No Image Headlineदृष्टि/संवाद

सडकको गुणस्तरमा चरम लापरवाही, मृत्युमार्ग बन्दै राजमार्ग

Thrill Factory
Rungta Group

एकजना बेलायती प्रधानमन्त्रीले भनेका थिए– अमेरिका विकसित भएर त्यहाँको सडक राम्रो भएको होइन, सडक राम्रो भएकोले अमेरिका विकसित भएको हो । सडक विकासको प्राथमिक पूर्वाधार हो । जहाँ सडक पुग्छ, त्यहाँ पछिपछि विकास पनि पुग्छ । हामीकहाँ सडक त बने, तर तिनको गुणस्तर र मापदण्डलाई पूरै बेवास्ता गरिंदा राजमार्ग कि मृत्युमार्ग भन्ने प्रश्न उठने गरेको छ ।

सडक र सवारी सञ्चालनको प्रभावकारी नियमन नहुँदा बर्सेनि सयौं मानिसले अकालमा ज्यान गुमाइराखेका छन् । हामीकहाँ चाडपर्वको समयमा मानिसको आवागमन मात्र होइन, दुर्घटनामा समाचार पनि बढी आउँछन् । यसमा सडकको दुरवस्था पनि एउटा मुख्य कारण हो । विसं २००७ मा करीब ३७० किलोमिटर रहेको नेपालको सडक अहिले करीब एक लाख किलोमिटर पुगेको छ ।

सबैजसो जिल्लामा सडक पहुँच पुगेको छ । सडक विभागले ३० हजार किलोमिटर र स्थानीय सरकार अन्तर्गत ६० हजार किलोमिटर सडक निर्माण भएको सरकारी तथ्याङ्क छ । ३२ हजार किलोमिटर सडकमा त बा¥है महीना सवारी चल्छन् । विकास भनेकै सडक हो भन्ने मानसिकता विकास भएको छ । हो, सडकले सुविधा त दिएको छ । तर सडकको सुरक्षाको पक्षलाई कत्ति पनि ध्यान दिइएको छैन । यसले दुर्घटना बढाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको एक अध्ययन अनुसार सवारी (सडकमा हुने) दुर्घटनामा दैनिक ३६ सय मानिसको मृत्यु हुने गरेको छ । बर्सेनि दुई करोडदेखि पाँच करोड मानिस घाइते हुन्छन् । पैदलयात्री, साइकलयात्री र मोटरसाइकल यात्री बढी परेका छन् । विश्वमा पाँच वर्षदेखि २९ वर्ष उमेर समूहका मानिसको मृत्युको कारण सवारी दुर्घटना नै बढी हुने गरेको छ । धेरै देशले आफ्नो जिडिपीको तीन प्रतिशतसम्म रकम यस्ता दुर्घटनामा खर्च भइरहेको तथ्याङ्क यो बहुपक्षीय निकायको अध्ययनले उजागर गरेको छ ।

अध्ययनको अर्को तथ्य यो पनि छ कि यस्ता दुर्घटनाका कारणले हुने मृत्यु विश्वका धनी देशभन्दा नेपालजस्ता गरीब तथा अल्पविकसित देशहरूमा बढी हुन्छ । दुर्घटनामा मृत्यु हुनेमध्ये गरीब देशमा ९० प्रतिशतभन्दा बढी हुने तथ्याङ्क विश्व स्वास्थ्य सङ्गठनको छ । नेपाल प्रहरीका अनुसार बितेका पाँच वर्षमा सवारी दुर्घटानामा १० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । सडकमा हुने दुर्घटनाको ग्राफ बर्सेनि बढिराखेको छ । सवारी दुर्घटनामा बढी दोष चालकको लापरवाहीलाई दिने गरिएको छ । खराब अवस्थाका सवारीसाधन र सडकको दुरवस्थालाई कमै मात्र हेर्ने गरिएको छ । आज अधिकांश दुर्घटना सडकको खराब अवस्थाका कारण भएका छन् ।

