No Image Headlineदेशमुख्य खबरविशेष

चुनावको अन्तिम परिणाम नआउँदै कांग्रेसमा प्रधानमन्त्री बन्ने होड, कोको छन् दौडमा ?

Thrill Factory
Rungta Group

जारि मतगणनाबाट सत्तारूढ गठबन्धनको पक्षमा बहुमत पुग्ने प्रस्ट मार्गचित्र देखा नपर्दै सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस भित्र कैयौँ वरिष्ठ नेताहरूले प्रधानमन्त्री पदमा दाबी गरेका छन्।

पछिल्लो पटक उक्त पदमा दाबी गर्नेमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि पर्छन्। उनले अहिलेकै गठबन्धनमा रहेका दलहरूको नेतृत्वमा सरकार बन्ने र बहुमत नपुग्ने अवस्था आए अन्य दलहरूको पनि समर्थन जुटाउने बताए।

त्यसका लागि आफूले संसदीय दलको चुनाव लड्ने र प्रधानमन्त्री पदमा दाबी गर्ने उनले बताए। उनी भन्छन्, “राष्ट्रलाई मेरो आवश्यकता छ। मैले देशलाई योगदान पुर्‍याउनु छ। अब यो अवस्थामा केही गरि छाडौँ भन्ने मेरो सोच हो।”

उनले थपे, “मेरो यत्रो क्षमता र अनुभवलाई उपयोग गर्न नै पाइएन। अब देशमा मेरो परीक्षण हुनुपर्छ।” उनी तनहुँ जिल्लाको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

नवलपुर १ बाट निर्वाचित भएपछि कांग्रेसका पूर्व महामन्त्री शशाङ्क कोइरालाले आफूले पनि संसदीय दलको नेतामा दाबी गर्ने प्रतिक्रिया दिएका छन्।

मोरङ ६ बाट निर्वाचित कांग्रेसका नेता शेखर कोइरालाले ‘साथीहरूसँगको छलफलपछि’ मात्रै आफूले संसदीय दलको नेतृत्व दाबी गर्ने या नगर्ने बारे निर्णय लिने बताएका थिए।

आगामी सरकारको नेतृत्वका लागि आफ्नो दाबी रहने कांग्रेस महामन्त्री गगन थापाले यसअघि नै बताइसकेका छन्। पार्टीको संसदीय दलको नेतामा चुनिने थापाको प्रयासमा आफ्नो साथ रहने धारणा अर्का महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक रूपमा राखेका छन्।

चुनावअघि नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले निर्वाचनपछि पनि देउवाकै नेतृत्वमा सरकार बन्ने बताएका थिए। तर वरिष्ठ नेता पौडेलले आफूले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने मनस्थिति बनाएको बताए।

मुलुकले उच्च नैतिक चरित्र सहितको नेता खोजिरहेको भन्दै उनले भने, “राजनीतिमा म यो कामको लागि आफूलाई प्रस्तुत गर्छु भनिसकेको पछि फलानोसँग लड्ने र फलानोसँग नलड्ने भन्ने हुँदैन।”

पाँच पटक प्रधानमन्त्री बनिसकेका ७७ वर्षीय देउवामाथि नेतृत्व हस्तान्तरणका लागि कतिपय युवा नेताहरूले दबाब दिँदै आएका छन्।

एक दशकअघि १७ पटक प्रधानमन्त्री पदको चुनाव लडेर पनि परिणाम आफ्नो पक्षमा पार्न नसकेका पौडेल आफूलाई एक पटक सरकारको नेतृत्व गर्ने मौका दिइनुपर्ने तर्क गर्दै आएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button