ठेक्काको समय सकिन लाग्यो, किन बनेन रजतजयन्ति-मितेरी पुल सडक ?
वीरगञ्जको रजतजयन्ति चोकदेखि मितेरी पुलसम्मको सडकको ठेक्का लागेको ३ महीना पुगिसकेको छ । सो सडकखण्डको मर्मत गर्ने ठेक्का लिएको सामा कन्स्ट्रक्सनले साढे ३ महीनामा सडक तयार पार्ने शर्त स्वीकार गरेको थियो ।
तर, ठेक्काको समय सकिन १५ दिनमात्रै बाँकी रहँदा काम सुरसारै भएको छैन । समाका सञ्चालक जहुर आलमले शुरुमा निर्माणस्थलमा निर्माण सामग्री र उपकरण लगेर राखे पनि अहिले त्यहाँबाट अन्तै पठाइसकेका छन् ।
वीरगञ्जको गण्डकदेखि घण्टाघर माइस्थान र रजतजयन्तिदेखि मितेरीपुल खण्डको सडक मर्मतको ठेक्का आह्वान गरिएकोमा माइस्थानसम्मको सडकमा एउटै ठेकेदारले अनुमानित लागतभन्दा बढी रकम प्रस्ताव गरेकाले ठेक्का नै रद्द भएको थियो । रजतजयन्तिदेखि मितेरीपुल खण्डको ठेक्कामा मिलेमतो भएको भन्दै सर्वोच्चमा मुद्दा परेको थियो ।
घण्टाघर माइस्थान खण्डमा वीरगञ्ज महानगरमा नयाँ नेतृत्व आएपछि उपभोक्ता समितिमार्फत काम अगाडि बढाउन खोजिएकोमा सो निर्माणमा सार्वजनिक खरिद आकर्षित हुने भएपछि अन्योलमा परेको छ । रजतजयन्तिदेखि मितेरी पुलसम्मको काम ठेकेदारले अघि बढाएका छैनन् ।
सर्वोच्चमा परेको मुद्दामा फागुन २२ गते ठेक्कासम्बन्धी काम अघि नबढाउन अन्तरिम आदेश भएको थियो । तर, वीरगञ्ज पथलैया व्यापारिक मार्ग आयोजनाले फागनु २५ मा समासँग करीब ५ करोड रुपैयाँमा सम्झौता गरेको थियो । अदालतको आदेशको जानकारी सम्झौता भइसकेपछि फागुन २६ गतेमात्रै आएको आयोजना प्रमुख मनीष साहले बताउँदै आएका छन् ।
अदालतले पुस ९ गतेको ठेक्का आह्वानसम्बन्धी सूचना मूल्यांकन र सूचनासँग सम्बन्धित काम अघि नबढाउन भनेको छ । मुद्दा सगरमाथा इन्फ्राटेकका सञ्चालक दीपेशमान महर्जनले हालेका थिए ।
अदालतले फागुन २९ गते दुवै पक्षलाई अदालतमा उपस्थित हुन भनेकोमा अहिलेसम्म पेशी चढेको छैन । आयोजना र ठेकेदारले अदालतको आदेशका कारण काम अघि बढाउन नसिकएको बताउँदै आएका छन् ।
अदालतले बोलपत्र आह्वानको सूचनासम्बन्धी काम अघि नबढाउन भने पनि आयोजनाले सम्झौता गरिसकेकाले काम अघि बढाउन बाधा नहुने कानूनका जानकारहरु बताउँछन् । समा कन्स्ट्रक्सन मुद्दाको विपक्षी पनि नभएको र आयोजनाले काम रोक्ने चिठीसमेत नदिएकाले आदेशको बाहानामा सडक सुधारको काम रोक्ने बद्नियत देखिएको ती कानून व्यवसायीको दाबी छ ।