अर्थविशेष

अस्ट्रेलियाको सत्तामा एक दशकपछि लेबर पार्टी, नेपालीलाई के फरक पार्छ ?

अस्ट्रेलियामा लेबर पार्टी सत्तामा आएसँगै उसले रोजगारीका बिषयमा गरेका ठूला वाचाको लाभ त्यहाँ रहेका नेपालीहरूले समेत उठाउन सक्नेमा कतिपय नेपालीहरूले विश्वास व्यक्त गरेका छन्।

Patanjali Nepal
SweetMart Nepal

चुनावी मतगणना पूरै नसकिए तापनि झण्डै एक दशकमा त्यहाँ बनेको लेबर पार्टीको सरकारमा उक्त दलका नेता एन्थनी अल्बनेजी प्रधानमन्त्री बनिसकेका छन्। आप्रवसनका मामिलामा भने उक्त दलले स्पष्टसँग ठूला प्रतिबद्धताहरू अघि सारेको नदेखिएको बताइन्छ।

तर चुनावी प्रचारका क्रममा देखिएका कतिपय गतिविधिले आप्रवसनका क्षेत्रमा आफूहरूमैत्री नीति आउनसक्ने भन्दै नेपालीहरू आशावादी रहेको बताइन्छ।

धेरै नेपाली विद्यार्थीहरूको रोजाईमा पर्ने गन्तव्य मानिने अस्ट्रेलियामा एक अर्ब डलरभन्दा बढिको एउटा शैक्षिक योजना अघि सारिएको छ।जसमा विश्वविद्यालय र प्राविधिक एवं सीपमूलक शैक्षिक संस्थाहरूमा लाखौँका सङ्ख्यामा निस्शुल्क पढ्ने र त्यहाँ रोजगारीका अवसरहरू खोलिने कुरा छन्।

त्यसैगरी कोभिडले असर पारेका क्षेत्रलाई तङ्ग्र्याउन सरकारी आडभरोसामा रोजगारी थप्ने कुराहरू यसपटक लेबरले चुनावी मुद्दा बनाएका थिए।

तर लिबरल पार्टीहरूको तुलनामा लेबरहरूले स्थानीय मानिसहरूलाई प्राथमिकतामा राख्ने हुँदा त्यो कसरी अघि बढ्ला भनेर जान्न केही समय पर्खनुपर्ने बताइएको छ ।

त्यसैगरी एजेड केअर अर्थात् जेष्ठ नागरीकहरूको स्याहारसुसारको काम गर्नेहरूको सङ्ख्या बढाउने नीति लेबरले लिएको छ। चुनावअघि जेष्ठ नागरीकहरूले पाउने सेवाको गुणस्तर र सुरक्षाको बिषयलाई लिएर एक उच्चस्तरिय आयोग समेत गठन गरिएको थियो।

आप्रवसनका मामिलामा भने धेरै क्रान्तिकारी वाचा नगरेको लेबरको नीतिलाई घटनाक्रमहरुबाट हेर्नुपर्ने बताइन्छ। अस्ट्रेलियामा सामान्यतया तीन प्रकारका नेपाली विद्यार्थीहरू रहेको त्यहाँका केही बासिन्दाले जानकारी दिएका छन्।

जसमध्ये एकथरी नेपालमा प्लस टु सकेकाहरू प्राविधिक तथा सीपमूलक शिक्षा लिने कलेजमा पुग्छन्। आफ्नै कमाइका भरमा दैनिक जीवनयापन धान्नुपर्ने र कलेजको शुल्क तिर्नुपर्ने हुँदा त्यहाँ पुगिसकेको सुरुवाती वर्षपछि आर्थिक रूपले उनीहरूले सबैभन्दा कठिन अवस्था सामना गर्नुपर्ने बताइन्छ।

उनीहरूमध्ये कतिपयले धेरैजसो कठोर शारीरिक श्रम पर्ने काम गर्ने गर्छन्। अर्काथरी विद्यार्थीहरू स्नातक वा स्नातकोत्तर सकेर जानेहरू छन्।

तिनमा विवाह गरेर श्रीमान वा श्रीमति मध्ये एकजनाले काम गर्ने र अर्कोले पढ्ने गरी आउनेको बाहुल्य धेरै रहने बताइन्छ। पूर्ण छात्रवृत्तिमा पढ्न जानेहरू समेत छन्। त्यहाँ स्नातक, स्नातकोत्तर वा पीएचडी सकेपछि शैक्षिक उपलब्धीको तह अनुसार २ देखि ४ वर्ष पूर्ण रूपमा काम गर्न पाउने प्रावधान छ।

त्यसैले अस्ट्रेलियामा रहनकै लागि पालैपालो श्रीमान श्रीमतीले काम गर्नुपर्ने अवस्था हुने बताइन्छ। पछिल्ला दुई वर्षमा अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउन नपाउँदा अर्थतन्त्रमा प्रतिकूल असर परेको भन्ने बिषयमा चुनावअघि नै दुवै प्रमुख राजनीतिक दलहरू एकैठाउँमा देखिन्थे।

लेबर पार्टीको प्राथमिकता ठूला परिवर्तन भन्दा पनि ससाना क्षेत्रमा काम गर्नेहरूलाई समेट्ने रहेको छ। गरिखाने वर्गको जीवनयापन गर्न गाह्रो भयो भन्दै कयौँ क्षेत्रमा ४ देखि ५ प्रतिशत तलब बढाइने भनिएको छ । यतिखेर लामो समय अस्ट्रेलियामा बस्न चाहने विदेशी नागरिकहरूलाई सघाउने कुरा उठाइएका छन्।

विदेशी विद्यार्थीका रूपमा ल्याएर स्थायी बसोबास अनुमतिपत्र दिने भन्दा पनि दक्ष जनशक्तिहरूलाई सोझै स्थायी आवासीय अनुमति दिएर ल्याइनेको सङ्ख्या बढाउने कुरा लेबरहरूको चुनावी अभियानमा देखिन्छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button