No Image Headlineअर्थ

स्थानीय चुनाव वीरगञ्जबाट आयात ठप्प, औद्योगिक क्षेत्रमा पनि देखियो प्रभाव

Thrill Factory
Rungta Group

वीरगञ्ज भन्सार कार्यालयले सीमा नाकाबाट शुक्रवार आयातित मालवस्तुसमेत भित्र्याएको छैन ।

स्थानीय निर्वाचनको निष्पक्षता र सुरक्षालाई ध्यानमा राखेर मंगलवार मध्यरातदेखि सीमा नाका बन्द भए पनि बिहीवारसम्म आयातित वस्तु भन्सार हातामा ल्याउने कार्य जारी थियो ।

इन्धन र अत्यावश्यकीय मालसामानको भन्सार जाँचपास पनि भइरहेको भन्सारले बताएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार सीमा नाकाबाट हुने सवारी र मानिसको आवागमन बन्द भए पनि मालसामानको आयात भने रोकिएको थिएन ।

भन्सारले इन्धन र अत्यावश्यकीय मालसामानको जाँचपास जारी राखेको छ । ‘नाका बन्दका कारण अत्यावश्यक वस्तुको आपूर्ति असहज नहोस् भनेर भन्सारमा मालसामान भित्र्याउने र जाँचपासको काम जारी राखिएको हो,’ पौडेलले भने । बुधवार अत्यावश्यक वस्तुका केही ट्रक जाँचपास गरेर पठाइएको भन्सारले बताएको छ । भारत जाने खाली ट्रकहरू पनि छोडिएको भन्सारले जानकारी दिएको छ ।

भारतबाट आएका ढुवानीका साधन भारतीय क्षेत्रमा जाम लाग्ने भएपछि त्यस्ता मालवाहक साधनलाई आउन दिइएको पौडेलले बताए । एकीकृत जाँच चौकी ९आईसीपी० बाट मालसामान भित्र्याइएको भन्सारले बताएको छ । आईसीपीबाट मानिसको आवागमन हुँदैन । मितेरीपुल हुँदै वीरगञ्ज प्रवेश गर्ने नाका भने बन्द राखिएको छ ।

शुक्रवार भने भारतबाट मालसामान भित्र्याउने काम पनि बन्द रहने पौडेलले जानकारी दिए । मतदानको दिनमा भने वीरगञ्जलगायत सबै भन्सार कार्यालयले मालसामान भन्सार हातामा नभित्र्याउने पौडेलले जानकारी दिए । आयात–निर्यात र आवागमन परिमाणका आधारमा वीरगञ्ज मुख्य नाका हो ।

यो नाकाबाट दैनिक २ हजार मालवाहक, ४०० हाराहारी यात्रुवाहक सवारीसाधन र २ हजार यात्रुको ओहोरदोहोर हुन्छ ।

औद्योगिक क्षेत्र पनि प्रभावित
चुनावमा भोट हाल्न कामदार, कर्मचारी आआफ्नो घरतर्फ गएपछि बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगको उत्पादन पनि प्रभावित भएको छ । बुधवारदेखि नै उद्योगको लोडिङ हुन नसकेको उद्योगी राजेश क्यालले बताए । ढुवानीमा काम गर्ने चालक र मजदूर नभएपछि मालसामान पठाउन नसकिएको क्यालको भनाइ छ। आर्थिक अभियान 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button