No Image Headlineअर्थमुख्य खबरविशेष

खुम्चियो वैदेशिक व्यापार : आयात घटेपछि राजस्वमा पनि दबाब

Thrill Factory
Rungta Group

कोभिड–१९ महामारी, आर्थिक मन्दी, बैंकमा तरलता अभाव र आयात निरुत्साहित गर्ने सरकारी नीतिका कारण वैदेशिक व्यापार प्रभावित हुन थालेको छ । साउनबाट आयात घट्न थालेपछि निर्यात पनि प्रभावित भएकाले नेपालको वैदेशिक व्यापारमा प्रभाव देखिएको हो ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को भदौसम्ममा देशको वैदेशिक व्यापार १५ दशमलव ७० प्रतिशतले घटेको छ । २०७८ भदौसम्ममा ३ खर्ब ५८ अर्व ५५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा २०७९ भदौसम्ममा ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँ झरेको छ ।

विभागले आइतवार सार्वजनिक गरेको तथ्यांकअनुसार भदौसम्ममा १३ दशमलव शून्य १ प्रतिशत आयात घट्दा निर्यात ३४ दशमलव ८८ प्रतिशतले घटेको छ । यस कारण व्यापार घाटामा पनि ९ दशमलव ४५ प्रतिशतले कमी आएको छ ।

चालू आवको पहिलो महीना साउनमै वैदेशिक व्यापार १४ दशमलव ८१ प्रतिशतले घटेको थियो । २०७९ साउनमा आयात १२ दशमलव ९०, निर्यात २८ दशमलव ६८ र व्यापारघाटा १० दशमलव ३८ प्रतिशतले घटेको थियो । गत आवको शुरूदेखि नै विदेशी मुद्राको सञ्चितिमाथि परेको दबाबका कारण आयात निरुत्साहित गर्ने सरकारले नीति लिएको थियो ।

आयात कम गर्न राष्ट्र बैंकले नगद मार्जिनको प्रावधानका साथै सुन आयात कोटा घटाएको थियो । सरकारले पनि विभिन्न प्रकारका विलासी सामान आयातमा रोक नै लगाएको थियो । भन्सार विभागका अनुसार २०७८ भदौसम्ममा ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँ बराबरको आयात भएकोमा २०७९ भदौसम्ममा १३ दशमलव शून्य १ प्रतिशतले घटेर २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

तर, अघिल्लो महीना साउनको तुलनामा भने आयात वृद्धि भएको छ । २०७९ साउनमा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएकोमा भदौ महीनामा भने १ खर्ब ४२ अर्ब ३१ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

सबैभन्दा उच्च आयातको सूचीमा डिजेल रहेको छ । चालू आवको २ महीनामा १८ अर्ब ४२ करोड १५ लाख रुपैयाँको डिजेल आयात भएको छ । यस्तै १२ अर्ब १८ करोड ९४ लाख रुपैयाँको पेट्रोल, १० अर्ब ४२ करोड ३ लाख रुपैयाँको एलपीजी ग्यास आयात भएको छ ।

भदौमा आयातसँगै निर्यात पनि घटेको छ । २०७८ भदौसम्ममा ४४ अर्ब ३ करोड ९५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा २०७९ भदौसम्ममा भने २८ अर्ब ६८ करोड ४ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

२०७९ साउनको तुलनामा भदौमा निर्यात झनै खुम्चिएको छ । साउनमा १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात भएकोमा भदौमा १३ अर्ब ८७ करोड ७६ लाख रुपैयाँको मात्र निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ ।

आयात घटेपछि गत आवको तुलनामा चालू आवमा व्यापार घाटा पनि कम भएको छ । २०७९ भदौमा व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड पुगेको छ । गतवर्षको यही अवधिमा २ खर्ब ७० अर्ब ४७ करोड व्यापार घाटा रहेको थियो ।

अत्यधिक आयातका कारण शोधानान्तर घाटा उच्च हुनुका साथै विदेशी मुद्राको सञ्चितिसमेत घट्न थालेपछि राष्ट्र बैंकले चालू आवको पुसबाट नै आयात निरुत्साहित गर्न नीति अघि सारेको थियो । यसैगरी सरकारले पनि वैशाखदेखि भने  विलासिताका सामान आयातमा रोक लगाएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता अभावसँगै बैंकहरूले कर्जा लगानी बन्द गरेपछि पनि आयात प्रभावित भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button