
बाजी, आर्टिफिसियल इन्टेलिजेन्स, लगानी गर्ने बैंक र तपाईँको समूहका साथीबीच के कुरा समान छ? विभिन्न परिवेश र पृष्ठभूमिका मानिसहरूले फिफा विश्वकपको परिणामबारे विभिन्न तरिकाबाट अनुमान लगाउँछन्।
उनीहरूको आशय पनि फरक छ: उदाहरणका लागि उनीहरूले बाजी हाल्न लगाएर थुप्रै पैसा कमाउँछन्। वित्तिय संस्थाहरूले बजारको अनुगमनका लागि आवश्यक हुने प्रक्षेपण यकिन गर्ने उद्देश्यले काम गर्छन्।


तर खेल अनुमान गर्न नसक्दा उनीहरूले तय गरेका प्रारुपहरूलाई नराम्री असर गर्छ। त्यस्तै खालको तर्क ब्राजिलको एथोस सलोमजस्तै तथाकथित “भविष्यवक्ता” ले पनि गर्छन्।
उनी कोभिड-१९ को विश्वव्यापी महामारी र रुसले युक्रेनमा गर्न लागेको हमलाको अनुमान गरेको दाबी गर्छन्। यदि फुटबल खेलको परिणाम पनि सही साबित भए त्यस्ता भविष्यवक्ताको “शक्ति” ले केही किसिमको वैधता पाउँछ।
खेलाडी र प्रशिक्षकसहितको विज्ञ टोलीले गर्ने अनुमानलाई पनि बिर्सन मिल्दैन। त्यस्तो अनुमान प्रतियोगिता अगाडि विश्वभरि सञ्चारमाध्यमले सार्वजनिक गर्छन्। पक्कै पनि ती निरन्तर रुपमा गलत हुने गर्छन्।
फुटबलको प्रशासकीय निकाय फिफाका अनुसार अहिले कतारमा भइरहेको खेल विश्वभरका करिब पाँच अर्ब जनताले हेर्छन्।
यूकेको ल्यानकास्टर विश्वविद्यालयस्थित अर्थ विश्लेषक प्राध्यापक रोबर्ट सिमोन्सले भने, “खेलमा बाजी मार्ने विषय मानिसको सन्तोषसँग जोडिएको तुष्टि हो चाहे त्यो पैसासँग जोडिएको विषय होस् वा पैसा नै नभएको विषय होस्।”
अर्जेन्टिनाले साउदी अरेबियासँग हार्ने र जर्मनीले जापानसँग हार्ने जस्ता विषयले खेलमा अनुमान गरेर बाजी राख्नु कति जोखिम हो भन्ने देखाइसकेको छ।
त्यही कुरालाई ख्याल गरेर हामीले विजेताको अनुमान गरिने केही तरिका यहाँ प्रस्तुत गरेका छौँ। तर यी कुनै पनि तरिकालाई बीबीसीले मान्दैन।
डिसेम्बर १८ तारिखमा कुन देशले विश्वकपको ट्रफी उचाल्छ भन्ने अनुमान गर्न सबैभन्दा नयाँ तरिका भनेको एल्गोरिदम र आर्टिफिसियल इन्टेलिजेन्स हुन्।
तथ्याङ्क विज्ञान र आर्टिफिसियल इन्टेलिजेन्सबारे यूकेमा रहेको एउटा महत्त्वपूर्ण अनुसन्धान केन्द्र एलन ट्युरिङ इन्स्टिट्युटले त्यसबारे अनुमान गर्छ।
उक्त इन्स्टिट्युटका वैज्ञानिकहरूले विगतका परिणाम र तथ्याङ्क प्रयोग गरेर ६४ विश्वकप खेलका १ लाख कम्प्युटर साइमुलेसन चलाउँछन्।
त्यस्ता झण्डै ४ मध्ये एउटा साइमुलेसनमा पाँच पटक विजेता ब्राजिल सबैभन्दा माथि त्यसपछि बेल्जियम अनि दुईपटक विजेता अर्जेन्टिना र फ्रान्स आउँछन्।