वीरगञ्जमा बन्ने भयो नयाँ औद्योगिक क्षेत्र, बारा पर्साका उद्योगी उत्साहित

वीरगञ्जमा नयाँ औद्योगिक क्षेत्र स्थापनाका लागि वीरगञ्ज उद्योग वाणिज्य संघको पहल सार्थक हुने देखिएको छ । सरकारले वीरगञ्जमा नयाँ औद्योगिक क्षेत्र स्थापनाको सम्भाव्यता अध्ययनको प्रक्रिया अघि बढाएको संघका उपाध्यक्ष एवम् उद्योग समितिका संयोजक हरि गौतमले जानकारी दिए ।



उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले वीरगञ्जमा औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने भएको हो । यो निकायले संघलाई पत्र लेखेर अध्ययनका लागि स्थानीय रुपमा सहजीकरण गर्न र अध्ययन कार्यदलमा संघको प्रतिनिधि पठाउन आग्रह गरेको छ ।



बारा–पर्सा औद्योगिक कोरिडोरमा नयाँ उद्योगका लागि जग्गाको प्राप्ति कठिन बन्दै गएको छ । यस्तो अवस्थामा वीरगञ्ज महानगरपालिका वडा नंं ३१ मा औद्योगिक क्षेत्र स्थापनाका लागि अध्ययन कार्यदल बनाउन लागिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका निमित्त महाप्रबन्धक सञ्जयलाल मानन्धरले बताए ।



बारा–पर्सा कोरिडोरमा जग्गाको अकाशिँदो मूल्य, उद्योग र स्थानीयबीच बढ्दो द्वन्द्व, ढल तथा पानी निकासमा अवरोधजस्ता समस्याले नयाँ औद्योगिक क्षेत्रको माग हुँदै आएको संघले बताएको छ । यो क्षेत्रका उद्योगी व्यवसायीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई औद्योगिक क्षेत्रको व्यवस्था मिलाइदिन माग गर्दै आएका थिए ।
संघले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई औद्योगिक क्षेत्र स्थापनाको माग राखेको थियो । वीरगञ्ज महानगरको वडा नं ३१ स्थित गुठी संस्थानको करीब ६५० बिघा जग्गामा ढल निकासी तथा फोहोर पानी प्रशोधन, बाटोघाटो, औद्योगिक सुरक्षा बल, विद्युत् आपूर्तिको व्यवस्थासहितको औद्योगिक क्षेत्र स्थापनाको माग निजीक्षेत्रले राखेको थियो ।
मन्त्रालयले गत वैशाख १५ गते औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन अघि बढाउन निर्देशन दिएको थियो । उद्यमीहरूले अर्थ मन्त्रालयलाई समेत सहजीकरणका लागि आग्रह गरेका थिए ।
वीरगञ्ज महानगरको नवौं नगर परिषद्ले सो जग्गा संस्थानसँग भाडामा लिएर संघको समन्वयमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो । महानगरले यसबारे मन्त्रालयलाई पत्राचार गरिसकेको छ । साना ठूला गरी करीब २ हजार उद्योग सञ्चालनमा रहेको बारा–पर्सा औद्योगिक कोरिडोरमा नयाँ उद्योगका लागि जग्गा पाउन कठिन बनेपछि नयाँ औद्योगिक क्षेत्रको माग उठ्न थालको हो ।