No Image Headlineअर्थमुख्य खबर

व्यापारमा मन्दीको मार, निर्माण सामग्री उद्योग क्षमताको २५ प्रतिशतमा झरे

Thrill Factory
Rungta Group

सामान्यतः कुनै पनि वस्तुको मूल्य बढ्दा बजारमा त्यस्तो उत्पादनको माग बढेको हुन्छ । तर, अहिले बजारको यो सर्वमान्य सिद्धान्तले काम गरेको छैन । कोरोना महामारीयता अर्थतन्त्रमा देखिएको असामान्य अवस्थामा हरेकजसो वस्तुको लागत बढेको छ । बजारमा माग भने छैन ।

बजारले साथ नदिएपछि स्वदेशी सिमेन्ट र डन्डी उद्योगको बजार खस्किएको छ । यस्ता उद्योगले उत्पादन घटाएका मात्र छैनन्, लागतभन्दा कम मूल्यमा बेच्न बाध्य भएको सम्बद्ध व्यवसायीको भनाइ छ ।

कोरोना महामारीले उत्पादन र आपूर्ति शृंखला बिथोलिँदा वस्तु र सेवाको लागत बढे पनि बजार भने खुम्चिएको छ । अन्तरराष्ट्रिय बजारमै वस्तु तथा सेवाको मूल्य अभिवृद्धिले नेपालजस्तो आयातमा आधारित उत्पादनमा वस्तुको मूल्य बढेको छ ।

बैंकमा लगानीयोग्य रकमको अभाव देखाएर लगानीमा भएको कडाइ र अर्थतन्त्रमा गम्भीर संकटको हल्लाका कारण सर्वसाधारणले अत्यावश्यकीय उपभोगमा मात्र खर्च गर्न थालेकाले बजारमा माग घटेको नारायणी सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक सतीश चाचानको बुझाइ छ ।

‘सर्वसाधारणले अति आवश्यक कुरामा मात्रै खर्च गरिरहेका छन् । निर्माण प्राथमिकतामा नपर्दा निर्माण सामग्रीको माग घटिरहेको छ,’ चाचानले भने, ‘सरकारको प्राथमिकता पनि चुनावमा छ । विकास बजेट खर्च भएको छैन । यसले माग सृजना हुन सकेको छैन ।’

सिमेन्ट उद्योगहरू क्षमताको एक चौथाइमा झरिसकेको उद्यमीहरूले बताएका छन् । ‘बजारमा माग नै छैन । वर्षाको बेलामा यसै पनि माग कम हुने हो । त्यसमाथि लगानीमा कडाइ र उच्च ब्याज दरले निर्माण क्षेत्रमा लगानी नहुँदा माग नै छैन,’ एक उद्यमीले भने, ‘यस्ता उद्योगको उत्पादन अहिले क्षमताको २५/३० प्रतिशतमा झरिसकेको छ ।’

यसको असर उत्पादनको मूल्यमा परेको छ । माग नभएपछि उद्योगहरूबीच सस्तोमा बेच्ने प्रतिस्पर्धा चलेको छ । यतिसम्म कि, कतिले त लागत मूल्यभन्दा पनि कममा विक्री गर्न थालेका छन् । औसतमा प्रतिबोरा (५० किलो) ७५० रुपैयाँ मूल्य रहेको अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) को भाउ अहिले बोरामै १५० रुपैयाँसम्म घटिसकेको छ ।

उद्योगपिच्छे मूल्य केही तलमाथि भए पनि यो सिमेन्टको भाउ अहिले बोराको ६०० देखि ६५० रुपैयाँसम्म छ । पोर्टल्यान्ड पोजोलना सिमेन्ट (पीपीसी) प्रतिबोरा ५०० देखि ५७० रुपैयाँसम्ममा झरिसकेको छ । ६०० रुपैयाँभन्दा कम मूल्यमा सिमेन्ट बेच्दा लागत पनि नउठ्ने उद्यमी बताउँछन् ।

अम्बे सिमेन्टका महाप्रबन्धक राकेश अधिकारी स्वदेशी बजार खुम्चिएको बेला भारत निकासीले राहत दिनसक्ने भए पनि अहिले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकिने बताउँछन् । भारतमा ओपीसी सिमेन्ट ३५० भारतीय रुपया (५६० रुपैयाँ) छ । नेपालको सिमेन्टको न्यूनतम लागत ६०० रुपैयाँ हाराहारी हुन्छ ।
‘भारतले वस्तु तथा सेवा कर नै १२ प्रतिशत लिन्छ । सरकारले दिने भनेको ८ प्रतिशत अनुदानको प्रावधान पनि व्यावहारिक छैन । यस्तोमा निकासी पनि सम्भव देखिएन,’ अधिकारीले भने ।

माग उच्च हुँदा शतप्रतिशत क्षमतामा चल्ने डन्डी उद्योगले माग नै आउन छोडेपछि अहिले उत्पादन घटाउने अवस्था आएको छ । केही डन्डी उद्योगले मात्र क्षमताको ५० प्रतिशत उपयोग गरेका छन् । अधिकांश २५ प्रतिशतमा खुम्चिएका छन् ।

उद्योगले पूरा क्षमतामा उत्पादन गर्न नपाउँदा सीमित उत्पादनमै बैंकको ब्याज, मजदूर तथा कर्मचारी खर्चको भार पर्दा लागत झन् चुलिएको छ । कच्चा पदार्थ र ढुवानी खर्च पनि तुलनात्मक वृद्धि भएको उद्यमी बताउँछन् । यस्ता वस्तुको उत्पादन लागत बढे पनि लागतभन्दा पनि कम मूल्यमा विक्री गर्नुपरेको बारा–पर्सा उद्योग संघका उपाध्यक्ष रमेश अग्रवालले दाबी गरे ।

डन्डी उत्पादक जगदम्बा इन्टरप्राइजेजका सञ्चालकसमेत रहेका अग्रवालका अनुसार अहिले डन्डीको उत्पादन लागत प्रतिकिलो ९६ रुपैयाँ पर्छ । तर, उद्योगीले ९३ रुपैयाँमा विक्री गरिरहेका छन् । ‘नाफा कमाउन होइन, घाटा कम गर्न सस्तोमै भए पनि बेच्नैपर्ने बाध्यता छ,’ अग्रवालले भने । ६ महीनाअघि डन्डीको मूल्य किलोको १०८ रुपैयाँ पुगिसकेको थियो । उपभोक्ताले यो मूल्यमा मूल्य अभिवृद्धिकर थप तिर्नुपर्छ ।

उद्योगी राजेश क्याल वर्षाको समयमा यसै पनि बजार खुम्चिने भए पनि यो वर्ष अनपेक्षित रूपमा घटेको अनुभव सुनाउँछन् । सरकारले पूँजीगत खर्च बढाएर विकास निर्माणका काम अघि बढाएमा बजारमा सुधार आउने क्यालको भनाइ छ । आसन्न चुनावपछि बजारले गति लिने उनको अपेक्षा छ ।

उपाध्यक्ष अग्रवाल सरकारको ध्यान चुनावमा केन्द्रित भइसकेकाले मङ्सिरयता निर्माण सामग्रीको बजारमा सुधार आउने सम्भावना देख्दैनन् । ‘चुनावबाट नयाँ सत्ता आएपछि विकासका कामले गति लिने र वित्तीय क्षेत्रमा पनि सुधार आउने आशा उद्यमीले गरेका छन् । हेरौं, मङ्सिर–पुसपछि केही हुन्छ कि,’ अग्रवालले भने । आर्थिक अभियानबाट 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button