रुपन्देहीको रोहिणी खोलामा बस दुर्घटना : ९ जनाको ज्यान गयो, २३ जना घाइते
रुपन्देहीको रोहिणी खोलामा रात्रिबस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । अरु २३ जना यात्रु घाइते भएका छन् ।
जनकपुरबाट भैरहवाका लागि छुटेको बस भैरहवा–परासी हुलाकी राजमार्ग खण्ड रोहिणी पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
लु २ ख ३८४१ नम्बरको बस बिहान दुर्घटना भएको छ । घाइतेहरुकाे भीम अस्पताल र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।
चालक निदाउँदा भैरहवा नजिकै आइतवार बिहान यात्रुवाहक बस दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।
प्रहरीका अनुसार दुर्घटनामा कम्तीमा नौ जनाको ज्यान गएको छ भने १६ जना गम्भीर घाइते छन्। जनकपुरबाट भैरहवाका लागि छुटेको उक्त बसमा ३३ जना यात्रीहरू सवार थिए।
“बाटो राम्रो थियो यस कारणले बसको गति पनि तीव्र भएको हुनु पर्छ,” लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी योगेन्द्र सिंह थापाले भने। “बिहानपख चालक निद्रामा झुल्दा बसले नियन्त्रण गुमाएको हुनु पर्छ।”