आर्थिक सर्वेक्षण सार्वजनिक, कस्तो छ अर्थव्यवस्था ?
प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण पेस भएको छ । प्रतिनिधि सभाको शनिवारको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण २०७८/ ७९ पेस गरेका छन् । आर्थिक सर्वेक्षणमा चालू आवको चैत मसान्तसम्मको आर्थिक विवरण समावेश गरिएको छ ।
उक्त विवरणमा नेपालको अर्थतन्त्रको आकार चालू आर्थिक वर्षमा ५ दशमलव ८४ प्रतिशतले बढ्ने उल्लेख छ । प्रतिनिधि सभामा प्रस्तुत आर्थिक सर्वेक्षण २०७८/ ७९ अनुसार यस वर्ष कोभिडको महामारी कम भएको र उर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेका कारण अर्थतन्त्रको आकार ५ दशमलव ८४ प्रतिशतले बढेको हो ।
आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख भएअनुसार मुलुकको कुल व्यापार घाटा ३४ दशमलव ५ प्रतिशत नाघेको छ । उक्त प्रतिवेदनमा चालू आर्थिक वर्षको ८ महीनामा सरकारको व्यापार घाटा ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको उल्लेख छ ।
चालू आवको उक्त अवधिमा कुल व्यापार घाटा ८ खर्ब ६३ अर्ब २१ करोड रुपैयाँ थियो । वस्तु आयात ३८ दशमलव ६ प्रतिशतले बढेर १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ पुग्दा निर्यात पनि १ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ मात्रै रहेको छ।
गत आर्थिक वर्षमा अर्थतन्त्रको विस्तार ४ दशमलव २५ प्रतिशत रहेको थियो । यो तथ्यांक केन्द्रीय तथ्यांक विभागले यसअघि सार्वजनिक गरेको प्रक्षेपणमा आधारित रहेको छ ।
आर्थिक वर्ष २०७८/ ०७९ को कुल ग्रार्हस्थ्य उत्पादन (उपभोक्ताको मूल्यमा) ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँको भएको छ । जसमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ३६ दशमलव ९ प्रतिशत र कर्णाली प्रदेशको अंश सबैभन्दा कम अर्थात् ४ दशमलव १ प्रतिशत रहने अनुमान गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
यसैगरी उक्त प्रतिवेदन अनुसार नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ । फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको छ, जसलाई नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जनामा भाग गर्दा प्रतिव्यक्ति ऋणको भार ६३ हजार ३१० रुपैयाँ पर्न जान्छ ।
त्यसैगरी उक्त अवधिमा २३ हजार ३६२ ओटा करदाता मूल्य अभिवृद्धि कर (भ्याट) मा थपिएका छन् । यो सँगै नेपालमा मूल्य अभिवृद्धि कर तिर्ने करदाताको संख्या ३ लाख १४ हजार ७६ पुगेको छ ।फागुनसम्म अन्त : शुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख १६ हजार ५६० पुगेको छ । प्रतिवेदन अनुसार करको दायरा र क्रमशः विस्तार हँदै गएको छ ।
यसैगरी नेपालीको प्रतिव्यक्ति आय १ हजार ३८१ डलर पुगेको छ । आर्थिक सर्वेक्षण अनुसार चालू आवको उक्त अवधिमा नेपालीको आय एक वर्षमा १० दशमलव ८ प्रतिशतले बढेको छ । गत आवमा भने प्रतिव्यक्ति आय १ हजार २४६ डलर रहेको थियो ।