अन्तराष्ट्रिय

आफ्नै पार्टीभित्र विद्रोहको सामना गर्दा पनि ब्रिटिश प्रधानमन्त्रीलाई विश्वासको मत

ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो नेतृत्वविरुद्ध महत्त्वपूर्ण विद्रोह हुँदाहुँदै पनि विश्वासको मतमा टोरी सांसदहरूको बहुमत प्राप्त गरेका छन्।

Patanjali Nepal
SweetMart Nepal

उनसट्ठी प्रतिशत मतले जितेसँगै अब एक वर्षका लागि उनी सत्ताधारी कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने पक्का भएको छ। कुल २११ टोरी सांसदले जोनसनको नेतृत्वप्रति विश्वासको मत दिए भने १ सय ४८ जनाले उनको विपक्षमा मतदान गरेका थिए।

जोनसनले विश्वास मत प्राप्त गरेको कुरालाई “निर्णायक” भनेका छन्। उत्साहित स्वरमा उनले उक्त नतिजा “धेरै राम्रो” र “विश्वस्त” भएको बताए। यो नतिजासँगै उनको प्रधानमन्त्री पद जोगिएको छ।

आलोचकहरूले भने उनी विरुद्धको विद्रोहको मात्राले जोनसनको अधिकार खुम्चिएको बताएका छन्। केहीले उनलाई राजीनामा दिन पनि आह्वान गरेका छन्।

जोनसनले पार्टीभित्र पाएको समर्थनको मत पूर्वप्रधानमन्त्री टरिजा मे सन् २०१८ मा पार्टीका संसदहरूको विश्वासको मत जित्दा प्राप्त गरेको ६३ प्रतिशत मतभन्दा कम हो। त्यसबेला मेले ६ महिनापछि नै ब्रेक्जिट गतिरोधको कारण राजीनामा दिनुपरेको थियो।

लेबर पार्टीका नेता केयर स्टामरले “विभाजित” कन्जरभेटिभ पार्टीले विश्वासको मतमा जोनसनलाई बचाएर “सम्हालिन खोजेको” बताएका छन्। लिबरल डेमोक्र्याट नेता एड डेभीले जोनसन सत्तामा अडिग रहँदा “उनको प्रतिष्ठा ध्वस्त भएको र उनको अख्तियार अब पूर्ण रूपमा बन्द भएको” बताएका छन्।

डाउनिङ स्ट्रीटले उक्त नतिजाले “प्रधानमन्त्रीको जनादेशलाई नवीकरण गर्ने” र सरकारलाई “मतदाताले सरोकार राख्ने मुद्दामा निरन्तर ध्यान केन्द्रित गर्न” अनुमति दिने बताएको छ। टोरी सांसद र वेल्श सेक्रेटरी साइमन हर्टले प्रधानमन्त्रीले “प्रमाणित गर्नुपर्ने धेरै” भएको तर नतिजा “अत्यन्तै निर्णायक” भएको बताए।

जोनसन सन् २०१९ मा प्रधानमन्त्री बनेका थिए। कोरोनाभाइस लकडाउनको समयमा आफ्नो जन्मदिन मनाउन प्रधानमन्त्री कार्यालय रहेको डाउनिङ स्ट्रीटमा पार्टी गरेको भन्ने विवरण सार्वजनिक हुँदा उत्पन्न आक्रोशपछि जोनसनबारे उनको संसदीय दलभित्र मतदान भएको हो।

मे मा भएको स्थानीय निर्वाचनमा कन्जरभेटिभ पार्टीको कमजोर नतिजा पछि जोनसनको आलोचना बढेको थियो। कोरोनाभाइरस महामारीबीच प्रधानमन्त्री कार्यालयमा मात्र नभई अन्य सरकारी विभागमा समेत मनोरञ्जनका लागि जमघट भएको पाइएपछि जोनसनलाई ५० पाउण्ड जरिवाना गरिएको थियो।

ती भोज तथा जमघट हुँदा यूकेमा विभिन्न चरणको लकडाउन जारी थियो। त्यति बेला कोठाभित्र दुईभन्दा बढी व्यक्तिको भेला र खुला स्थानमा हुने कार्यक्रमहरू प्रतिबन्धित थिए।

सन् २०२० को मे महिनामा डाउनिङ स्ट्रीट परिसरमा सामाजिक दूरी कायम राख्दै मदिरा पिउने कार्यक्रम आयोजना गरिएको थियो जहाँ करिब १०० जनालाई ‘आफ्नो लागि आफैँ मदीरा लिएर आउनुस्’ भन्ने आग्रहसहित निमन्त्रणा गरिएको थियो।

प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार जोनसन र उनकी तात्कालीन हुनेवाला श्रीमती क्यारी साइमन्ड्स त्यस कार्यक्रममा उपस्थित ३० जनामध्ये थिए। प्रधानमन्त्रीले आफू त्यहाँ २५ मिनेटका लागि रहेको पुष्टि गरेका थिए। तर त्यो कार्यक्रम कामसँग सम्बन्धित रहेको उनको दाबी रहेको छ। बीबीसी

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button