बलिउड बादशाहको संघर्ष कथा, अब्दुल रहमान कसरी बने शाहरुख ?
शाहरुखको नाम अब्दुल रहमान राखिएको थियो। यो नाम उनलाई उनको हजुर आमाले दिएकी हुन्। तर, उनका पिताले छोरीको नाम लालारुख राखेपछि छोराको नाम शाहरुख राखे। शाहरुखलाई हजुरआमाले दिएको नाम भने कतै रजिस्टर भएन। उनले बाल्यकालको केही समय मामाघरमा हजुर आमासँग बिताएका थिए।
त्यसैले उनलाई यो नाम दिइएको थियो। यसैगरी उनलाई बाल्यकालमा स्पोर्ट्स एकदमै मन पथ्र्यो। उनी आर्मी स्कुलमा भर्ना पनि भएका थिए। तर, उनकी आमाले झन्डै एक महिनापछि शाहरुखलाई फिर्ता बोलाइन। त्यसपछि उनी घरमै रहेर पढ्न थाले। शाहरुख खानका पिता इण्डियन फ्रिडम फाइटर मध्येका एक थिए। उनले थुप्रै काम गरे। तर, कतै टिकेनन्।
उनले एकपछि अर्को काम परिवर्तन गर्दै अगाडि बढे। यसैक्रममा उनले नेशनल स्कुल अफ ड्रामा (एनएसडी) मा क्यान्टिन चलाउथे। बाल्यकालमा शाहरुख सेन्ट कोलम्बस स्कुलमा पढ्थे र उनकी बहिनी मोडर्न स्कुलमा पढ्थिन्।
उनको स्कुल १२ बजेको आसपासमा छुट्थ्यो तर बहिनीको ४ बजे। त्यसैले शाहरुख बाँकी समयमा एनएसडी जान्थे। जहाँ उनका पिताले क्यान्टिन चलाउथे। त्यसैक्रममा उनले रोहिणी हतनगढी, राजेश सुवेक, सुरेखा सिकरी, राज बब्बर, रघुवीर यादव लगायतका दिग्गज कलाकारसँग नजिक हुने अवसर पाए। उमेरका हिसाबले सानो स्कुले बालक भएकाले उनलाई सबैले माया गर्थे।
आफ्नो प्राक्टिसमा राख्थे र प्ले पनि देखाउथे। त्यहिँबाट शाहरुखमा अभिनयको जादु सुरु भयो। ‘मैले बाल्यकाल लगभग उहाहरुसँग बिताए। सायद त्यहीबाट अभिनयले म भित्र स्थान पायो किनकी मैले त्यो समयको हिट प्ले सबै हेरेको थिएँ भने दिग्गज कलाकारसँग निकै नजिक थिएँ’ शाहरुखले भने। उनका पिताले त्यहाँ सन् १९७४ बाट क्यान्टिन चलाउन छाडे।
शाहरुखले बाल्यकालदेखि नै स्ट्रगल गरे। एनएसडीमा हुर्किए पनि उनको कलाकारिताले फिल्मसम्म आउन केही समय लाग्यो। यसबीचमा उनले आफ्नो माता पितालाई गुमाए। सन् १९८१ मा शाहरुखको पिताको देहान्त भयो। त्यसबेला शाहरुख १५ वर्षका थिए। उनको पितालाई क्यान्सर भएको थियो। ‘लगभग ८ महिना उपचाररत थिए र उनलाई ठिक भयो भनेर अस्पतालबाट घर ल्याएका थियौ। घर आइसकेपछि उनले आइसक्रिम मागे र खाए। हामीलाई लाग्यो उनि अब ठिक भए। तर, त्यो रात उनको अन्तिम रात रहेछ’ शाहरुखले भने।
पिताले आइसक्रिम खाएको देखेपछि उनी सुत्न गए। विहानी पख कसैले उनलाई उठाएर पिता अस्पतालमा रहेको जानकारी दियो। उनी अस्पताल पुग्दा पिताले संसार छाडिसकेका थिए। उनले अनुहार पनि हेर्न सकेनन्। खुट्टा देखे र त्यसलाई छोए, जुन चिसो भइसकेको थियो। त्यसको १० वर्षपछि उनकी आमाको पनि मृत्यु भयो।
उनकी आमालाई खुट्टामा समस्या भएपछि अस्पताल लागिएको थियो। त्यसबेला अस्पतालमा डायबिटिज रहेको भनियो। तर, त्यसको डेढ महिनाको अन्तरालमा शाहरुखकी आमाले संसार छाडिन्। आईसीयूमा रहेकी आमाको स्वास्थ्य बिग्रिदै गएपछि शाहरुख अस्पतालको तल आएर भगवानसँग प्राथना गरिरहेका थिए। उनलाई कसैले भनेको थियो, ‘तिमी प्राथना गर, तिम्रो आमालाई शक्ति मिल्नेछ।’ तात्कालीन समयमा आईसीयूमा प्रवेश नपाइने भएकोले शाहरुख अस्पतालकै पार्किङमा प्राथना गरिरहेका थिए।
