यस्तो पनि

हेइटी : जहाँ गुण्डाको डरले प्रधानमन्त्री नै कार्यालय जाँदैनन्

Thrill Factory
Rungta Group

हेइटीको राजधानी पोर्टो प्रिन्समा हेर्दाखेरि सहरभित्र कुनै भौतिक सिमाना कोरिएको त देखिँदैन तर त्यहाँ तपाईँले आफू कहाँ र कुन परिधिमा रहेको छु भनेर बुझ्नै पर्छ। नत्र ज्यान जान सक्छ।

एकआपसमा लडाईँ गरिरहेका भिन्न भिन्न सशस्त्र गुण्डाका समूहहरूले आ-आफ्नो इलाका कोरेका छन् जहाँ तिनले बेफिक्री अपहरण, बलात्कार, तथा हत्याका शृङ्खला मच्चाइरहेका छन्। तिनको सिमाना रगतले कोरिएको छ।

एउटा गुण्डा समूहको इलाकाबाट अर्कोमा जाँदा होस् गर्नुस् ज्यानै जान सक्छ। त्यसैले यहाँका बासिन्दाले मनमनै सहरको नक्सा बनाएका हुन्छन् जसमा त्यहाँका इलाकाहरू हरियो, पहेँलो वा रातो भनेर छुट्ट्याएका हुन्छन्।

हरियो भनेको सुरक्षित र गुण्डा नभएको क्षेत्र हो। पहेँलो भनेको आज सुरक्षित तर भोलि सम्भवत: खतरनाक हुनसक्छ। रातोमा त जानै भएन।

सशस्त्र समूहको दबदबा बढ्दै गर्दा हरियो इलाका खुम्चँदैछ। पोर्टो प्रिन्स तथा छेउछाउका भूभागमध्ये आधाभन्दा धेरैमा सशस्त्र समूहहरूको नियन्त्रण रहेको त्यहाँका मानवअधिकार समूहहरूले बताएका छन्।

पछिल्ला महिनाहरूमा सशस्त्र गुटहरूले मच्चाएको हिंसाका कारण त्यहाँ सयौँको ज्यान गएको छ भने हजारौँ घरबार छाडेर भाग्न वाध्य भएका छन्। गत वर्ष हेइटीका राष्ट्रपति जोभनल मोइजको हत्यापश्चात् त्यहाँ अशान्ति बढेको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार हेइटी ‘भिरको डिल’मा पुगेको छ। सहायता निकायहरूका अनुसार त्यहाको संसद् वरपरको क्षेत्र अनि राजधानी भित्रिने र बाहिरिने सडकमा सशस्त्र समूहको नियन्त्रण छ।

साँझ बिहानको समयमा धेरै अपहरणका घटना हुन्छन्। औसतमा प्रतिदिन ५ वटा। मानिसहरू रातबिरात बाहिर निस्कँदैनन्। कतिपय आवश्यक नपरिकन निस्कँदैनन्। प्रधानमन्त्री आरियल अनरीले अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेका छन्। तर उनी स्वयं उनको कार्यालय आउजाउ गर्न सकिरहेका छैनन्।

पोर्टो प्रिन्स एकातिर हरिया पहाड अनि अर्कोतिर क्यारेबियन सागरको नीलो पानीका बिचमा अवस्थित छ।

गर्मी र बेवास्ता चर्को छ। घुँडा घुँडासम्म आइपुग्ने फोहरका डङ्गुरले भत्कँदै गएको राज्यको तस्बिर दिन्छ। अहिले यहाँ राष्ट्र प्रमुख नै छैनन्। पछिल्लो राष्ट्रपतिलाई कार्यालयमै गोली हानेर मारिएको थियो।

यहाँ कार्यरत संसद् पनि छैन। अमेरिकाद्वारा समर्थित प्रधानमन्त्री आरियल अनरी निर्वाचित होइनन् अनि पटक्कै लोकप्रिय छैनन्।

खासमा भन्नुपर्दा यहाँ राज्य छैन अनि जनताहरू एकपछि अर्को सङ्कट बेहोरिरहेका छन्। आधा जनसङ्ख्या  करिब ४७ लाख हेइसियन  भोकमरीमा परेका छन्।

राजधानीमै २० हजार जति मानिस भोकमरीजस्तो अवस्थामा परेको संयुक्त राष्ट्रसङ्घले बताएको छ। हैजा फेरि फैलिएको छ। तर सबभन्दा खतरनाक चाहिँ सशस्त्र गुण्डाहरूको विस्तार नै हो।

उनीहरूले नै यहाँको समय तय गरेका छन्। बिहानीको ‘रश आवर’ वा व्यस्त समय भनेको ६ बजेदेखि ९ बजेसम्म अपहरण अत्यधिक हुन्छ। त्यसपछि बेलुकीको व्यस्त समय ३ बजेदेखि ६ बजेसम्म अर्को चरणका अपहरण हुन्छन्।

अपहरण त फैलँदो उद्योग बनेको छ। राष्ट्रसङ्घका अनुसार ज्यानुअरी र अक्टोबरको बीचमा ११०७ जना अपहरणमा परेका थिए।

कतिपय समूहका निम्ति अपहरण आयको मुख्य स्रोत बनेको छ। तिनले २ सय डलरदेखि १० लाख डलरसम्म फिरौती माग्छन्। फिरौती तिरेमा अधिकांश मानिस फिर्ता हुन्छन् तर तिनले धेरै यातना सहनु पर्छ।

पुरुषहरूलाई कुटिन्छ र पग्लिएको प्लास्टिकले पोलिन्छ, हेइटीको एक मानवअधिकार संस्थाका गेडियन जनले भने। महिला तथा बालिकाहरूलाई सामूहिक बलात्कार गरिन्छ। त्यसैले आफन्तहरू जसरी भए पनि फिरौती तिर्नका निम्ति पैसा जुटाउन लाग्छन्। कहिलेकाहीँ अपहरणकारीहरूले आफन्तलाई फोन गरेर बलात्कार भइरहेको आवाज समेत सुनाइदिन्छन्।

हेइटीको अवस्थालाई लिएर त्यहाँ गैर-राष्ट्रसङ्घीय सशस्त्र फौज परिचालन गर्ने हो कि भन्नेबारे राष्ट्रसङ्घभित्र चर्चा चलेको बताइन्छ। तर यसबारे अगुवाइ गर्न वा सहभागी हुन कसैमा हतारो देखिँदैन। विदेशी फौजको आगमन हेइटीमा विवादग्रस्त रहँदै आएको छ।

यसअघिको राष्ट्रसङ्घीय मिसन यौन दुर्व्यवहारको घटनाका कारण विवादमा परेको थियो। त्यस्तै विगतमा नेपालबाट गएका शान्ति सैनिकहरूले हेइटीमा हैजा फैलाएको आरोप पनि लाग्यो। त्यतिखेर हैजाको महामारीले त्यहाँ १० हजार मानिसको ज्यान गएको थियो।

हेइटी देश उत्तर अमेरिकी महादेशको क्यारिबियन क्षेत्रमा पर्छ। अमेरिकाको फ्लोरिडा राज्यको मायमी सहरबाट प्लेनमा दुई घण्टामा हेइटी पुग्न सकिन्छ। बीबीसी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button