तेलको मुख्य उत्पादक साउदी अरबले बढायो भाउ, नेपालमा कस्तो असर पर्दछ ?
विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरबले एशियाली बजारमा विक्री गर्ने कच्चा तेलको भाउ बढाएको छ । विश्वभर कच्चा तेलको आपूर्ति कसिलो भएको हो कि भन्ने चिन्ता र गर्मीयाममा तेलको माग बढ्ने अपेक्षाबीच साउदी अरबले एशियाली क्रेताका लागि कच्चा तेलको भाउ बढाएको हो ।
जुलाईको लागि एशियाली बजारमा विक्री हुने अरब लाइटको भाउ प्रतिब्यारेल २ डलर १ सेन्टले बढाएर ६ डलर ५० सेन्टमा पुरयाइएको छ । यो मे महीनामा कायम भएको कीर्तिमानी उच्च मूल्यभन्दा थोरै तल हो । अरब लाइटको भाउमा गरिएको यो वृद्धि बजार विश्लेषकहरुको अनुमानभन्दा निकै धेरै हो ।
सो अवधिमा भाउ १ डलरदेखि १ डलर ५ सेन्टसम्म बढ्न सक्ने अनुमान गरिएको थियो । मूल्य वृद्धि विशेषगरी अरब लाइटको भाउमा गरिएको वृद्धि अप्रत्याशित रहेको र आफूहरु अचम्मित बनेको एक एशियाली व्यापारीको भनाइ छ ।
साउदी फेब्रुअरीयता जुनबाहेक हरेक महीनाका लागि एशियाली बजारमा अरब लाइटको भाउ बढाएको थियो । साउदी अरबको मूल कच्चा तेल निर्यात मध्ये ६० प्रतिशत एशियाली बजारमा जान्छ । चीन, जापान, दक्षिण कोरिया र भारत यसका सबैभन्दा ठूला क्रेता हुन् ।
साउदी अरबले पेट्रोलियम निर्यातकर्ता देशहरुको समूह (ओपेक) र ओपेकबाहिरका अन्य ठूलो तेल निर्यातकर्ता देशहरुको समूह ओपेक प्लसले रुसी तेल आपूर्तिमा आएको कमीको भर्पाई गर्न जुलाईमा दैनिक तेल उत्पादन ६ लाख ४८ हजार ब्यारेलले बढाउने सहमति गरेको भएपनि मूल्य बढाएको छ । अगष्टमा पनि ओपेक प्लसले सोही परिमाणमा दैनिक तेल उत्पादन बढाउन सहमति गरेका छन् ।
शुरुमा भने सेप्टेम्बरसम्मको तीन महीनामा दैनिक उत्पादन ४ लाख ३२ हजार ब्यारेलले बढाउने योजना थियो । उत्पादन वृद्धि रुससमेत समूहका देशहरुबीच बाँडफाँट गरिएको छ । अंगोला र नाइजेरिया लगायत देशले आफ्ना लागि तोकिएको लक्ष्य पूरा गर्न नसक्ने र आधिकारिक योजना अनुरुप उत्पादन बढ्न नसक्ने चिन्ता गरिएको छ ।
जुलाईमा अमेरिकालगायत देशहरुमा ड्राइभिङ सिजन शुरु हुन्छ । यो सिजनमा तेलको माग उच्च हुन्छ । विश्वको सबैभन्दा ठूलो तेल आयातकर्ता देश चीनले लामो समयसम्म लकडाउन गरेपछि शाङ्हाईलगायत शहरहरु पुनः खुला गरिरहेको छ । अहिले तेलको माग उच्च रहेको र यति बेला साउदीले आधिकारिक विक्री मूल्य बढाउने प्रशस्त ठाउँ रहेको एशियाका अर्का एक जना व्यापारीले बताएका छन् ।
पछिल्लो समय अमेरिका र यूरोपले रुसमाथि प्रतिबन्ध लगाएपछि रुसले चीन र भारतलाई भारी छूटमा कच्चा तेल बेचिरहेको छ । रुसबाट सस्तो मूल्यमा तेल पाएपछि चीन र भारतले यस अघि कहिले नदेखिएको स्तरमा रुसी तेल किनिरहेका छन् ।
यसका कारण साउदी अरबलाई भारत र चिनियाँ क्रेताबाट हुन सक्ने तेलको माग प्रभावित हुन सक्ने देखिएको छ । साउदीले आइतबार नै यूरोप र मेडिटेरियन क्रेताको लागि पनि आफ्नो आधिकारिक विक्री मूल्य बढाएको छ । तर अमेरिकी क्रेताको लागि भने मूल्य यथावत् राखिएको छ ।