श्रीलङ्का अर्थतन्त्र: ‘अर्थतन्त्र राम्रो हुनुअघि अझै नराम्रो हुनेछ’

श्रीलङ्काका नयाँ प्रधानमन्त्री रनिल विक्रमसिङ्गले देशमा अशान्ति र दुख निम्त्याएको आर्थिक सङ्कट “सुध्रिनुअघि थप खराब हुने” बताएका छन्।
श्रीलङ्कामा इन्धन र चरम खाद्यान्न अभावले गर्दा केही श्रीलङ्कालीहरूको दुई छाक खानामा समेत असर गरेको छ। सङ्कटप्रति सरकारको व्यवस्थापनलाई लिएर देखिएको आक्रोशले देशव्यापी हिंसात्मक प्रदर्शनहरू निम्त्याए।


प्रदर्शन शान्त पार्न रनिल विक्रमसिङ्गलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो। विपक्षी सांसदको प्रधानमन्त्रीका रूपमा यो छैटौँ कार्यकाल हो।
नयाँ प्रधानमन्त्रीले श्रीलङ्काको अर्थतन्त्र “छिन्नभिन्न” भएको भनी व्याख्या गरे, तर उनले श्रीलङ्कालीलाई आफ्नो सन्देश “संयम रहन र आफूले अवस्थालाई विगतमा फर्काउने” रहेको बताए।
विक्रमसिङ्गलाई राष्ट्रपति गोटाबय राजपक्षले बिहीवार शपथ गराएका थिए। तर उनको नियुक्तिलाई संशयका रूपमा हेरिएको छ किनभने उनी राजनीतिक रूपमा प्रभुत्व रहेका राजपक्ष परिवारसँग निकै निकट भएको रूपमा हेरिन्छ।
अन्तर्वार्तामा, विक्रमसिङ्गले राष्ट्रपति राजपक्षको राजीनामा माग गरिरहेका प्रदर्शनकारीको भावनासँग आफू सहमत भएको बताएका छन्। तर त्यो नहुने पनि उनले बताए। उनले भने, “आरोपले काम गर्दैन, मानिसहरूको पालनपोषणका लागि म यहाँ छु।”
तर उनले “आफूले राजपक्ष सरकारका सबै नीतिहरू परिवर्तन गर्ने” बताए। उनले सहायताका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान पनि गरे।
“हामीलाई तपाईँहरूको सहायता एक वर्षका लागि चाहिएको छ, हामीले तपाईँहरूबाट जे पाउँछौँ त्यो हामी फिर्ता गर्छौँ। यसका लागि हामीलाई मद्दत गर्नुहोस्। हामी एसियाको लामो समयदेखिको र पुरानो लोकतन्त्र हौँ,” उनले भने।