No Image Headlineदेशमुख्य खबर

वीरगञ्जमा निस्कियो राजेशमानको विजय र्‍याली, बिहीबारदेखि कार्यभार सम्हाल्ने

Thrill Factory
Rungta Group

वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् । मेयरमा विजयी भएपछि विजय र्‍याली निकालिएको छ ।

मेयरमा विजयी भएको औपचारिक घोषणालगत्तै सिंहले वीरगञ्जमा मधेस आन्दोलनका क्रममा शाहदात प्राप्त शहिदहरुको शालिकमा माल्यार्पण गरेका छन् । विजय जुलुशले नगर परिक्रमा गरेको थियो । नवनिर्वाचित मेयर सिंहले बिहीबारदेखि महानगरको कार्यभार सम्हाल्ने छन् ।

उनी नेकपा (एमाले) का उम्मेदवार विजय कुमार सरावगीभन्दा २२ हजार ५५५ मत बढी ल्याएर मेयरमा निर्वाचित भएका हुन् । मेयरमा विजयी भएका राजेशमानले ४६ हजार २१५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी विजय सरावगीले २३ हजार ६७१ मत मात्र प्राप्त गरेका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् । उपप्रमुखमा आलम २५ हजार ५१८ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका पुरुषोत्तमलाल झाले ६ हजार ७१९ मत ल्याएका छन् ।

यसपटक मेयर पदका दुवै जना दल बदलेर चुनावी मैदानमा उत्रिएका थिए । राजेशमान लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार बनेका हुन् भने विजय सरावगी जसपा त्यागेर नेकपा (एमाले) बाट उम्मेदवार बनेका थिए ।

राजेशमान सत्तासीन ५ दलीय गठबन्धनका उम्मेदवार थिए भने सरावगीलाई लोपसा र राप्रपा नेपालको समर्थन थियो । कुल ३२ ओटा वडा रहेको वीरगञ्जमा जम्मा ९३ हजार ७८२ मत खसेको थियो ।

मेयर सिंहले वीरगञ्जको कायापलट गर्ने सपना पहिलो चरणमा सार्थक भएको आभाष भएको बताएका छन् । आफ्नो फेसबुक पेजमा सिंहले लेखेका छन्, यो मेरो एक्लैको जीत होइन, यो सम्पूर्ण वीरगञ्जबासीको जीत हो ।

के लेखे राजेशमानले ?

वीरगञ्जको कायापलट गर्ने सपना पहिलो चरणमा सार्थक भएको आभाष गरेको छु । सपनालाई सार्थक बनाउने श्रेय म सम्पूर्ण वीरगञ्ज महानगरकावासी, पाँचै दलका नेता, कार्यकर्तासँगै मेरो परिवारका सदस्य, शुभेच्छुक र मित्रगणहरुलाई दिन चाहन्छु । यो मेरो एक्लैको जीत होइन, यो सम्पूर्ण वीरगञ्जबासीको जीत हो ।

अब वीरगञ्जको मुहार फेर्ने जिम्मेवारी तपाई हाम्रै काँधमा आइसकेको छ । म लगायत गठबन्धनबाट उपप्रमुखका उम्मेदवार श्री इम्तियाज आलम ज्युलाई अमूल्य मत दिएर विजयी बनाउनुभयो । अब हामीसँगै काँधमा काँध मिलाएर वीरगञ्ज बनाउने छौँ । वीरगञ्जमा रहेका असंख्य सम्भावनाहरुलाई सम्भव बनाउन हामीलाई तपाईहरुको निरन्तर सल्लाह, सुझाव, शुभेच्छा एवम् आशिर्वादको अपेक्षा रहने छ ।

यसर्थ अब वीरगञ्ज कायापलट गर्ने महाअभियानमा हातेमालो गर्न र वीरगञ्जका सम्भावनालाई सम्भव बनाउन पनि तपाईहरुको साथ र सहयोग चाहिन्छ । पहिलो खुट्किलो चढेपनि अँझै धेरै खुट्किलाहरु चढ्न बाँकी नै छन् ।

हरेक पाइला पाइलामा तपाईहरुको अमूल्य साथ र समर्थनको अपेक्षाका साथ अमूल्य मत दिएर विजयी बनाउने सम्पूर्ण मतदाताज्युप्रति हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु ।

साथै वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडामा निर्वाचित हुनुभएका वडाअध्यक्षज्यू र वडा सदस्यज्यूहरुलाई पनि हार्दिक बधाई ज्ञापन गर्दै अब विकास र परिवर्तनका लागि ऐक्यबद्ध भएर लाग्ने प्रतिबद्धता पनि गर्दछु । साथै, वीरगञ्जको विकासलाई आफ्नो प्रमुख एजेण्डा बनाएर मसँग प्रतिष्पर्धामा उत्रनु भएका सम्पूर्ण उम्मेदवारहरुसँग हातेमालो गरेर अगाडि बढ्ने बाचा पनि गर्दछु ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button