अन्तराष्ट्रिययस्तो पनि

अब उडिरहेको विमानमा पनि मोबाइलबाट कुरा गर्न पाइने

Thrill Factory
Rungta Group

युरोपेली सङ्घमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेको विमानभित्र पनि अब छिट्टै मोबाइल फोन प्रयोग गर्न पाउने भएका छन्।

उडिरहेको जहाजमा पनि कम गतिको मोबाइल डेटासहित फाइभ जी प्रविधि विमान सञ्चालकहरूले उपलब्ध गराउन सक्ने युरोपेली आयोगले जनाएको छ।

यसको अर्थ विमानका यात्रुहरूले अब आफ्नो मोबाइललाई फ्लाइट मोडमा राखिरहन पर्दैन। यद्यपि यसको कार्यान्वयन कसरी हुन्छ भन्ने अझै स्पष्ट छैन।

युरोपेली सङ्घका सदस्य राष्ट्रहरूलाई विमानका लागि फाइभ जी फ्रिक्वेन्सी उपलब्ध गराउन आगामी वर्षको जुन ३० सम्मको समय दिइएको छ।

यस्तो प्रविधि तयार भएपछि मानिसहरूले उडिरहेको विमानबाट पनि फोन गर्न सक्छन् र मोबाइल डेटाको प्रयोग  गर्न सक्छन् र गीत सङ्गीत सुन्न र भिडिओ पनि हेर्न सक्छन्।

आन्तरिक बजारका लागि ईयू कमिसनर टिएरी बेर्टोँले यो योजनाले “मानिसहरूलाई नवीन सेवाहरू उपलब्ध गराउने” र युरोपेली कम्पनीहरू फस्टाउने बताए। “उच्च क्षमता र द्रुत गतिको सञ्जालले उपलब्ध गराउने सुविधाका सम्भावनाहरू अब आकाश पुग्न सक्दैन भन्ने हुँदैन,” उनले भने।

युरोपेली आयोगले निश्चित फ्रिक्वेन्सीहरू विमानहरूका लागि सन् २००८ बाटै आरक्षित गरेको छ। कतिपय विमान सेवाहरूले यसअघिबाटै उडानका क्रममा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेका छन्।

तर यस्तो सेवा ऐतिहासिक रूपमै धीमा छ। विमानमा रहेका मानिसहरूको सम्पर्क जमिनसम्म पुर्‍याउन भू उपग्रह उपकरणको भर पर्ने भएकाले यस्तो इन्टरनेट सुस्त हुन्छ।

नयाँ प्रणाली फाइभ जी प्रविधिमा आधारित हुने भएकाले यसअघि उपलब्ध हुने सेवाभन्दा निकै तीव्र हुनसक्छ। यस्तो इन्टरनेट १०० एमबीपीएसको गतिमा चल्न सक्छ र एउटा चलचित्र केही मिनटभित्रै डाउनलोड गर्न सकिन्छ।

यूकेस्थित उडान सुरक्षा कमिटीका प्रमुख कार्यकारी डाई विटिङ्हम मोबाइलले विमानलाई गर्न सक्ने असरबारे पर्याप्त जानकारीको अभावका कारण मोबाइलमा हुने फ्लाइट मोड ऐतिहासिक रूपमै महत्त्वपूर्ण रहेको बताउँछन्।

“यसले स्वचालित उडान नियन्त्रण प्रणालीमा हस्तक्षेप गर्न सक्छ भन्ने चिन्ताहरू थिए,” उनी भन्छन्। “तर अनुभवले के देखायो भने यस्तो हस्तक्षेपको जोखिम धेरै नै कम हुने रहेछ। तर पनि उडानमा रहेको समयमा मोबाइललाई सधैँ एअरप्लेन मोडमा राख्न सिफारिस गरिँदै आएको छ।”

अमेरिकामा फाइभ जी फ्रिक्वेन्सीले उडानहरू प्रभावित गर्न सक्ने चिन्ता व्यक्त भएका थिए। यसले विमानको उचाइ मापनमा समेत प्रभाव पर्न सक्ने ठानिएको थियो।

तर यूके र युरोपेली सङ्घका देशहरूमा यो कुनै समस्या नहुने विटिङ्हम बताउँछन्। “यहाँ हस्तक्षेपको सम्भावना अति नै न्यून छ। हामीसँग फाइभ जी का लागि छुट्टै फ्रिक्वेन्सी छ र अमेरिकाको तुलनामा कम क्षमताको प्रणाली छ,”  उनले भने।

“यात्रा गरिरहने मानिसहरू फाइभ जी प्रयोग गर्न मन पराउँछन्। नियामक निकायहरूले त्यसको सम्भावना पनि खोल्दै जान्छन् तर उनीहरूले गरेका कामहरू सुरक्षित भएको निश्चित गर्नका लागि केही चरणहरू पार  गर्नुपर्ने हुन्छ।” बीबीसी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button