जथाभावी अन्धाधुन्ध सडकको ट्र्याक खोल्ने काम भइराखेको छ । स्थानीय सरकारमा गएका जनताका प्रतिनिधि नै डोजरका साहु भएपछि डाँडा खोतलेर सडकको ट्र्याक बनाइएको छ, तर त्यसको सुरक्षाको पाटोलाई पूरै बेवास्ता गरिएको छ । यस्ता नाम मात्रका सडकमा सवारीसाधन कुदेका छन् । त्यस्ता सडक सुरक्षाका दृष्टिले उपयुक्त छन् कि छैनन् ? सडक बनाइएको स्थानको भूगर्भ सडकयोग्य छ कि छैन ? यस्ता कुरामा कसैको ध्यान गएको पाइँदैन । कतिपय स्थानमा पहरा खोतल्दा पहिरो गएको छ । परिणाम, त्यस्ता सडक मानिसको अकाल मृत्युको कारण बनेको अवस्था छ । सडक मानिसका लागि थापिएका धरापजस्ता बनेका छन् ।

अहिले चाडपर्वको माहोल शुरू भएको छ । प्रायः चाडपर्वमा मानिसको आवागमन बढी हुन्छ । नेपालीहरूको मुख्य पर्व दशैंमा सवारीसाधनमा सर्वसाधारणको भीडभाड नै लाग्ने गर्छ । मानिसको आवागमन बढी हुने भएकाले यो बेला दुर्घटनाका सामाचार पनि बढी आउने गरेका छन् । सडकमा सबैभन्दा बढी दबाब पर्ने भनेकै पर्वको समयमा हो ।

यो बेला कुनै पनि दुर्घटना भयो भने सरोकारका निकायहरू सवारीको तीव्र गति र चालकको कमजोरीलाई कारण देखाएर जिम्मेवारीबाट पन्छिने गरेका छन् । तर सडकको दुरवस्था सुधार्नेतर्फ कसैको ध्यान गएको देखिंदैन । आज पछिल्लो समयमा बनेका केही सडक (ती पनि नयाँ भएकाले मात्रै ठीक देखिएका हुन् । कति निर्माण नसकिंदै बिग्रिन शुरू भइसकेका छन् ।)बाहेक सबैजसो मुख्य मार्गहरू सही हालतमा छैनन् ।

मुख्य मार्ग मानिएको पूर्व–पश्चिम राजमार्गको दुर्गति नै यसको भेउ पाउन पर्याप्त हुन सक्छ । राजमार्गको हबिगत हेर्न लायक छैन । ठाउँठाउँमा खाल्डाखुल्डी र भत्किएका सडक दुर्घटना निम्त्याउने कारण बनेका छन् । पूर्व–पश्चिम राजमार्ग मात्र होइन, कुनै पनि सडकमा सुरक्षित यात्रा गर्न सक्ने स्थिति छैन । कतिपय सडकको त कालोपत्र भत्किएर बगरजस्तो देखिन्छ ।

कतै बाटोमा होइन, खोलाको बगरैबगर गाडी कुदाउनुपर्ने अवस्था छ । अरू त परको कुरा, देशको मुख्य प्रशासनिक केन्द्र भनिएको काठमाडौं उपत्यकाका सडकसमेत सद्दे अवस्थामा छैनन् । राजधानीकै सडकमा बनेको खाडलमा जमेको पानीमा डुबेर मानिसको मृत्यु भएका खबर पढिएकै हो । भत्किएको सडक र त्यहाँका खाल्डाखुल्डी दुर्घटनाका मुख्य कारण बनेका छन् ।

दशैंको समयमा खासगरी सङ्घीय राजधानी काठमाडौंबाट बाहिर जानेहरूको भीड बढ्ने गर्दछ । सवारीसाधनको सङ्ख्या कम हुनुले सीमित सवारीमा यात्रु कोचेर यात्रा भइराखेको छ । पुराना सवारीमा खचाखच भरिएका यात्रु र सडकको बेहाल दुर्घटनाका कारण हुन् । हामीकहाँ कुनै ठूलै घटना दुर्घटना भएपछि मात्रै सवारी सुरक्षाको चेत आउँछ । त्यो घटना बिर्सिंदै जाँदा चेतना मात्र होइन, सतर्कतासमेत हराएर जान्छ ।