‘म भगवानसँग आमाको जिन्दगी मागिरहेको थिएँ । किनकी प्राथना गरुन्जेल आमाको स्वस्थ्य बिग्रिदैन भन्ने मलाई लाग्थ्यो। बहिनी बोलाउन आउँदा पनि म प्राथना गरिरहे। अन्त्यमा डाक्टरले तिमी आईसीयूमा आउ भनेपछि आमालाई भेट्न गएँ, उनको त्यो अन्तिम समय थियो’ शाहरुखले भनेका छन् । त्यो उमेरमा उनलाई लाग्थ्यो मान्छे तब संसार छाड्छ जब उ ढुक्क हुन्छ। उसलाई लाग्छ उसको परिवार ठिक छ। अब म नहुँदा पनि यहाँ चल्छ भन्ने लागेपछि मान्छेले संसार छाड्छ। त्यसैले उनले आमालाई भने, ’यदि तपाईंले छाडेर जानु भयो भने म बहिनीहरु ख्याल राख्दिन, स्पोर्ट्स खेल्दिन र पढ्दिन।’ तर, यी सब कुरा गर्दागर्दै उनकी आमाले संसार छाडिन्। ‘सायद, उनलाई विश्वास थियो कि म मेरो परिवाको ख्याल राख्छु र आफ्नो काम गर्न लायक भएको छु। त्यसैले उनले त्यहिँ समयलाई रोजिन र संसार छाडिन् शाहरुखले भने।
शाहरुखलाई पर्दामा चिनाउने श्रेय जान्छ ‘फौजी’ नामक टिभी सिरियललाई। तर , उनले पहिलो काम ब्यारी जोनको प्लेमा गरेका थिए। त्यहाँ ८० केटी र १० केटा चाहिएको थियो। स्पोर्ट्स गरिरहेका शाहरुखलाई चोट लागेपछि उनी साँझको समयमा खाली भए। उनले अडिसन दिए र सेलेक्ट भए। प्ले मा उनले ‘प्रिन्सिपल डान्सर’ को रोल पाए। प्लेमा उनलाई एउटा डायलग दिइएको थियो, ’आई ह्याभ लेटर फर यू एनी।’ त्यसपछि उनले करण कपूरको सिरियल ‘फौजी’ मा काम गर्ने मौका पाए।
‘थियटरको प्लेपछि करण सरको सिरियलमा काम गर्ने अवसर मिल्यो। उनको छोराले गर्ने भनिएको रोल नगरेपछि मलाई अवसर मिलेको हो’ शाहरुखले पुराना दिन सम्झिए। फौजी टिभी सिरियल हिट भएसँगै शाहरुख चिनिन थाले। तर, उनलाई अभिनयको सौख थिएन। उनी एड फिल्म बनाउन चाहन्थे। किनकी त्यो समयमा उनलाई ह्यारी बबेजा र हेमा मालिनीको फोन आएको थियो। तथापी उनी काम गर्न गएका थिएनन्। त्यसो त उनले काम गर्ने चाख नदेखाउनुमा फरक सहर पनि कारक थियो। शाहरुख दिल्लीमा थिए, उनलाई अफर मुम्बईबाट आउथ्यो। यद्दपी आमाको देहान्त भएपछि आफ्नो एक्लोपनलाई भुलाउन उनी काममा सक्रिय भए।
उनी ‘वाग्ले कि दुनिया’ नामक सिरियलमा काम गर्न मुम्बई पुगे। उनी मुम्बई पुग्दा दिल्ली फर्किने पैसा थिएन। सिरियल कम्पनिकै अफिसमा बस्थे। एकदिन अचानक उनलाई भेट्न विवेक वास्वानी आए। उनले जीपी सिपीको फिल्म छ काम गर भने। ‘त्यो बेला मैले म टिभी मै ठिक छु भनेको थिएँ। तर, भोलि पल्ट म बसेकै अफिसमा आएर विवेकजीले मलाई सिपी सरको अफिसमा लगे’ उनले भने।
त्यो दिन उनले ५ फिल्म साइन गरेका थिए। उनले हेमा मालिनीलाई भेटे, राकेश रोशनको ‘किङ अंकल’ , हेमाकै सिफारिसमा ‘दिवाना’ सहित एकै दिनमा ५ फिल्ममा अनुबन्धित भएका थिए। त्यसपछि शाहरुखले फर्किएर हेर्नु परेको थिएन। उनले सफलतासँगै लोभ लाग्दो स्टारडमसमेत बनाए। यद्दपी केही वर्ष यता अभिनेताको रुपमा उनले सफलता पाउन सकेका छैनन्। केही नहुँदा शाहरुखले पाएको सफलतालाई पुनः लयमा ल्याउन उनले मेहनत गरिरहेका छन्।