खबर फटाफटदेश

दशैँको टिका थाप्ने क्रम आज तेस्रो दिन पनि जारी

Thrill Factory
Rungta Group

आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहल बढेको छ।

नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिनेक्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजनकहाँ जान नसकेकाहरु आज भने राजधानीमा आकाश खुलेकाले बिहानैदेखि हिँड्न थालेका छन्।

विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएकाले नवदुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद लिन टाढाटाढा आफन्तकहाँ जान कठिन भएको थियो। दुई दिनसम्म हिँड्न नपाएका राजधानीवासीको आज भने आकाश खुलेसँगै बिहानैदेखि चहपहल देखिएको हो।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको असरले वर्षा भएको जनाएको छ। महानवमीदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै एवं बाँकी प्रदेशका थोरै स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको महाशाखाको भनाइ छ।

राजधानीमा आकाश केही खुलेको देखिए पनि पश्चिम नेपालमा अझै वर्षाको सम्भावना रहेको जनाइएको छ। त्यस क्षेत्रका मानिसलाई भने अझै दुर्गाको प्रसाद लगाउन र आशीर्वाद थाप्न असहज हुने देखिएको छ। पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा कुनै बाधा नरहेको बताउँछन्। केही दिन सुनसान रहेको राजधानी सहरमा आज बिहानदेखि भने केही चहलपहल देखिन थालेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button