No Image Headlineदेशमुख्य खबरविशेष

पेचिलो बन्दै पर्साको सिट बाँडफाँट, क्षेत्र नं. १ मा कसले मार्ला बाजी ?

मेयरमा जसपालाई सघाएकाले सांसदमा कांग्रेसले पाउनुपर्ने मत बलियो

Thrill Factory
Rungta Group

सत्ता गठबन्धन सिट बाँडफाँटको सकसमा अल्झिइराख्दा यता पर्सा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यको सिट कसले लिने भन्ने विषय झन् पेचिलो बन्दै गएको छ । अनौपचारिक रुपमै भए पनि अन्य जिल्लाका अधिकांश स्थानमा सिट बाँडफाँट टुंगो लागे पनि पर्सामा कांग्र्रेस र जनता समाजवादी पार्टीबीच तानातान चलिरहेको छ ।

महानगरको मुख्य क्षेत्र समेटिएको क्षेत्र नं. १ को सिट बाँडफाँट निकै रोचकमात्र होइन, सत्ता गठबन्धनका दल र ती दलका आकांक्षीबीच तीव्र तानातान देखिएको छ । यो क्षेत्रबाट जितेका प्रदीप यादव अहिले वन तथा वातावरण मन्त्री छन् । उनी जसरी पनि यो क्षेत्रबाट टीकट पाउनुपर्ने अडानमा छन् भने नेपाली कांग्रेसका अनिल रुंगटा र पूर्व जिल्ला सभापति अजयकुमार द्विवेदी प्रवल आकांक्षीको रुपमा अगाडि आएका छन् ।

प्रधामन्त्रीसमेत रहेका कांग्रेस सभापतिको खास निकट भनेर चिनिएका रुंगटा अघिल्लो चुनावमा यादवसँग झिनो मतान्तरले हारेका थिए । यस पटक जसरी पनि गठबन्धनबाट टीकट लिएर जित आफ्नो पक्षमा निकाल्ने दाउ उनको छ ।

यता द्विवेदी जसरी पनि पर्सा १ मा लड्ने मनस्थितिमा भएको उनी निकट स्रोतले बताएको छ । कांग्रेसको संस्थापन इतर पक्षका लागेका उनको सम्बन्ध देउवासँग त्यति राम्रो नभएकाले कांग्रेसबाट टीकट नपाए अन्य दलबाट भए पनि चुनाव लड्ने तयारीमा रहेको चर्चा वीरगञ्जमा बाक्लै सुनिन्छ ।

विगतमा झिनो मतान्तरले हारेका रुंगटाले यस पटक गठबन्धनको उम्मेदवार बन्ने अडान राख्नु र द्विवेदी जसरी पनि चुनाव लड्ने मनस्थितिमा हुनुले कांग्रेसले यो क्षेत्रमा आफ्नो संगठनको अस्तित्व जोगाउन पनि आफ्नै भागमा पार्न कम्मर कसेर लागेको छ ।

मेयर र सांसद दुवै जसपालाई दिँदा यो क्षेत्रमा कांग्रेसभित्र विग्रह हुने र संगठन पत्तासाफ हुने चिन्ताले कांग्र्रेसीहरूले यो क्षेत्र छोड्न नहुने अडान लिएको बुझिएको छ । यसो भएमा वाहालवाला मन्त्रीसमेत रहेका यो क्षेत्रमा बाहालावाला सांसद यादवको राजनीतिक भविष्य भने धरापमा पर्ने देखिन्छ ।

तर, यादव यो क्षेत्रमा आफूले जितेकाले जसरी पनि टीकट जसपाको भागमा पर्नुपर्ने र उम्मेदवार आफू नै हुनुपर्नेमा अडिएका छन् । उनले यसका लागि बालुवाटरको किचन क्याबिनेटसम्मै पहुँच पु¥याइसकेको स्रोतको दाबी छ ।

यो क्षेत्रमा २०७४ को चुनावमा तत्कालीन संघीय समाजवादी फोरमले जितेको थियो । त्यसैले पर्सा १ मा यस पटक पनि आफूले पाउनुपर्ने अडानमा जसपा छ ।

जसपाले पर्साका चारै निर्वाचन क्षेत्रमा दाबी गरिरहेको स्रोतले बतायो । अघिल्लो चुनावमा मधेसवादी गठबन्धनले चारै क्षेत्रमा जित हात पारेको थियो ।

यो क्षेत्रमा वीरगञ्ज महानगरसमेत समेटिएको छ । महानगरमा सत्ता गठबन्धनकै उम्मेदार बनेका जसपाका राजेशमान सिंह मेयरमा निर्वाचित भएका थिए । अघिल्लो चुनावमा पनि आफूहरुले जितेको र मेयर समेत आफ्नै दलको भएकाले १ नम्बर क्षेत्र आफूले पाउनुपर्ने अडान जसपाको छ ।

तर, सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले यो क्षेत्रमा आफ्नो पडक बलियो भएको बताइरहेको छ । मधेसवादीमा आएको टुटफुटका कारण यस पटक पर्सामा मधेसवादी दलको संगठन कमजोर भएको बुझाई कांग्रेसको छ ।

मेयर राजेशमानसमेत कांग्र्रेसको भोटबाट जितेको बुझाई उनीहरूको छ । जसपालाई मेयरमा सघाएकाले सांसदमा नेपाली कांग्रेसले पाउनुपर्ने अडान कांग्रेसको छ । आसन्न चुनावमा जसपाले कांग्रेसलाई सघाउनुपर्ने तर्क उनीहरुको छ । त्यसैले वीरगञ्ज महानगरका क्षेत्र समेटिएको १ र २ नम्बर क्षेत्र र पर्सा ४ मा कांग्रेसको दाबी छ ।

कांग्रेस नेतृत्व पर्साको क्षेत्र नं ३ जसपालाई दिनेमा सहमत देखिएको छ । जसपालाई ३ नम्बर क्षेत्र दिनेमा गठबन्धनभित्र विवाद छैन । २०७४ मा यो क्षेत्रमा संघीय समाजवादीले जितेको थियो । अन्य ३ ओटा क्षेत्रमा कांग्रेसले आफ्ना उम्मेदवार उठाउने अडान छोडेको छैन ।

क्षेत्र नंं २ मा कांग्रेसका अजयकुमार चौरसिया र राजेन्द्रबहादुर अमात्य उम्मेदवारका बलिया अकांक्षी हुन् । तर, नाम सिफारिसकै क्रममा यी दुईबीचको तानातान सतहमा आएको थियो । दुवैका आआफ्ना गुटबाट एकम नाम सिफारिस गराएका थिए ।
उता पर्सा क्षेत्र नं. ४ मा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मेधेस संयोजक रमेश रिजाल उभिएका छन् । कांग्रेसले उनलाई उम्मेदवारको रुपमा उभ्याउने निश्चित छ । अघिल्लो पटक मधेसवादी गठबन्धनकातर्फबाट लक्ष्मणलाल कर्णले जितेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button