No Image Headlineअर्थमुख्य खबरविशेष

भारतले सीमा शुल्क घटाउँदा नेपालबाट उल्टै घट्छ खाने तेलको निकासी !

Thrill Factory
Rungta Group

वैदेशिक व्यापारको सामान्य सिद्धान्तअनुसार भारतले कुनै वस्तुको आयातमा सीमा शुल्क घटाउँदा नेपालबाट त्यस्ता वस्तुको निकासी बढ्नुपर्ने हो । नेपालबाट भारत निकासी हुने प्रशोधित खाने तेलको व्यापारमा भने यो बजार सिद्धान्तले काम गर्दैन ।

भारतले तेलको बजार मूल्य नियन्त्रणमा राख्न तेल भित्र्याउँदा लाग्ने यस्तो शुल्क घटाएलगत्तै नेपालबाट हुने निर्यात स्वात्तै घटेको छ । यसले स्वदेशका ३० ओटा तेल उद्योगको करीब १५ अर्ब रुपैयाँ लगानी संकटमा परेको नारायणी आयल रिफाइनरीका सञ्चालक निखिल चाचानले बताए ।

भारतमा ४० प्रतिशतसम्म उच्च दरको सीमा शुल्क हुँदा तेस्रो मुलुकबाट अर्धप्रशोधित तेल भित्र्याएर स्वदेशी उद्योगले भारततर्फ प्रशोधित तेल निर्यात गरेका थिए । स्वदेशी उद्योगले युक्रेन, इन्डोनेशिया र मलेशियाबाट अर्धप्रशोधित तेल ल्याएर यहाँ प्रशोधन गरी भारत निकासी गर्दै आएका थिए । नेपाल र भारतबीचको आयात महशुल अन्तर र निकासी सहुलियतको लाभ स्वदेशी उद्योगले लिएका थिए ।

यस्ता उद्योगले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) सहुलियतमा शून्यदेखि ५ प्रतिशतसम्म सीमा शुल्क तिरेर निर्यात गर्दै आएका थिए । निकासी गरेपछि कच्चा पदार्थमा नेपाली भन्सारमा तिरेको १० प्रतिशत महशुल र मूल्यअभिवृद्धि कर पनि उद्यमीले फिर्ता पाउँथे ।

कोरोना महामारी र रुस–युक्रेन युद्धका कारण उत्पन्न र सम्भावित खाद्यान्न संकटलाई ध्यानमा राखेर भारत रणनीतिक उपायमा उत्रिएपछि नेपालबाट हुने निकासी प्रभावित भएको हो । तेलको बजार मूल्य तल झार्न तेल आयातमा लगाइएको शुल्क घटाउँदै २ दशमलव ५ प्रतिशतमा झारिसकेको छ ।

यतिमात्र होइन, त्यहाँको चालू आर्थिक वर्ष (आव) २०२२/ २३ र आगामी वर्ष २०२३/ २४ का लागि २०/ २० लाख मेट्रिकटन (टन) भटमास र सूर्यमुखीको अर्धप्रशोधित तेलमा आयात र कृषि पूर्वाधार विकास कर पूर्ण रुपमा हटाइएको छ ।

यी दुई आर्थिक वर्षमा भारतमा ८० लाख टन अर्धप्रशोधित तेल शून्य शुल्कमा भित्रिने छ । यसको सिधा असर नेपालबाट हुने तेलको निकासीमा देखिएको छ । तेल निकासी हुने मुख्य नाका वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आव २०७९÷८० को पहिलो २ महीनामा गत आवको समीक्षा अवधिको तुलनामा प्रशोधित तेलको निकासी उल्लेख्य परिमाणले घटेको छ ।

प्रशोधित पाम तेल गत आवको साउन र भदौ महीनामा २ करोड ९८ लाख लीटर निर्यात भएको थियो । यो वर्ष समीक्षा अवधिमा ९६ लाख लीटरमात्र गएको छ । गत वर्ष भटमासको तेल ४ करोड ७० लाख किलोग्राम निर्यात भएकोमा यो वर्षको सोही अवधिमा ३५ लाख किलोग्राममात्र छ । त्यस्तै ५७ लाख ९६ हजार लीटर सूर्यमुखी तेल भारतीय बजारमा गएकोमा यो वर्षको २ महीने अवधिमा १ लाख ९९ हजार लीटरमात्र गएको छ ।

नेपालको निर्यात व्यापारमा तेल मुख्य योगदान थियो । तेल निकासी प्रभावित भएपछि व्यापारघाटा अझ बढ्ने दाबी ओसीबी फुड्स एण्ड फिड्सका सञ्चालक सुरेश रुंगटाले गरे । भारत निकासी सहज हुँदा अधिकांश उद्योगले क्षमता विस्तार गरेका थिए । केही नयाँ उद्योग पनि आए ।

अहिले स्वदेशी उद्योगको उत्पादन क्षमता करीब २५ लाख टनको हाराहारीमा छ । योमध्ये ५ लाख टन जति स्वदेशमा खपत हुन्छ । अरू परिमाण निकासी हुँदैआएकोमा अब निकासी कठिन बन्दै गएको छ । अहिले यस्ता उद्योग क्षमताको १५ देखि २० प्रतिशतमा चलेको उद्यमीहरू बताउँछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button