No Image Headlineदेशमुख्य खबर

स्थानीय तह: जनप्रतिनिधिको सपथमा ढिलाइले कस्तो समस्या आउँछ ?

Thrill Factory
Rungta Group

विसं २०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल बिहीवार जेठ ५ गते सकिँदैछ।

मतगणनाको गति हेर्दा सबै चुनावी नतिजा बिहीवारसम्म आइसक्ने र शुक्रवार सबै जनप्रतिनिधिले शपथ लिइसक्ने अवस्था देखिँदैन।

शपथ नलिएसम्म नवनिर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाल्न पाउँदैनन्। चुनावको मिति तोकिनुअघि निर्वाचन आयोगले जेठ ६ गते नयाँ जनप्रतिनिधिले जिम्मेवारी सम्हाल्न नपाए के गर्ने भन्नेबारे संविधानले समेत परिकल्पना नगरेको बताउने गरेको थियो।

नवनिर्वाचित जनप्रतिनिधिहरूले निर्धारित समयभित्र शपथ लिन नसके त्यसले विभिन्न समस्या निम्त्याउन सक्ने विज्ञहरूले औँल्याएका छन्।

नयाँ जनप्रतिनिधिले शपथ नलिएसम्म कार्यभार सम्हाल्न सक्दैनन्। त्यसले गर्दा कर्मचारीले गर्नसक्ने काम मात्र हुनसक्ने भयो, बाँकी काम अवरुद्ध हुने भयो, स्थानीय सरकारसम्बन्धी जानकार बालानन्द पौडेलले भने।

नयाँ जनप्रतिनिधिहरूले शपथ ग्रहण नगरेसम्म शून्यताको स्थिति रहने काठमाडौं विश्वविद्यालयस्थित कानुनका प्राध्यापक विपिन अधिकारी बताउँछन्। अनि शून्यताको अवधि जति लम्बिन्छ, उति नै जटिलता थपिँदै जान्छ, उनले भने।

स्थानीय चुनाव सम्पन्न भइसकेपछि त्यसको निरन्तरतालाई रोक्ने कुनै किसिमको प्रावधान संविधानमा नभएको प्राध्यापक अधिकारी बताउँछन्।

त्यो भनेको बगिरहने खोला जस्तै हो। सलल बग्छ, एउटा जान्छ, अर्को आउँछ। उसका कामकारबाहीमा कुनै बाधाअवरोध हुँदैन भन्ने हो, उनले थपे।

जनप्रतिनिधिले शपथ लिई कार्यभार नसम्हाल्दासम्म कतिपय प्रशासनिक काम कर्मचारीले गर्न सक्ने भए पनि राजनीतिक स्तरमा गर्नुपर्ने काम ठप्प हुने विज्ञहरू बताउँछन्।

जेठ ६ गतेपछि कस्तो अवस्था हुने भयो भने अघिल्लाले पनि छुन पाउँदैनन् र नयाँ आएकाले पनि केही छुन पाएनन्, प्राध्यापक अधिकारीले भने।

भविष्यमा यस्तो अवस्था दोहोरिन नदिन आउने प्रादेशिक तथा सङ्घीय निर्वाचनमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ।

नियमित प्रशासनिक कामहरू कर्मचारीले गर्नसक्ने भए पनि कतिपय कामका लागि निर्वाचित तहलाई नै कुर्नुपर्ने कुरा आयोगका अधिकारीहरू पनि स्वीकार्छन्।

बजेटका काम, एजेन्डाहरू प्रस्तुत गर्नेजस्ता कतिपय काम छन् जसका लागि इलेक्टेड बडीलाई नै कुर्नुपर्ने हुन्छ, आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले भने।

यद्यपि बिहीवारसम्म ९० प्रतिशत मतगणना सकिसक्ने आफूहरूको अनुमान रहेको उनले बताए।

अहिलेकै गतिमा मतगणना कार्य जारी रहेको भने बिहीवारसम्म ९० प्रतिशत गणना सकिन्छ भन्ने हाम्रो अनुमान हो। त्यो भएपछि उहाँहरूलाई कानुनअनुसार शपथमा समस्या नहोला, अर्यालले भने।

आफ्नो पालिकाको निर्वाचन परिणाम आएको सात दिनभित्र अध्यक्ष तथा प्रमुखले कार्यभार सम्हाल्नुअघि सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिनुपर्ने कानुनी व्यवस्था छ।

उपाध्यक्ष, उपप्रमुख, वडाध्यक्ष र सभाका सदस्यले अध्यक्ष वा प्रमुखले शपथ लिएको सात दिनभित्र सम्बन्धित अध्यक्ष वा प्रमुखसमक्ष शपथ लिनुपर्ने हुन्छ। बीबीसी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button