई मधेसको एउटा साथी र शक्तिका रूपमा हेर्छौँ, जसपा नेपालका नेता सुमन भन्छन्।
लोसपा, नेपालका नेता केशव झाले समेत जसपा, नेपालका सुमनलेझैँ आफूहरूका मुद्दा अन्तिममा गएर संविधान संशोधनसँग जोडिने बताउँछन्।
त्यो भनेको अङ्कगणितको विषय हो। संविधान संशोधन दुई तिहाइले मात्र सम्भव छ जुन हामी मधेसका सबै दल मिल्दा समेत संशोधन गर्न सक्ने मत ल्याउन सक्दैनौँ, झा भन्छन्।
ठूला दलहरूसँग समेत सहकार्य आवश्यक नै छ। र गत पाँच वर्षमा हुन नसकेका कामलाई राम्रो लयमा गराउनका लागि जनमत पार्टी कति लड्न सक्छ भन्ने कुरा यतिखेर अहम् छ।
मतका हिसाबले पुराना दलप्रतिको निराशाको अभिव्यक्तिका रूपमा यस चुनावमा नयाँ दलप्रति देखिएको लहरको भोट जनमत पार्टीले पाएको ठान्ने मनिषकुमार सुमन भोट ब्याङ्कमा पछिसम्म असर पार्ने ठान्दैनन्।
सङ्गठनका हिसाबले हामी अझै पहिलो मधेसवादी शक्ति मात्र होइनौँ कि हाम्रो सङ्गठन देशव्यापी समेत छ। हामीले जनपक्षीय काम गरिरहँदा हाम्रो मत सुरक्षित नै रहन्छ। वहाँहरूको मत लहर मात्र हो, नेता सुमन भन्छन्। वहाँहरूले त्यो लहरको मतलाई आफ्नो बनाउन अलिकति मिहिनेत चाहिन्छ।
तर राउतको दलले पाएको सफलता आफूहरूका लागि महत्त्वपूर्ण सन्देश रहेको रूपमा समेत पुराना दलले हेर्न थालेका छन्। लोसपा नेता केशव झाले नयाँ दलहरू यसरी अघि बढ्नुलाई जनताले परिवर्तन खोजेको सङ्केतका रूपमा आफूहरूले हेरेको बताउँछन्।
त्यसले यहाँको शक्ति सन्तुलनमा असर पार्ने नै भयो। तर यही अवस्था स्थायी रूपमा रहन्छ भन्ने चाहिँ छैन, लोसपा नेता झा भन्छन्।किनकी मुद्दामा वहाँको प्रस्टता अझै देखिएको छैन। एक दशकमा राउतजीमा देखिएको धेरै वैचारिक विचलनले गर्दा पनि भविष्यमा के होला भन्नेमा धेरै संशय छ। हामीले उठाउँदै आएका मुद्दामा वहाँको धेरै प्रस्टता छैन।
केशव झाले यस पटकजस्तो आफ्ना कारण भन्दा पनि अरूका कारण आएको लोकप्रिय मत सधैँ नआउने हुँदा भोलिका दिनमा मुख्य मुद्दामा ‘जनताले वैचारिक प्रस्टता खोज्ने र त्यसले नै भविष्य निर्धारण गर्ने’ ठान्छन्।
सप्तरी-२ मै उनले जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भारी मत अन्तरले चुनाव जितेका हुन्। मधेस प्रदेशमा जनमत पार्टी सरकार गठनका लागि निर्णायक हुने ठानिएको छ।