स्मरण हुन्छ, केही वर्षअघि दशैंको केही दिनअघि भएको एउटा ठूलो सवारी दुर्घटना (मानवीय क्षतिका हिसाबले)ले त्यो बेला सवारीसाधनले सीट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने नियम कडाइका साथ लागू गरिएको थियो । त्यो वर्ष दशैंतिहारमा यात्रुले सुविस्तासँग यात्रा गर्न पाएका थिए । त्यसको केही समयपछि त्यो सबै नियम हावा खायो । त्यति बेला चाहिएजति सवारीसाधान व्यवस्थापन गर्न सक्ने यातायात व्यवसायीहरू अहिले सवारीसाधनको सङ्ख्या कम भएको बताइराखेका छन् । यात्रुलाई आलुका बोरा कोचिएझैं यात्रा गर्न विवश पारिएको छ ।

त्यस बेला सवारीधनीहरूले विरोध पनि गरेका थिए । तर सरकार कडा भएपछि उनीहरूको विरोधको स्वर हराएर गयो । सवारी व्यवसायीहरूको मनोमानीमा पनि लगाम लगाउन जरुरी छ । सवारीसाधनको क्षमताभन्दा बढी यात्रु कोचेर व्यवसाय गर्न पाउनुपर्दछ भन्ने व्यवसायी होइनन्, ती यमराज हुन् । त्यस्ताविरुद्ध सरकार कठोर हुनुपर्दछ । तर कतिपय अवस्थामा यस्तो अराजकता र सिन्डीकेटको अगाडि सरकार लाचार भएको देखिएको छ । यस्तोमा मिलेमतोको गन्ध पनि नआएको होइन ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले लामो दूरीमा चल्ने सवारीसाधनमा दुईजना चालक अनिवार्यरूपमा राख्नुपर्ने व्यवस्थाका साथै प्रत्येक चार घण्टामा थकाइ मेट्ने, चालक परिवर्तन गर्नेलगायतका व्यवस्था गरेको छ । यातायात व्यवसायीले त्यसको पालना गरेका छैनन् । ‘टाइम कार्ड’ लागू गरिएको भएपनि त्यो नाम मात्रको छ । यात्रु चढाउन बाटोमा ढिला गर्ने अनि समयमा पुग्न तीव्र गतिमा सवारी दौडाउँदा दुर्घटनाको जोखिम बढेको छ । कतिले त यात्रुलाई चढ्न र ओर्लिनमा पनि हतार गरेको देखिएको छ । यसले पनि दुर्घटनाको सम्भावनालाई बढाएको छ ।

अर्को, सवारी चालक अनुमतिपत्र लिंदा पनि ड्राइभिङ स्कूलबाट तालीम प्राप्त गरेको हुनुपर्ने, लिखित र प्रयोगात्मक परीक्षा पास गरेको हुनुपर्ने भएपनि यी सबै रकमी खेलमा खुम्चिएका छन् । सवारी चालक अनुमतिपत्र वितरणमा पैसाको लेनदेनले अदक्ष चालक उत्पादन भइराखेको छ, जो दुर्घटनाका कारण बनेका छन् ।

अनुमतिपत्र पाएकालाई परीक्षणकालमा राख्ने, वर्षमा लगातार पाँचपटक ट्राफिक नियम उल्लङ्घन गरेमा चालक अनुमतिपत्र खारेजीजस्ता नियम पनि कडाइका साथ लागू हुन आवश्यक छ । सवारीसम्बन्धी ऐन नियम, जो असान्दर्भिक छन्, त्यस्ता कानूनमा संशोधन आवश्यक भइसकेको छ ।

अन्त्यमा, सडक विकासकार आधारभूत पूर्वाधार हो भन्नेमा विवाद छैन, तर हामीकहाँ अधिकांश सडक कामचलाउ खालका छन्, गुणस्तरीय छैनन् । सडकको गुणस्तरभन्दा पनि लोकप्रियताका लागि किलोमिटर नाप्ने परिपाटी बढी देखिएको छ । गुणस्तरीय सडकले विकासलाई सघाउने मात्र होइन, मानिसलाई अकाल मृत्युबाट पनि जोगाउन सक्छ भन्ने तथ्यलाई पूरै बेवास्ता गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button