बाराको टागियामा निर्माण हुने भनिएको अन्तराष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले गरेको फैसलाविरूद्ध बाराको जितपुरसिमरामा प्रदर्शन भएको छ ।
जितपुरसिमरा सार्वजनिक सरोकार समितिको आयोजनामा भएको कार्यक्रम सिमरा चोकबाट सुरू भएर र्यालीसहित बजार परिक्रमा गरी मुख्य चोकमा पुगेर कोणसभामा परिणत भयो ।
कोण सभामा बोल्दै सरोकार समितिका संयोजक मनोज पौडेलले सर्वोच्च अदालतको आदेश विकास विरोधि रहेको बताए । एमालेका नेता समेत रहेका पौडेलले मधेश प्रदेशकै महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना बन्न नदिन जारी भएको आदेश परिचालित रहेको आरोपसमेत लगाए ।
पौडेलले वातावरणको नाममा विकास रोकेर देश समृद्ध हुन नसक्ने जिकिर गरे । टागियाबस्तीलाई उचित व्यवस्थापन गरेर विमानस्थल बनाउनुको कुनै विकल्प समेत नरहेको बताए ।
कार्यक्रममा देवनारायण चौधरी, दिनेश्वर ठाकुरलगायत नेता तथा स्थानीयको सहभागिता थियो । कार्यक्रमको सहजीकरण रबिन्द्र खकुरेलले गरेका थिए ।